१० साउन २०८३, आइतबार

कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छ- प्रधानमन्त्री ओली

साउन ७, २०८२
काठमाडौं
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छ- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका प्रत्येक अप्ठ्यारो मोडमा नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीले नेतृत्व गरेको अलग-अलग राजनीतिक धारको एकता र सहकार्यको प्रयोगबाट सफलता हासिल हुँदै आएको बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो सहकार्यको प्रयोगबाट मुलुकमा राजनीतिक स्थायित्वसहित परिवर्तन सम्भव भई उपलब्धि संस्थागत हुने धारणा व्यक्त गरे ।

बीपी कोइराला र पुष्पलाल श्रेष्ठको सोचअनुसार उनीहरूले अंगालेको बाटोमा अघि बढी विभिन्न कालखण्डमा देखिएका असहज राजनीतिक घटनाक्रमलाई सहज दिशामा अघि बढाउन कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्य सफल भएको प्रसङ्ग उल्लेख गर्दै उनले मुलुकको राजनीतिक स्थायित्वसहित विकास र समृद्धिका पक्षमा सरकारले सफलता हासिल गरेको दाबी गरे । 

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको बुधबार र पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको मंगलबारको स्मृति दिवसको स्मरण गर्दै प्रधानमन्त्री ओलीले नेपालको राजनीतिलाई जहानियाँ राणाशासनको अन्त्य गरी प्रजातान्त्रिक आन्दोलनका पक्षमा नेतृत्व गरेका उनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे । 

सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले बीपी र पुष्पलाललाई स्मरण गर्दै ‘मतभेद र मनभेदको होइन, एकता र मेलमिलाप’को कुरा गर्न अनुरोध गरे । 

एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘मुलुकको समृद्धि र जनताको सुखका लागि जीवनपर्यन्त संघर्ष गर्ने पुष्पलाललाई तत्कालीन तानाशाही सत्ताले आफ्नो प्रिय मुलुकमा प्राण त्याग्ने अवसर समेत दिएन । उहाँले देख्नुभएको तानाशाही विरुद्धको संयुक्त जनआन्दोलनको व्यावहारिक प्रयोग नेपाली कांग्रेस र तत्कालीन संयुक्त वाममोर्चामार्फत २०४६ सालमा भयो । बहुदलीय व्यवस्थाको स्थापना भयो । २०१७ सालको ‘कू’ पछि पुष्पलालले माग गर्नुभए झैं हाम्रो संयुक्त आन्दोलनले विघटित संसद्को पुनःस्थापना ०६३ सालमा भयो, जसले हाम्रो राजनीतिक प्रणालीमा गुणात्मक परिवर्तन गरिदियो । अढाई शताब्दी लामो शाहवंशीय राजतन्त्रलाई निलम्बन गरी जननिर्वाचित प्रधानमन्त्रीलाई राष्ट्रप्रमुख र सरकार प्रमुखको अधिकार प्रयोग गर्ने परिस्थिति निर्माण गर्‍यो ।’  

salt training

कमेन्ट गर्नुहोस्