
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई/मधेश द्रुतमार्गको निर्माण कार्य वैकल्पिक उपायबाट भए पनि सम्पन्न गर्नुपर्ने बताएका छन् ।काठमाडौं–तराई/मधेश द्रुतमार्ग नेपालको रणनीतिक महत्वको आयोजना भएको उनको भनाइ छ ।
सोमबार आफ्नो आधिकारिक फेसबुकमार्फत् सार्वजनिक अभिव्यक्ति दिँदै द्रुतमार्गको खोकना–डुकुछाप खण्डको निर्माणमा उत्पन्न समस्या समाधानका लागि गहन छलफल भएको जानकारी दिएका छन् । ‘काठमाडौं–तराई/मधेश द्रुतमार्ग हाम्रो रणनीतिक महत्त्वको सडक आयोजना हो, यसले काठमाडौंलाई १ घण्टाको समयमै तराईसँग जोड्छ, नेपाली सेनाले द्रुतमार्ग निर्माण गरिरहेको छ,’ उनले लेखेका छन् ।
खोकना क्षेत्रको निर्माण सकिएपछि द्रुतमार्गले तराईसँग सडकमार्फत् प्रत्यक्ष जोडिने भएकाले त्यसको निर्माण प्राथमिकतामा राखिएको ओलीको भनाइ छ । उनले खोकनाको समस्या समाधान गर्न वैकल्पिक उपायहरू खोज्न आवश्यक रहेको बताएका छन् । सोहीअनुसार मन्त्रालय र नेपाली सेनालाई उपाय खोज्न आग्रह गरिएको उनले उल्लेख गरेका छन् । ‘द्रूतमार्गको खोकना-डुकुछाप खण्डमा उत्पन्न भएका समस्याबारे हिजोराति गहन छलफल भयो, खोकना क्षेत्रको निर्माण सकिनासाथ सडक तराईसँग जोडिन्छ, वैकल्पिक उपाय अपनाएर भए पनि हामीले यसलाई सम्पन्न गर्नु पर्ने छ, सोही अनुसारको उपाय खोज्न मैले मन्त्रालय र नेपाली सेनालाई आग्रह गरेको छु, हामीसँग धेरै समय छैन’, उनले लेखेका छन् ।
काठमाडौं–तराई द्रुतमार्ग ७६.२ किमी लम्बाइको आयोजना हो । जुन नेपाली सेनामार्फत निर्माण भइरहेका ठूला सडक परियोजनामध्ये एक हो। यसले राजधानी क्षेत्र र तराई मधेशलाई छोटो समयमै जोड्ने लक्ष्य लिएको छ