
रुपन्देही क्षेत्र नम्बर– ३ मा आगामी कात्तिक १७ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनमा मधेशी मोर्चाका तर्फबाट नागरिक उन्मुक्ति पार्टी (नाउपा)का उम्मेदवार साझा हुने निर्णय भइसकेको छ ।
तर, अहिलेसम्म नाउपाले उम्मेदवार टुंगो लगाउन सकेको छैन । नाउपाबाट उम्मेदवार बन्न ६ जना आकांक्षी छन् । उपचुनावका लागि धनिराम चौधरी, डा. सरोज सिंह चौधरी, नन्दा थापा चौधरी, विजयसिंह चौधरी र तुलसी चौधरी उम्मेदवारका प्रमुख दाबेदार हुन् । स्वयं रेशम चौधरीले पनि आफ्नै लागि विचार गरिरहेको भएको नेताहरू बताउँछन् । यसअघि (२०७९) मा तुलसी चौधरी उम्मेदवार थिए ।
जिल्ला अध्यक्ष समेत रहेका तुलसीले केही दिनभित्र उम्मेदवारको टुंगो लाग्ने बताए ।
‘भोलि हाम्रो छलफल छ, त्यसपछि को बन्ने भन्ने अन्तिम टुंगोतिर हामी पुग्छौं,’ तुलसीले भने, ‘यसअघि मधेशी मोर्चाका दलहरूको समानुपातिक मत हेर्दा हामी धेरै अघि छौं । हामी जित्ने गरी अघि बढेका छौं ।’
तुलसीले भने, ‘अहिलेसम्म सिके राउत नेतृत्वको जनमत पार्टी मोर्चामा सामेल भएको छैन । छलफल चलिरहेको छ । अन्तिमसम्म जनमत पनि आउला भन्ने आशामा हामी छौं ।’
आकांक्षीहरूमध्ये अधिकांश रुपन्देहीका उद्योगी–व्यवासायी छन् । धनिराम गएको निर्वाचमा क्षेत्र नम्बर १ बाट छविलाल विश्वकर्मासँग पराजित उम्मेदवार हुन् । डा. सरोज डेन्टल व्यवसायी हुन् ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले जिल्लाबाट उम्मेदवारको नाम सिफारिस भएर केन्द्रमा आइनसकेको बताइन् ।
‘क्षेत्रबाट जिल्ला र जिल्लाबाट प्रदेश हुँदै केन्द्रमा आउने हो,’ अध्यक्ष श्रेष्ठले लोकान्तरसँग भनिन्, ‘रेशमजीलाई योबारे अझै बढी जानकारी होला । केही दिनमा उम्मेदवार टुंगो लाग्छ ।’
उपनिर्वाचन गराउने भनी मिति तय गरेसँगै रूपन्देहीमा चुनावी सरगर्मी शुरू भएको छ ।
वि.सं. २०७९ सालको निर्वाचनमा रूपन्देही– ३ बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा वरिष्ठ नेता दीपक बोहराको निधन भएसँगै यो क्षेत्र खाली थियो ।
‘पोस्ट कोभिड’ समस्याले पीडित बोहराको १९ चैत २०८१ मा उपचारका क्रममा निधन भएपछि निर्वाचन आयोगले उपचुनाव गराउन लागेको हो ।
उपचुनाव निश्चित भएसँगै राजनीतिक पार्टीबाट उम्मेदवारका आकांक्षीले टिकट हात पार्न आफ्नो सक्रियतालाई तीव्रता दिएका छन् ।
एमालेबाट खिमलाल भट्टराई र शशी पौडेल, कांग्रेसबाट यसअघि पराजित बालकृष्ण खाँण, प्रमोद यादव, राप्रपाबाट दीपक बोहोराका छोराहरूसहित ६ जनाको नाम जिल्लाबाट सिफारिस भएको छ ।
वि.सं.२०७९ सालको चुनावमा रुपन्देही– ३ मा कांग्रेसले समानुपातिकमा २० हजार २७८ मत ल्याएको थियो । एमालेले १६ हजार ९८६ मत पाउँदा रास्वपाको १४ हजार १५४ मत छ । राप्रपाले भने जम्मा ९ हजार १८३ मत पाएको थियो । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले ६ हजार र जनता समाजवादी पार्टी (जसपा) ले ५ हजार मत ल्याएका थिए । लोसपाले ५ हजार, जनमत पार्टीले ३ हजार ७००, माओवादी केन्द्रले २ हजार ६०० सय, जनमुक्ति पार्टीले १ हजार ९००, हाम्रो नेपाली पार्टी (लौरो) ले १ हजार ३४७ र नेकपा एकीकृत समाजवादीले ७८१ समानुपातिक मत पाएका थिए ।
रूपन्देही–३ मा १ लाख ३९ हजार ७६४ मतदाता छन् । नेपाल–भारत सीमा क्षेत्र बेलहिया नाका लगायत क्षेत्र, बुटवल उपमहानगरको वडा नम्बर १४ देखि १९, सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिकाको वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाको वडा नम्बर १, २, ३, ६ र ७ तथा तिलोत्तमा नगरपालिकाका वडा नम्बर १३ र १४ यो क्षेत्रमा पर्छन् ।