१० साउन २०८३, आइतबार

फिफा वरीयतामा एकैपटक १३ स्थान माथि उक्लियो नेपाल

साउन २२, २०८२
काठमाडौं
फिफा वरीयतामा एकैपटक १३ स्थान माथि उक्लियो नेपाल

विश्व फुटबल महासंघ (फिफा)द्वारा जारी पछिल्लो महिला वरीयतामा नेपालले ठूलो फड्को मारेको छ । बिहीबार जारी नयाँ वरीयतामा नेपाल विगतको तुलनामा एकैपटक १३ स्थान माथि उक्लिएको हो ।

पछिल्लो फिफा वरीयतामा नेपाल ८७ औं स्थानमा आसिन छ । दक्षिण एसियाली राष्ट्रमा नेपालभन्दा अगाडि भारत मात्र छ । भारत पनि पछिल्लो वरीयताको तुलनामा सात स्थान माथि उक्लिएको छ । भारत पछिल्लो वरीयताको ६३ औं स्थानमा छ ।

दक्षिण एसियाली राष्ट्र बंगलादेशले पनि वरीयतामा महत्त्वपूर्ण प्रगति गरेको छ । बंगलादेश एकैपटक २४ स्थान माथि उक्लिएको छ । नयाँ वरीयतामा बंगलादेश १०४ औं स्थानमा छ । तीन स्थान माथि उक्लिएको अर्को दक्षिण एसियाली राष्ट्र पाकिस्तान १५४ औं वरीयतामा छ ।

यसैगरी, श्रीलंका भने विगतको तुलनामा दुई स्थान तल झरेको छ । नयाँ वरीयतामा श्रीलंका १६१ औं स्थानमा आसिन छ । आठ स्थान माथि उक्लिएको भुटान १६३ औं वरीयतामा छ । दुई स्थान तल झरेको माल्दिभ्स भने १६५ औं वरीयतामा छ ।

पछिल्ला महिला वरीयतामा अमेरिकालाई पछि पार्दै स्पेन पहिलो स्थानमा उक्लिएको छ । अघिल्लो वरीयतामा पहिलो स्थानमा रहेको अमेरिका दोस्रो स्थानमा झरेको छ । तीन स्थान माथि उक्लिएको स्विडेन तेस्रो स्थानमा आसिन छ ।

यसैगरी, एक स्थान माथि उक्लिएको इङ्ल्यान्ड चौंथो र दुई स्थान तल झरेको जर्मनी पाँचौं वरीयतामा आसिन छन् । एसियाली राष्ट्रमा भने जापान सबैभन्दा अगाडि छ । नयाँ वरीयतामा जापान आठौं स्थानमा छ । अघिल्लो वरीयताको तुलनामा जापान एक स्थान तल झरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्