
काठमाडौँ, २४ मङ्सिर-जारी मतगणनामा सबैभन्दा ठूलो मतान्तर अहिलेसम्म दोलखामा भएको छ । दोलखामा नेकपा एमालेका उम्मेदवार पार्वत गुरुङ र काँग्रेस उम्मेदवार रुद्रबहादुर खड्काको मतान्तर ३० हजार ६३३ मतको छ । गुरुङले ५५ हजार ४५७ र खड्काले २४ हजार ८१३ मत प्राप्त गरे ।
यस्तै धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एमालेका भूमि त्रिपाठी २७ हजार १५३ मतान्तरसहित विजयी भए । त्रिपाठीले ४९ हजार १२१ मत प्राप्त गरे भने काँग्रेसका विश्वप्रसाद अर्यालले २१ हजार ९६८ मत पाए ।
यस्तै काठमाडौँ–२ मा एमालेका माधवकुमार नेपालले २५ हजार ६३३ मत पाउँदा काँग्रेसका दीपक कुइँकेलले १४ हजार २०७ मत पाए । नेपाल र कुइँकेलको मतान्तर ११ हजार ४२६ मत छ । यस्तै बागलुङ क्षेत्र नम्बर १ मा वाम गठबन्धनका सूर्यप्रसाद पाठकले १३ हजार ४१ मतान्तरसहित जित हासिल गरे । पाठकले ३३ हजार ६५७ मत पाउँदा काँग्रेसकी उम्मेदवार चम्पादेवी खड्काले २० हजार ६१६ मत पाइन्।
यस्तै बैतडीमा बहालवाला राज्यमन्त्री नरबहादुर चन्दलाई एमाले उम्मेदवार दामोदर भण्डारीले ११ हजार २३३ मतान्तरले पराजित गरे । काँग्रेस उम्मेदवार चन्दले २८ हजार २९१ मत पाए । रुकुम पश्चिममा माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा ३४ हजार ४०२ मतसहित विजयी भए । काँग्रेस उम्मेदवार गोपालजीजङ्ग शाहले १५ हजार ६५९ मत पाए । शर्मा र शाहको मतान्तर १८ हजार ७४३ छ ।
सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव पनि १० हजारभन्दा बढी मतान्तरसहित सप्तरी–२ बाट विजयी भए । यादवले १९ हजार ५८ मत पाए । माओवादी केन्द्रका उमेश यादवले १० हजार ८५८ मत पाए । उपेन्द्र र उमेशको मतान्तर आठ हजार दुई सय मतको छ । आठ हजार ३४६ मतान्तरसहित एमाले नेता रवीन्द्र अधिकारी कास्की–३ बाट विजयी भए ।