
रुपन्देही- ३ मा आगामी कात्तिक १७ गते हुने प्रतिनिधिसभा उपचुनावलाई लक्षित गरी संघीय लोकतान्त्रिक मोर्चाले भैरहवामा जागरणसभा गरेको छ ।
तराई-मधेश केन्द्रित सात राजनीतिक दल सहभागी मोर्चाले वर्तमान राजनीतिक अवस्थाबारे जिल्लाको सियारीमा बुधबार सभा गरेको हो । मोर्चाले रुपन्देही क्षेत्र नम्बर ३ को उपचुनावमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई समर्थन गरेर अघि बढ्ने सहमति गरिसकेका छन् ।
सो अवसरमा बोल्दै नाउपाका संरक्षक रेशम चौधरीले गठबन्धन स्वार्थका लागि नभई साँच्चिकै हातेमालो गरेर अघि बढेको भन्दै अब धोका नहुने बताए । यो देशका शासकको लागि रेशम चौधरीले खबरदारी गर्दै आएको उनले बताए । अहिलेको मिलन चिनी र गुणको स्वादको रहेको चौधरीले दाबी गरे ।
राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले उत्तर र दक्षिण ध्रुवमा रहेकाहरूले सिंहदरबारमा लुट मच्चाएको आरोप लगाए ।
जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले मुलुकमा चुरे विनाश हुने खालको कानून बनाए विद्रोह हुने बताए ।
उपचुनावमा नाउपाबाट साझा उम्मेदवार अघि सार्ने मोर्चामा सहमति भए पनि अहिलेसम्म नाउपाले उम्मेदवार टुंगो लगाउन सकेको छैन ।
नाउपाबाट उम्मेदवार बन्न ६ जना आकांक्षी छन् ।
उपचुनावका लागि धनीराम चौधरी, डा. सरोजसिंह चौधरी, नन्दा थापा चौधरी, विजयसिंह चौधरी र तुलसी चौधरी उम्मेदवारका प्रमुख दाबेदार हुन् ।
राप्रपाबाट निर्वाचित दीपक बोहोराको निधन भएपछि यो क्षेत्रमा उपचुनाव हुन लागेको हो ।