
नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक शुरू भएको छ । पार्टी केन्द्रीय पार्टी कार्यालय च्यासलमा शुरू भएको बैठकमा यसअघि सचिवालय र पोलिटब्युरो बैठकबाट पारित विधान संशोधन प्रस्तावमाथि छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
यसअघि यही साउन २ र ३ गते एमालेको पोलिटब्यूरो बैठकबाट विधान संशोधनको प्रस्ताव पारित भएको थियो ।
बैठककझ शुरूमा पोलिटब्युरोको चौथो बैठकले अनुमोदन गरेको विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णुप्रसाद पौडेलले केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गर्ने छन् ।
यस्तै, विधान महाधिवेशनमा प्रस्तुत गरिने संगठनात्मक प्रस्तावको सन्दर्भमा महासचिव शंकर पोखरलले वडाकेन्द्रित अभियान, सदस्यता नवीकरण, प्रतिगमनकारी क्रियाकलापका विरूद्धको जागरण अभियान र स्थानीय कमिटीहरूको अधिवेशनलगायत विषयमा बैठकलाई जानकारी गराउने कार्यसूची छ ।
केन्द्रीय कार्यालयको जिम्मा रहेको विधान महाधिवेशनको तयारी र अन्य व्यवस्थापनसम्बन्धी जानकारी केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत हुने उनले बताए ।