
दमक व्यापारिक कम्प्लेक्स (बिजनेस टावर) सर्वसाधारणका लागि खुला गरिएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।
दमक नगरपालिका–३ दापगाँछीमा निर्मित ‘बिजनेस टावर’ यही साउन १ गतेदेखि उक्त भवन सर्वसाधारणको प्रवेशका लागि खुला गरिएको हो ।
‘बिजनेस टावर’ रहेको दमक नगरपालिका–३ का वडाध्यक्ष नविन बरालले सो क्षेत्रमा पर्यटकीय चहलपहल बढेको बताए ।
सघन सहरी तथा भवन निर्माण आयोजना झापाका प्रशासन अधिकृत उमेश खनालले साउन ६ गतेसम्म दुई हजार एक सय ४५ जनाले अवलोकन गरिसकेका छन् । टावरमा प्रवेशका लागि प्रतिव्यक्ति रु एक सय शुल्क तोकिएको छ । खनालका अनुसार साउन १ गते चार सय ३८ जना, साउन २ गते तीन सय ८४ जना, साउन ३ गते चार सय ८१ जना, साउन ४ गते दुई सय ७९ जना, साउन ५ गते दुई सय ९० जना र ६ गते साउन दुई सय ७३ जनाले टावर घुमेका छन् ।
सरकारले दमक व्यापारिक कम्प्लेक्स, काठमाडौँको धरहरालगायत मुलुकका विशेष संरचनाको सञ्चालनका लागि हालै विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको गठन आदेश जारी गरिसकेको छ । सहकारी विकास मन्त्रालय मातहत रहने समितिले कार्यकारी निर्देशकको पदपूर्तिका लागि खुला विज्ञापन आह्वानसमेत गरिसकेको छ ।
उक्त समिति क्रियाशील नहुञ्जेलका लागि सहकारी विकास मन्त्रालयले हाल सघन सहरी तथा भवन निर्माण आयोजना झापालाई नै ‘बिजनेस टावर’ सञ्चालन र रेखदेख गर्ने जिम्मेवारी दिएको छ । कार्यालयले टावरको सञ्चालनका लागि खनालको नेतृत्वमा १० जना कर्मचारी परिचालन गरेको छ ।
टावर निर्माणमा रु एक अर्ब ४५ करोड खर्च भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत मङ्सिर २३ गते ‘बिजनेस टावर’को विधिवत् उद्घाटन गरेका थिए ।