०२ साउन २०८३, शनिबार
सरसर्ती २४ घण्टा

मुख्यमन्त्रीबाट राजीनामा नदिने बहादुरको अडान, ४ वर्षयताकै उच्च विन्दुमा सेयर

साउन १४, २०८२
काठमाडौं
मुख्यमन्त्रीबाट राजीनामा नदिने बहादुरको अडान, ४ वर्षयताकै उच्च विन्दुमा सेयर

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ। निर्वाचनको सम्पूर्ण कार्यक्रम एकै दिनमा सम्पन्न हुने गरी तय गरिएको छ।

निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार मतदान प्रक्रिया आज बिहान ८ बजे मतदाता नामावली प्रकाशनबाट सुरु हुनेछ। त्यसपछि दाबी–विरोध, अन्तिम मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, नाम फिर्ता लगायतका सबै चरण तय समयअनुसार आजै सम्पन्न गरिनेछ।

मतदान कार्य दिउँसो २ बजे सुरु भई ३ बजेभित्र सम्पन्न गरिनेछ। मतदान स्थल हेटौंडास्थित नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय परिसरमा तय गरिएको छ।

निर्वाचन सम्पन्न भएलगत्तै मतगणना सुरु हुने र सोही दिन नतिजा सार्वजनिक गरिने समितिले जनाएको छ।
संसदीय दलका नेता बहादुर सिंह लामाले पद गुमाएसँगै नयाँ छान्न निर्वाचन हुन लागेको हो । नयाँ संसदीय दलको नेता बन्न इन्द्रबहादुर बानियाँ सबैभन्दा अगाडि छन् । 
००००
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलमा विश्वास गुमाए पनि आफूले पदबाट राजीनामा नदिने बताएका छन । 

 उनले सरकार र संसदीय दल फरक भएकाले संसदीय दलमा विश्वास गुमे पनि सरकारबाट भने राजीनामा नदिने स्पष्ट पारे । उनले गठबन्धन दलहरूको पनि समर्थन रहेकाले राजीनामा नदिने बताए । 

 मुख्यमन्त्री लामाले संविधान अनुरूप सरकारमा बहुमत भएमा संसदीय दलको नेता हुन नपर्ने बताउँदै आफ्नो राजीनामा अनिवार्य नभएको बताए ।
००००
मधेश प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले सुक्खाग्रस्त क्षेत्रका अति जोखिमयुक्त समुदायलाई राहतदिने लगायत विषयमा आठबुँदे निर्णय गरेको छ । 

मन्त्रालयका निमित्त सचिव रामकुमार खंगको अध्यक्षतामा मन्त्रालयअन्तर्गतका विकास साझेदार र विषयगत क्षेत्रका प्रतिनिधिसहित मंगलबार बसेको बैठकले विभिन्न आठबुँदे निर्णय गरेको हो  ।
००००
नेपाल हज समितिको अध्यक्षमा मोख्तार अहमद नियुक्त भएका छन । 

गृहमन्त्री रमेश लेखकले समितिको अध्यक्षमा सिराहाको कल्याणपुर नगरपालिका–१२ का अहमदलाई नियुक्त गरेका हुन ।
००००
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीबारे उठेको भ्रम र तथ्यलाई गहिरो गरी बुझ्न आग्रह गरेका छन  । 

उनले दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती भइरहेको उल्लेख गरेका छन ।

मंगलबार सामाजिक सञ्जालमा एक अपिल जारी गर्दै उनले यस्तो प्रचार गर्नेहरूप्रति सचेत हुन आग्रह गरेका छन ।
००००
समाजवादी मोर्चाले देशमा दुई वटा थ्रेट आएको र आफूहरू पनि अल्मलिएको निष्कर्ष निकालेको छ ।

मोर्चाको मंगलबार बसेको बैठकले गणतन्त्रलाई थ्रेट गर्ने प्रवृत्ति देखिएको र राज्यले जनतालाई आशावादी बनाउन नसकेको निष्कर्ष निकालेको नेकपाका नेता खड्गबहादुर विश्वकर्माले जानकारी दिए । मोर्चा गठनको एक वर्ष अपेक्षित नभएको उनको भनाइ छ ।
००००
नेपाल–भारत सीमा कार्यदलको सातौं बैठक भारतको नयाँ दिल्लीमा सम्पन्न भएको छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नापी विभागका महानिर्देशक प्रकाश जोशीले गरेका थिए भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको नापी विभागका महानिर्देशक हितेशकुमार एस मकवानाले गरेका थिए ।
००००
नेपाल ओलम्पिक कमिटी (एनओसी) सँग सम्बन्धित विवादको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली नेपाली खेलकुदका सरोकारवाला निकायहरूसँग कडा रूपमा प्रस्तुत भएका छन । 

प्रधानमन्त्री ओलीले नेपाली खेलकुदको नेतृत्वदायी निकायका पदाधिकारीहरूलाई ओलम्पिक कमिटीको विषयमा खरो रूपमा प्रस्तुत हुन निर्देशन दिएपछि नेपाली खेलकुद फेरि तरंगित बनेको छ ।
००००
विशेष अदालतले पतञ्जली जग्गा प्रकरणमा तत्कालीन भूमिसुधार सचिव छविराज पन्तसँग ५  लाख रूपैयाँ धरौटी माग्न आदेश गरेको छ ।

मंगलबार विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पन्तसँग ५ लाख रूपैयाँ धरौटी माग्ने आदेश गरेको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । 
००००
शेयर बजार परिसूचक नेप्से ४ वर्षयताकै उच्च विन्दुमा टिक्न सफल भएको छ ।

मंगलबार ३०.७६ अंकले बढेर नेप्से ३००२.०७ विन्दुमा बन्द हुन सफल भएको हो ।

२०२१ अगस्ट १८ मा नेप्से ३१९८.१९ विन्दुमा बन्द भएर नेप्सेले 'डेली क्लोजिङ'को बेसिसमा अलटाइम हाई बनाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्