११ साउन २०८३, सोमबार

भारत–इङ्ल्यान्ड टेस्ट क्रिकेट अर्थात् शतकहरूको शृंखला

साउन १९, २०८२
काठमाडौं
भारत–इङ्ल्यान्ड टेस्ट क्रिकेट अर्थात् शतकहरूको शृंखला

आयोजक राष्ट्र इङ्ल्यान्ड र भारतबीचको पाँचौँ तथा अन्तिम टेस्ट क्रिकेट रोचक मोडमा छ । यद्यपि, पाँचौँ टेस्टमा इङ्ल्यान्डको अवस्था बलियो देखिन्छ । पाँचौँ टेस्टको अन्तिम दिन सोमबार इङ्ल्यान्डको टोली जितका लागि केवल ३५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा ओर्लने छ ।

तर, इङ्ल्यान्डसँग चार विकेटमात्र बाँकी छ । द ओभल रंगशालामा जितका लागि तीन सय ७४ रनको लक्ष्य पछ्याएको घरेलु टोलीइङ्ल्यान्डले दोस्रो पारीमा ६ विकेट गुमाएर तीन सय ३९ रन बनाइसकेको छ ।

इङ्ल्यान्डका जामी स्मिथ अविजित दुई र जामी ओभर्टन अविजित शून्य रनमा क्रिजमा छन् । त्यसअघि इङ्ल्यान्डका लागि दुई ब्याट्सम्यानले शतक बनाएका थिए । ह्यारी ब्रुकले एक सय ११ रन बनाएका थिए ।

यसैगरी, जो रुटले एक सय पाँच रनको योगदान गरेका थिए । यसका अतिरिक्त, बेन डकेटले पनि ५४ रनको पाली खेलेका थिए । भारत र इङ्ल्यान्डबीचको पाँच टेस्टको जारी शृंखला धेरै अर्थमा ऐतिहासिक बनेको छ ।

यो टेस्टमा शृंखलामा हालसम्म दुवै टोलीका गरेर ब्याट्सम्यानले कूल २१ शतक प्रहार गरिसकेका छन् । त्यसैले यसलाई शतकहरूको शृंखला पनि भनिएको छ । यो शृंखलामा भारतीय टोलीका कप्तान शुभमन गिलले सर्वाधिक चारवटा शतक प्रहार गरेका छन् ।

शतकको दृष्टिकोणले जारी टेस्ट शृंखलाले टेस्ट क्रिकेटमा ७० वर्ष पुरानो कीर्तिमानको बराबरी पनि गरेको छ । यसअघि सन् १९५५ मा अस्ट्रेलिया र वेस्ट इन्डिजबीच खेलिएको टेस्ट शृंखलामा पनि २१ वटा शतक बनेको थियो ।

जारी शृंखलामा भारतीय ब्याट्सम्यानले १२ वटा शतक बनाएका छन् । इङ्ल्यान्डका ब्याट्सम्यानले भने नौवटा शतक प्रहार गरेका छन् । पाँच टेस्टको शृंखलामा सबैभन्दा बढी शतक पहिलो टेस्टमा बनेको थियो । उक्त टेस्टमा दुवै टोलीका ब्याट्सम्यानले कुल सात शतक बनाएका थिए ।

एउटै टेस्ट शृंखलामा भारतीय ब्याट्सम्यानले १२ वटा शतक बनाएको पनि यो पहिलोपटक हो । विश्व टेस्ट क्रिकेटमा भने यसअघि पनि तीनपटक एउटै शृंखलामा एउटै टोलीले १२ वटा शतक प्रहार गरिसकेको छ ।

यसैगरी, इङ्ल्यान्डको टोली पनि अर्को एउटा कीर्तिमानको नजिक छ । द ओभलमा कुनै पनि टोलीले हासिल गरेको सबैभन्दा ठुलो विजयी लक्ष्य दुई सय ६३ रन हो । सन् १९०२ मा खेलिएको टेस्टमा अस्ट्रेलियाले दिएको दुई सय ९३ रनको लक्ष्य इङ्ल्यान्डले नौ विकेट गुमाएर पूरा गरेको थियो ।

यसैगरी, सन् १९६३ मा इङ्ल्यान्डले दिएको दुई सय ५२ रनको लक्ष्य वेस्ट इन्डिजले दुई विकेट गुमाएर पूरा गरेको थियो । सन् १९७२ मा इङ्ल्यान्डले दिएको दुई सय ४२ रनको लक्ष्य अस्ट्रेलियाले पाँच विकेट गुमाएर पूरा गरेको थियो ।

यसैगरी, सन् १९८८ मा इङ्ल्यान्डले दिएको दुई सय २५ रनको लक्ष्य वेस्ट इन्डिजले दुई विकेट गुमाएर पूरा गरेको थियो । यसका अतिरिक्त सन् २०२४ मा इङ्ल्यान्डले दिएको दुई सय १९ रनको लक्ष्य श्रीलंकाले दुई विकेट गुमाएर पार गरेको थियो ।

त्यसैले पाँचौँ टेस्टमा इङ्ल्यान्डको टोली विजयी भए अर्को कीर्तिमान बन्नेछ । द ओभल मैदानमा सबैभन्दा ठूलो लक्ष्य पछ्याउँदै जीत हात पार्ने टोलीको कीर्तिमान इङ्ल्यान्डको नामसँग जोडिने छ ।

पाँच टेस्टको शृंखलामा इङ्ल्यान्ड २–१ ले अगाडि छ । पहिलो टेस्टमा इङ्ल्यान्ड पाँच विकेटले विजयी भएको थियो । दोस्रो टेस्ट भारतले तीन सय ३६ रनले जितेको थियो । तेस्रो टेस्टमा इङ्ल्यान्ड २२ रनले विजयी भएको थियो । शृंखलाको चौथो टेस्ट भने बराबरीमा सकिएको थियो ।

त्यसैले पाँचौँ टेस्टमा भारतीय टोली निकै दबाबमा छ । यो टेस्टमा पराजित भए भारतले शृंखला ३–१ ले गुमाउने छ । यो टेस्ट बराबरीमा सकिए पनि इङ्ल्यान्डले नै शृंखला २–१ ले जित्नेछ । तर, पाँचौँ टेस्टमा भारत विजयी भए शृंखला २–२ को बराबरीमा सकिने छ ।

salt training

कमेन्ट गर्नुहोस्