
गृह मन्त्रालयले ४५ नयाँ शाखा अधिकृतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको छ । अध्यागमन सुधारका लागि भन्दै मन्त्रालयले आज (सोमबार)देखि ४५ जना शाखा अधिकृतलाई खटाएको हो ।
लोकसेवाबाट आएका अधिकृतहरूलाई विभागले तीन दिने तालिमपश्चात सोमबारदेखि विमानस्थलमा खटाएको हो ।
यसैसाता गृह मन्त्रालयले अध्यागमन कार्यालयमा सहसचिव नरहरि घिमिरेको सरुवा गरेको थियो ।
केही दिन अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४५ अधिकृतको नाम गृह मन्त्रालयमा पठाएको थियो । नयाँ शाखा अधिकृतहरूलाई अध्यागमन पठाएसँगै त्यहाँ कार्यरत ४५ जनालाई गृहमा तानिएको छ ।
‘विमानस्थलबाट आएका अधिकृतहरूको मन्त्रालयमा दरबन्दी मिलान हुन्छ,’ गृहको कर्मचारी प्रशासन महाशाखाका उपसचिव सुरेश जोशीले भने, ‘दरबन्दीभन्दा बढी अधिकृत भए तिनलाई सामान्य प्रशासन मन्त्रालयमार्फत् बाहिर पठाउने काम हुन्छ ।’
दरबन्दीअनुसार मात्रै अधिकृतहरू मन्त्रालयले राख्ने उनले बताए ।
सरकारले यसअघि नै पूर्वमुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा अध्यागमन र भिजिट भिसा सम्बन्धमा देखिएका समस्या समाधान उच्चस्तरीय अध्ययन एवं छानबिन समितिसमेत गठन गरेको छ ।
समितिलाई विदेश जाने आउने व्यक्तिको यात्रा सहजीकरण सम्बन्धमा अध्ययन विश्लेषण तथा तथ्यगत छानविन गरी देखिने समस्या समाधान गर्न नीतिगत कानूनी एवं संरचनागत सुधारको तत्कालीन र दीर्घकालीन कार्ययोजना प्रस्तुत गर्नेलगायत कार्यादेश दिइएको छ । समिति अहिले कार्यादेशअनुसार काम गरिरहेको छ ।