२४ जेठ २०८३, आइतबार
सीमा क्षेत्रमा तस्करी

सीमामा तस्कर र प्रहरीबीच निरन्तर पौँठेजोरी: किन नियन्त्रणमा आउँदैन तस्करी ?

साउन २१, २०८२
काठमाडौं
सीमामा तस्कर र प्रहरीबीच निरन्तर पौँठेजोरी: किन नियन्त्रणमा आउँदैन तस्करी ?

सप्तरीको राजगढ गाउँपालिका– २ झुट्कीकमलमा गएराति साढे १० बजे मदिरा तस्कर र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भयो । 

भारतीय सीमाबाट नेपालतर्फ डेढ सय मिटरको दूरीमा रहेको एक घरमा मदिरा स्टोर गरेर राखेको सूचना पाएपछि प्रहरी खानतलासीका लागि त्यहाँ पुगेको थियो । प्रहरी पुग्नेबित्तिकै स्थानीय र तस्कर समूहले प्रहरीमाथि ढुंगामुढा मात्रै होइन, लाठी, खुकुरी र बोतलमा पेट्रोल भरेर प्रहार गर्न थाले । शुरूमा प्रहरी निरीक्षकको कमान्डमा चार जनाको टोली त्यहाँ पुगेको थियो । तस्कर र त्यहाँका स्थानीय जाइलागेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलायो ।

प्रहरीको गोली लागेर घाइते भएका लालु यादवको गजेन्द्र नारायण अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । प्रहरीले उक्त स्थानबाट ८० कार्टुन विभिन्न ब्रान्डका मदिरा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी गौतमकुमार केसीका अनुसार झुट्कीकमल भारततर्फ मदिरा तस्करी गर्ने नाकामध्ये प्रमुख नाका हो । त्यही स्थानबाट यसअघि पनि चार सय कार्टुन मदिरा बरामद भएको थियो । ​

 प्रहरीको गोली लागेर लालु यादव मारिएपछि प्रहरीसँग जवाफ माग्दै उनका आफन्त

भारतको बिहार राज्यमा मदिरा बिक्रीवितरण तथा ओसारपसारमा प्रतिबन्ध छ । तर, नेपालका तस्करहरूले त्यहाँबाट अवैध रूपमा मदिरा ओसारपसार गर्दै आएका छन् । त्यसो त पटक–पटकको सीमा सुरक्षा बैठकमा बिहारी पक्षले मदिरा तस्करी नियन्त्रणका लागि नेपालको भूमिका खोज्दै आइरहेको छ । बिहारमा मदिरा सेवन गर्न नपाएपछि सीमा पारिबाट भारतीय नागरिकहरू मदिरा सेवनकै लागि नेपालतर्फ आउने गरेका छन् ।

****

सप्तरीकै हनुमाननगर कंकालिनीमा तीन वर्षअघि सशस्त्र प्रहरीका असईको हत्या भएको थियो । मदिरालगायत अन्य वस्तु तस्करीको सूचना पाएका असई सत्यनारायण यादवलाई उनकै सहकर्मी जवान होमबहादुर खत्री र तस्कर समूहले हत्या गरेर भारतीय नाकामा शव फालिदिएका थिए । २०७९ असोज २० गते सशस्त्र प्रहरी बल गण नं. ६ हेडक्वार्टर राजविराजमा दरबन्दी भई बोर्डर आउट पोस्ट (बीओपी) छिन्नमस्तामा कार्यरत असई यादवको शव असोज २० गते सीमावर्ती बिहार राज्यको मधुवनी जिल्लाअन्तर्गत जिरोगा पुनर्वासस्थित घोडदह खोलामा फेला परेको थियो। तत्कालीन घटना अनुसन्धानका क्रममा जवान खत्रीको सम्बन्ध सीमाका तस्करहरूसँग रहेको तथ्य खुलेको थियो ।

****

२०८१ मंसिर २६ मा सिरहामा मदिरा तस्करको गाडीले ठक्कर दिएर सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको मृत्यु भएको थियो । नेपाल–भारत सीमाक्षेत्र बरियारपट्टी गाउँपालिका– १ कचनारीमा जीपमा राखेर मदिरा तस्करी भइरहेको सूचना पाएपछि सई यादव र नेपाल प्रहरीकै टोलीले ‘चेक प्वाइन्ट’ राखेका थिए । तर, रोक्ने क्रममा जीप सई यादवलाई ठक्कर दिएर भागेको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका यादवलाई तत्कालै उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल लगिएकोमा त्यहाँ मृत घोषणा गरिएको थियो । यो घटना पनि बिहानको तीन बजे भएको थियो ।

उज्यालोको समयमा सीमामा सुरक्षाकर्मीहरू चनाखो हुने र पक्राउ पर्ने डरले तस्करहरूले रातको समयमा मात्रै सामान ओसारपसार गर्दै आएको तथ्य यो घटनाले पनि पुष्टि गरेको थियो ।

****

गत असार १९ गते मात्रै धनुषाको विदेह नगरपालिका–२ वैदेहीमा प्रहरी र तस्कर समूहबीच झडप भएको थियो । राति साढे सात बजे भएको झडपमा सशस्त्र प्रहरीका सातजना घाइते भएका थिए ।

वैदेहीको दुहबीस्थित नेपाल–भारत सीमानजिक तस्करी हुँदैछ भन्ने सूचना पाएर खटिएका प्रहरी र सशस्त्र प्रहरीको टोलमाथि तस्कर समूहले ढुंगामुढा गरेका थिए । प्रहरीले त्यतिबेला चार राउन्ड गोली र १३ सेल अश्रुग्यास समेत प्रहार गर्नुपरेको थियो । सुरक्षाकर्मीमाथि जाइलागेका तस्करहरू भने सबै भारततर्फ नै भागेका थिए ।

****

विशेषगरी मधेश प्रदेशका ८ वटा जिल्लाहरू क्रमश: बारा, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, धनुषा, सिरहा र सप्तरीसँग जोडिएका सीमा नाकामा सुरक्षाकर्मी र तस्करबीच बेलाबखत पौँठेजोरी हुँदै आएको छ ।

लोकल प्रहरी युनिटलाई छायाँमा पारेर गरिएका प्रहरी अपरेसनपछि त्यहाँ झडप हुने गरेका छन् ।

स्रोतले भन्यो, ‘लोकल प्रहरी युनिट र तस्करबीच साँठगाँठ रहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट अपरेसन हुन्छ । प्रहरी आउँदै छ भन्ने सूचना पनि प्रहरीबाटै पुग्छ । सुरक्षाकर्मी तयारी साथ नपुग्दा झडपको अवस्था बन्न पुग्छ ।’

त्यसो त तस्करबाट सुरक्षाकर्मीले नै उठ्तिपूर्ति गरेका घटना पनि बाहिर आइरहेका छन् । तस्करीको लाइन मिलाएर पैसा उठाएकै कारण केही सुरक्षाकर्मी (सशस्त्र र नेपाल प्रहरी) को जागिर गएका घटना समेत छन् । केही अहिले पनि निलम्बनमै छन् ।

सर्लाहीस्थित इलाका प्रहरी कार्यालय हिरापुरका तत्कालीन इन्चार्ज एवं प्रहरी नायब निरीक्षक (सई) वैद्यनाथ दास तस्करसँग पैसा मागेको आरोपमा निलम्बनमा परेका छन् । अडियो नै बाहिर आएपछि उनी छानबिनका लागि निलम्बनमा परेका हुन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी वृत्तमा अहिले पनि सुनिन्छ, ‘तराईका जिल्लामा इन्चार्ज मात्रै होइन, बिटको इन्चार्ज हुँदा पनि राम्रै आम्दानी हुन्छ ।’ त्यो आम्दानी भनेको मुद्दा मिलाइदिने नाममा, तस्करीको लाइन खोलिदिने नाममा वा यस्तै अन्य काम गरेबापत हुने हो । नाम उल्लेख नगर्ने सर्तमा नेपाल प्रहरीका एक एसपीले लोकान्तरसँग भने, ‘मलाई पर्सा वा धनुषामध्ये एक जिल्ला लैजानुपर्‍यो भनेर एउटा समूहले लबिङ गर्न आएको थियो । बुझ्दै जाँदा त तस्कर पो रहेछ, मैले इन्कार गरिदिएँ ।’  

फौजको अनुशासन उल्लंघन गरेकै आधारमा सशस्त्र प्रहरीले आर्थिक वर्ष २०८१/०८२ मा कारबाही गरेको संख्यात्मक विवरण हेर्दा मधेश प्रदेशमा खटिएका इन्स्पेक्टरदेखि जवानसम्म १२१ जना विभागीय कारबाहीमा परेका छन् । बागमती प्रदेशपछि कारबाहीमा पर्नेमध्येको यो दोस्रो ठूलो संख्या हो । नेपाल प्रहरीमा पनि सोही आर्थिक वर्षमा २०७३ जना कारबाहीमा परेका थिए । धेरै कारबाही मधेश प्रदेशमै कार्यरत प्रहरीमाथि थियो ।

प्रहरी मुख्यालयको कर्मचारी प्रशासन शाखाका एक अधिकृतका अनुसार आर्थिक मामिला जोडिएपछि सम्बन्धित प्रहरी कर्मचारीलाई कारबाहीस्वरूप काम गरिरहेको स्थानबाट तानेर अरू जिल्लामा पठाइन्छ ।

तर, कताकता जोडबल गरेर ती सुरक्षाकर्मी पुरानै स्थानमा पुग्छन् । उनले भने, ‘केही नहुने भए किन मरिहत्ते गरेर पुरानै ठाउँ रोज्दै जान्छन् त ?’ पछिल्लो समयमा भने दुवै संगठन (प्रहरी र सशस्त्र प्रहरी) ले काज सरुवालाई निरुत्साहित गर्न सरुवा भएकै स्थानमा सुरक्षाकर्मी पठाउँदै आएका छन् । 

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं डीआईजी उमा चतुर्वेदी सीमा नाकामा तस्कर समूहले धेरै दु:ख दिएको बताउँछन् । ‘तस्करको सूचना पाएर प्रहरीले अपरेसन गर्न जाँदा प्रहरीमाथि नै जाइलाग्ने गर्छन् । त्यहाँ तस्करसँग मिलेर गाउँ नै प्रहरीमाथि उत्रिन्छ,’ चतुर्वेदीले भने, ‘तस्करसँग कुरा नमिल्दा प्रहरीले अपरेसन गर्छ भन्नु गलत हो । हामीले सूचना पाएसम्म र आफैं पनि सूक्ष्म निगरानी गरेर तस्करी नियन्त्रणका लागि काम गर्दै आएका छौं ।’

के भन्छन् पूर्व आईजीपी कुँवर ?

नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरका अनुसार तस्करी नियन्त्रणमा स्थानीय प्रशासन (सीडीओ, प्रहरी, सशस्त्र प्रहरी), स्थानीय तह वा त्यहाँका दलीय नेता एकजुट हुनुपर्छ ।

‘तस्करले सकभर प्रशासनलाई प्रभावमा पारेर तस्करी गर्न खोज्छन्, अनि प्रशासनले पनि आँखा चिम्लियो भने तस्करी बढ्छ,’ कुँवरले लोकान्तरसँग भने, ‘स्वार्थ समूहबीच कुरा नमिल्दा झडपको स्थिति सिर्जना हुन्छ । फिल्डको परिस्थिति कल्पनाभन्दा बाहिरको हुन्छ ।’

लोकल युनिटलाई ‘बाइपास’ गर्नुलाई त्यहाँ तस्कर र त्यो युनिटका सुरक्षाकर्मीबीच कुनै साँठगाँठले तस्करी भइरहेको भनेर बुझ्नुपर्ने कुँवरले बताए ।

डीआईजी हुँदा मधेश प्रदेश प्रहरी कार्यालयको कमान्ड सम्हालेका कुँवरले भने, ‘सीमा नाकामा सुरक्षाकर्मीले सुझबुझसँग अपरेसन चलाउनुपर्छ । तस्कर समूह गाउँकै हुन्छन् । प्रहरी पुग्नेबित्तिकै गाउँ नै जाइलाग्छ ।’

सीमा नाकामा नियमित निगरानी नहुँदा तस्करले फाइदा लिइराखेको कुँवरको बुझाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्