
नेपालका लागि लिपमोटर गाडीको एकमात्र आधिकारिक आयातकर्ता साङ्ग्रिला मोटर्स प्रालिले बहुप्रतिक्षित लिपमोटर बी१० नेपाल भित्र्याउँदै छ । त्यसका लागि चीनबाट प्रस्थान गरिसकेको जनाइएको छ ।
लिपमोटर बी१० पहिलोपटक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन नाइमाद्वारा आयोजित आगामी नाइमा अटो शोमा प्रदर्शन गरिनेछ । जुन आगामी साउन २१-२५ गते (अगस्ट ६-१०) सम्म काठमाडौंको भृकुटी मण्डपमा आयोजना हुँदैछ । यो साङ्ग्रिला मोटर्सको नेपालमा उन्नत र दिगो विद्युतीय सवारी समाधानहरू ल्याउने यात्रामा महत्त्वपूर्ण उपलब्धि हो ।
गोल्छा अर्गनाइजेसन अन्तर्गत रहेको साङ्ग्रिला मोटर्स प्रालि सन् २०१७ देखि प्यूजो र २०२१ देखि सिट्रोन र २०२४ देखि लिपमोटर गाडीहरूको नेपालका लागि एकमात्र आधिकारिक आयातकर्ता रहँदै आएको छ। कम्पनीले आफ्ना ग्राहकहरूको बदलिँदो आवश्यकतालाई ध्यानमा राख्दै नवीन, स्टाइलिस र वातावरणमैत्री सवारी साधनहरू उपलब्ध गराउने आफ्नो दृष्टिलाई निरन्तर अघि बढाइरहेको छ।
यस अवसरमा साङ्ग्रिला मोटर्स प्रालिका प्रबन्ध निर्देशक जय गोल्छाले भने, 'हामी लिपमोटर बी१० नेपालमा आउँदैछ भनेर घोषणा गर्न पाउँदा उत्साहित छौं। यो लन्चले नेपाली ग्राहकहरूलाई नवीनतम विद्युतीय मोबिलिटी प्रविधि उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाउनेछ। हामी नाइमा अटो शोमा बी१० को उद्घाटन गर्न उत्सुक छौं र यो गाडीले नेपाली बजारमा ईभी प्रतिको अपेक्षालाई पुनः परिभाषित गर्नेमा विश्वस्त छौं ।'