
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमालेसँगको वर्तमान गठबन्धन सरकार २०८४ सम्म निरन्तर रहने बताएका छन् ।
विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले भ्रष्टाचार नियन्त्रण र जनतालाई सुशासनको प्रत्याभूति गर्नेगरी काम गर्नुपर्ने सुझाव समेत दिए ।
गठबन्धन सरकार निर्माणको क्रममा भएको सात बुँदे सहमति कार्यान्वयन गर्नुपर्नेमा उनको भनाइ छ । एक प्रश्नको जवाफमा नेता डा. कोइरालाले कांग्रेसमा अहिले संसदीय दलको नेता परिवर्तन हुने कुनै सम्भावना नरहेको समेत बताए ।
कोइरालाले राजनीति गर्ने व्यक्तिले विभिन्न दलका नेतासँग भेटघाट गर्नु सामान्य प्रक्रिया भएअनुसार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग आफ्नो छलफल भएको स्पष्ट पारे । तर, आफू अहिले गठबन्धन र दलको नेता परिवर्तनको पक्षमा नरहेको बताए ।
‘राजनीति गर्ने व्यक्तिमा नैतिकता हुन जरुरी हुन्छ, अन्यथा राजनीति धराप पर्छ’, उनले भने ।
उनले नेपालको संविधानले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई पुनः राजनीतिमा आउन नरोकेको तर, उनीहरू राजनीतिमा नफर्केको राम्रो हुने धारणा राखे ।