
काठमाडौंको तीनकुने घटनाका मुख्य योजनाकार मानिएका दुर्गा प्रसाईंलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ।
काठमाडौं जिल्ला अदालतको आदेशले कारागारमा रहेका प्रसाईंलाई उच्चले सोमबार धरौटीमा छाड्न आदेश दिएको हो ।
उच्च अदालत पाटनका न्यायाधीशहरू टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलास उनलाई सोमबार राज्यविरुद्धको कसुरमा ३ लाख र बैंकिङ कसुरमा २५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
गत जेठ २९ गते काठमाडौं जिल्ला अदालतले राज्यविरुद्धको कसुर, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, आपराधिक उपद्रव र संगठित अपराधबारे अनुसन्धान गर्न उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सोही आदेशअनुसार प्रसाईं कारागारमा बसेका थिए ।
गत असार ६ गते प्रसाईंसहित सुशील बराल, डण्डपाणी रेग्मी र तारा राजावादी भन्ने सरोज गौतम जिल्ला अदालतको आदेश खारेज गरी आफूहरूलाई थुनामुक्त गर्न आदेश माग गर्दै निवेदन दिएका हुन् ।
सोही निवेदनमाथि न्यायाधीशहरू गुरुङ र श्रेष्ठको इजलासमा बिहीबारदेखि सुनुवाइ भएको थियो ।

