
भारतले वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड क्रिकेट प्रतियोगिताको सेमिफाइनल नखेल्ने भएको छ । प्रतियोगिताको सेमिफाइनलमा भारतले पाकिस्तानको सामना गर्ने तय भएको थियो ।
तर, पाकिस्तानसँग क्रिकेटको कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्ने अडानका कारण भारतीय टोलीले सेमिफाइनलबाट आफ्नो नाम फिर्ता लिएको हो ।
भारतीय टोलीले सेमिफाइनल नखेल्ने भएपछि पाकिस्तानी टोली स्वत: प्रतियोगिताको फाइनलमा पुगेको छ । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेलिने छ ।
भारतीय टोलीले औपचारिक रूपमै सेमिफाइनल खेलबाट नाम फिर्ता लिएको जानकारी प्रतियोगिताको आयोजकले पनि दिएको छ । यसअघि जारी प्रतियोगिताको प्रारम्भिक चरणको खेलमा पनि भारतले पाकिस्तानसँग खेलेको थिएन ।
विश्व क्रिकेटमा भारत र पाकिस्तान एक–अर्काका चिर प्रतिद्वन्द्वी हुन् । यी दुवै राष्ट्रको राजनीतिक सम्बन्धको छायाँ क्रिकेटमा पनि पर्ने गरेको छ । त्यसैले यी दुवै टोलीबीच लामो समयदेखि द्विपक्षीय शृंखला पनि खेलिएको छैन ।
भारतको पहलगाममा भएको आतंकाकारी आक्रमणपछि त झन् भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले पाकिस्तानसँग कुनै पनि प्रतियोगिता नखेल्ने औपचारिक घोषणा नै गरेको छ । बीसीसीआईको यो घोषणा अहिले आफ्नै लागि प्रत्युत्पादक बनेको हो ।
जारी प्रतियोगिताको लिग चरणमा खासगरी शिखर धवन, सुरेश रैना, युसुफ पठानलगायत खेलाडीले पाकिस्तानसँग कुनै पनि हालतमा नखेल्ने अडान लिएका थिए ।
भारत वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड क्रिकेट प्रतियोगिताको सावित विजेता हो । प्रतियोगिताको पहिलो संस्करणमा भारतले पाकिस्तानलाई नै हराउँदै प्रतियोगिताको उपाधि चुमेको थियो ।