२५ असार २०८३, बिहीबार

६ महिनाअघि विवाह गरेकी सम्झना मृत फेला, श्रीमान् र सासू-ससुरा पक्राउ

साउन २०, २०८२
कञ्चनपुर
६ महिनाअघि विवाह गरेकी सम्झना मृत फेला, श्रीमान् र सासू-ससुरा पक्राउ

घरमै झुन्डिएको अवस्थामा मृत भेटिएकी एक युवतीको घटनामा अनुसन्धान गर्न प्रहरीले उनका श्रीमान्‌सहित सासू र ससुरालाई पक्राउ गरेको छ ।

मृत भेटिएकी कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ की १७ वर्षीया सम्झना भट्टका श्रीमान् पवन भट्ट, ससुरा हरिदत्त भट्ट र सासू किरण भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

सम्झनाका माइती पक्षको जाहेरीका आधारमा प्रहरीले उनका श्रीमान् २४ वर्षीय पवनलाई पक्राउ गरेको थियो । त्यसको लगत्तै उनका सासू र ससुरालाई समेत पक्राउ गरिएको उनले बताए ।

'आत्महत्या दुरुत्साहनमा अनुसन्धानका लागि मृतकका श्रीमान्‌सहित सासू-ससुरालाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौं,' प्रहरी नायब उपरीक्षक बोहराले भने ।

उनका अनुसार मृतक भट्टका श्रीमान् पवनलाई आइतबार नै नियन्त्रणमा लिएर अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ ।

बेलडाँडी–२ की सम्झना आइतबार सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

उनका माइती पक्षले श्रीमान् तथा परिवारका सदस्यहरूले घरेलु हिंसा गर्ने, दाइजोको निहुँमा यातना दिने र मानसिक तनाव दिने गरेको आरोप लगाएका छन् । सोही कारण सम्झनाले आत्महत्याको बाटो रोजेको उनहरूको आरोप छ । सम्झना र पवनले करिब छ महिनाअघि मात्रै प्रेम विवाह गरेका थिए ।

गत शनिबार सम्झना र पवनबीच झगडा भएको थियो । उक्त झगडापछि त्यही दिन दुवै जना बेलडाँडी प्रहरी चौकीमा पुगेका प्रहरीले जनाएको छ । प्रहरीले दुवै जनालाई सम्झाई–बुझाई घर पठाएको थियो ।

त्यसको भोलिपल्ट सम्झना घरमै मृत फेला परेकी हुन् । मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्