२५ जेठ २०८३, सोमबार
'लाइफ लाइन सडक'को हाल

बुटवल-नारायणगढ सडक: दोब्बर समयमा जम्मा ७० प्रतिशत प्रगति, कहिले सकिन्छ काम ?

साउन २०, २०८२
बुटवल
बुटवल-नारायणगढ सडक: दोब्बर समयमा जम्मा ७० प्रतिशत प्रगति, कहिले सकिन्छ काम ?

साढे तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएर वि.सं. २०७५ बाट निर्माण शुरू भएको बुटवल–नारायणगढ सडक ७ वर्षसम्म पनि पूरा हुन सकेको छैन ।

राष्ट्रिय प्राथमिकताप्राप्त ११४ किलोमिटर सडक आयोजना निर्धारित समयमा बनिनसक्दा यात्रुहरू सास्ती भोग्न बाध्य छन् । अर्कातर्फ, निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसनले पनि नोक्सानी व्यहोर्नुपरेको बताउँदै आएको छ ।

४२ महिनामा सक्ने भनेर विस्तार थालिएको आयोजनालाई सरकारले फेरि अन्तिमपल्ट भन्दै आउँदो वर्ष ८ साउन वि.सं. २०८३ सम्मका चोथौपटक म्याद थप गरेको छ ।

हरेक वर्ष १० प्रतिशत भौतिक प्रगति गरेको निर्माण कम्पनीले अबको एक वर्षमा ३० प्रतिशत काम सकेर आयोजना हस्तान्तरण गर्ला भन्ने विश्वासभन्दा आशंका बढी छ ।

४ पुस २०७५ मा ठेक्का सम्झौता भएर सोही वर्षको चैत ८ गतेदेखि निर्माण थालिएको आयोजनाको अहिलेसम्मको भौतिक प्रगति ७० प्रतिशत छ ।

सरकारले निर्माण कम्पनीलाई कडाइ गरेर काममा लगाउन नसक्दा ७ वर्षदेखि सडकको दुर्दशा, यात्रु र सवारीको सास्ती भनिसाध्ये छैन । कहिले ‘ओभरलोड’ले पुल भाँचिँदा ४० घण्टासम्म सडकमा यात्रु रोकिनुपर्ने बाध्यता छ । त्यस्तै, कहिले ४० यात्रुसहितको बस खोलाले बगाएका घटना यही सडक खण्डमा भएका छन् ।

null

ग्लोबल टेन्डरमार्फत ठेक्का पारेर चिनियाँ कम्पनी चाइना स्टेटले १७ अर्बमा निर्माणको जिम्मेवारी पाएको थियो । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा उल्लेख गरिएकोभन्दा चारगुणा बढी रूख काट्नु परेको, रूख कटानको स्वीकृति ढिला आएको, विद्युतका पोल सार्न ढिलाइ भएको, निर्माण सामग्री उपलब्ध हुन ढिलाइ भएको, कोभिड महामारीको संक्रमणलगायत समस्याले सडक विस्तारमा विलम्ब भएको भन्दै निर्माण कम्पनीले पटक–पटक म्याद थप गराउँदै आएको छ ।

बुटवल नारायणगढ सडक विस्तार आयोजना पूर्वी खण्डका आयोजना प्रमुख इञ्जिनीयर ईश्वरीबहादुर रिजालले अबको वर्ष दिनमा सडक पूर्णरूपमा निर्माण सकिने दाबी गरे । ‘अहिलेसम्म आयोजनाको भौतिक प्रगति ७० प्रतिशतभन्दा माथि छ,’ इन्जिनीयर रिजालले भने, ‘सोचेभन्दा ठूलो परिघटना भएर अवरोध आएन भने काम पक्का सकिन्छ । त्यस्तो अवरोध नआओस् भन्न चाहन्छु । अहिले कन्टेक्टर फूल मोभिलाइज भएको छ ।’

उनले थपे, ‘हाम्रो खण्ड ६५ किलोमिटर पर्छ । त्यसमध्ये दुवैतर्फ कालोपत्रे ४१ किलोमिटर भइसकेको छ । एकातर्फ त ५७ किलोमिटर पूरा भएको छ । अरुणखोला र गिरुबारीमा पुल बन्न बाँकी छन् । ती पुल पनि तिहारअघि बनेर सञ्चालनमा आउनेछन् । दशैँतिहारपछि गाडी धूलोमा गुडाउनुपर्ने बाध्यता सकिनेछ ।’

बुटवलबाट नारायणगढसम्मको ११४ किलोमिटर सडकमध्ये नारायणघाट दाउन्ने (करिब ६५ किलोमिटर) सडकलाई पूर्वी खण्ड र दाउन्ने बुटवल (४९ किलोमिटर) सडकलाई पश्चिम खण्डमा विभाजन गरेर विस्तारको काम भइरहेको छ ।

null

अहिले निर्माण कम्पनीले सबैभन्दा बढी यात्रुले सास्ती खेपेको बर्दघाटदेखि दुम्कीबाससम्म १४ किलोमिटर क्षेत्रमा तीब्र गतिमा काम भइरहेको जनाएको छ । यो खण्डमा ढलानको काम जारी छ । विगत ६ महिनादेखि दाउन्ने क्षेत्रमा यात्रुले १५ घण्टासम्म जामको सास्ती खेप्नुपरेको थियो ।

‘लाइफ लाइन हाइवे’मा निर्माण कम्पनीले यात्रुको सहजतालाई ख्याल नगरी आफूलाई मात्र सजिलो हुनेगरी काम गर्दा दाउन्ने खण्डले सबैभन्दा बढी यात्रुलाई दु:ख दिएको आयोजनाका कर्मचारीहरू बताउँछन् ।

आयोजना पश्चिम खण्डका इन्जिनीयर तथा सूचना अधिकारी विकास खनालले एक वर्षमा काम सकिने बताए ।

‘हाम्रो मेजर काम दाउन्नेको १० किलोमिटर हो,’ उनी भन्छन्, ‘दाउन्नेमा अहिले असार र साउनमा पनि पानी नपरेपछि फूलफेजमा काम भइरहेका छ । हाम्रो खण्डको ४९ किलोमिटरमध्ये ३० किलोमिटर दुवैतर्फ कालोपत्रे सकिएको छ । एकातर्फ हेर्दा ६४ किलोमिटर कालोपत्रे भएको छ । कामको स्पीड पनि बढेको छ । एक वर्षभित्र अब सक्नैपर्छ भनेर हामीले निर्माण कम्पनीलाई दबाब पनि दिएका छौं ।’

दुई लेनको सडकलाई ४ र ६ लेनमा विस्तार गर्न वि.सं. २०७५ चैत ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा शिलान्यास गरेका थिए । यो खण्डमा रूपन्देही, पश्चिम नवलपरासी र नवलपुर जिल्लाका गैंडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु, विनयीत्रिवेणी, बर्दघाट, सुनवल, देवदह, बुटवलसहित दर्जन बढी पालिका तथा बस्तीहरू जोडिएका छन् ।

null

यी स्थानीय तहका प्रमुखले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आयोजनाको काम छिटो सम्पन्न निर्माण कम्पनीलाई आग्रह गर्न भनेका थिए ।

सडक विस्तारका लागि एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा आयोजना अगाडि बढेको थियो । ११४ किमी सडकमध्ये ७० किमी ४ लेन, २९ किमी बीचमा ४ लेन र दुवैतर्फ ६–६ मिटरको सर्भिस लेन तथा पहाडी भेग र जोखिम बढी रहेको क्षेत्र मानिने दाउन्नेको १४ किमी खण्डमा ३ लेनको सडक बनिरहेको छ ।

सडकमा ६४ वटा पुल र ४६२ वटा कल्भर्टलगायत संरचना निर्माण भएका छन् ।  

यो खण्डमा अस्तव्यस्त सडकका खाल्डा, नाली, निर्माण सामग्री र उपकरणमा सवारी ठक्कर खाँदा २१ जनाको ज्यान गएको प्रहरीको तथ्याङ्क छ ।  

सडक बनेपछि चितवनको सौराहाबाट शान्तिभूमि लुम्बिनीमा सहज पहुँच हुँदा व्यवसाय उकासिने हुने भन्दै रूपन्देहीका पर्यटन व्यवसायी आशावादी छन् ।

null

सडक निर्माण र विस्तारको काम छिटो सकिए भविष्यमा बुटवल यात्रा सहज र छिटो हुने हुँदा पर्यटकको संख्या पनि बढ्ने उनीहरूको अपेक्षा छ । रुपन्देहीका पर्यटन व्यवसायी माधवप्रसाद खनालले अबको एक वर्षभित्र सडक पूरा बनिसकेर सञ्चालनमा आए पर्यटकीय नगरी सौराहा र लुम्बिनीको भविष्य उज्यालो बन्ने सक्ने बताए ।

‘पछिल्ला पाँच/सात वर्ष सडकको अवस्थाले गर्दा चितवन आउने टुरिस्ट लुम्बिनी आउन पाएनन्,’ उनी भन्छन्, ‘अब छिटो नसके त सुखै छैन । काम सकिएपछि यसले बुटवलको भविष्य उज्यालो बनाउने छ ।’

वि.सं. २०२१ सालमा बनेको सडक ५७ वर्षपछि विस्तार थालिएको थियो । यो खण्ड पूर्वपश्चिम लोकमार्गको मध्यभागमा पर्छ ।

salt training

कमेन्ट गर्नुहोस्