२९ असार २०८३, सोमबार
आलेख

वैदेशिक रोजगार र मानव बेचबिखन : कसरी रोक्न सकिन्छ युवा पलायन ?

साउन २६, २०८२
काठमाडौं
वैदेशिक रोजगार र मानव बेचबिखन : कसरी रोक्न सकिन्छ युवा पलायन ?

मानव बेचबिखनलाई अपराधको रूपमा लिइन्छ। विश्वमा गरिब, द्वन्द्वमा फसेका र आर्थिक आधार कमजोर भएका देशका मानिसहरू सुरक्षा र आर्थिक अवसरका लागि विदेशिन चाहन्छन्। अवसरको खोजीका कारण असुरक्षित तवरले विदेशिने क्रम बढ्दो छ। सीप र क्षमता कमजोर भएका एवं अभाव र द्वन्द्वमा फसेका मानिस जसरी पनि सुरक्षित हुन र आर्थिक अवसर प्राप्त गर्न विदेशिने क्रम बढ्दो छ।

तर, वैधानिक तवरले यात्रा गर्न योग्य हुन सकेका हुँदैनन्। विदेशिन खोज्ने प्रवृत्ति बढ्दो भएकाले विकसित देशमा जाने चाहना अत्यधिक भएको पाइन्छ। विदेशमा सुखद\ जीवन जिउन विभिन्न प्रलोभन र आशामा जस्तो पनि जोखिम मोल्ने प्रवृत्तिले राज्य र शासकीय व्यवस्थाप्रतिको प्रतिष्ठा घट्दै छ।

स्वदेशभन्दा जसरी पनि विदेशिन चाहनेको जमात नेपालमा बढ्दो छ। युवा पिँढीले त देशभित्रको अवसर साँघुरो भएको र सुखद जीवन जिउन विदेश जानुपर्ने धारणा बनाएको पाइन्छ। शिक्षा प्राप्ति, रोजगारीको अवसर, शरणार्थीको सुविधा र स्थायी बसोबासका लागि वैधानिक तरिकाले जानेको भन्दा प्रलोभन र आशा अपेक्षामा जानी नबुझी विदेशिन खोज्ने कारण मानव बेचबिखनको जोखिममा पर्ने गरेको पाइन्छ।

हालैका दिनमा अवैधानिक तवरबाट विदेशिन खोज्ने र विदेशिएपछि शोषण र हिंसामा पर्नेजस्ता घटना दिनप्रतिदिन बढ्दो छ। स्वदेशभन्दा विदेश मोह र बाध्यता कारण अहिले करिब ५० लाख नेपाली वैधानिक वा अवैधानिक तवरबाट विदेशिएका छन्।

गत वर्ष विदेशिएका १५ सय श्रमिकले मृत्युवरण गरेको तथ्याङ्क आएको छ भने ११ जना बेपत्ता भएको भनिएको छ। वैदेशिक रोजगारीको प्रलोभनमा १२ हजार ७ सय ९० ठगी भएको उजुरी परेको र विभिन्न कारण विदेशी जेल परेको र कैद एवं मृत्युदण्डका सजाय पाएका घटनाहरू पनि बढ्दो छ। वैदेशिक रोजगार र अवसरको प्रलोभनमा मानिसलाई विदेश पठाउन तथा मानव बेचबिखनमा राज्य तहका उच्च पदाधिकारीको संलग्नताको आरोपले देशको प्रतिष्ठामा गहिरो चोट लागेको छ। नागरिकलाई विदेश पठाउन राज्यका जिम्मेवार पदाधिकारी र शासकीय नेतृत्वको नाम जोडिनुले देशको प्रतिष्ठा धमिलिएको छ।

नेपालले सन् २०२० मार्चमा पालेर्मो प्रोटोकललाई अनुमोदन गरी मानव बेचबिखनविरुद्ध विश्व अभियानमा आबद्धता जनायो  प्रोटोकलले महिला र बालबालिकाको बेचबिखनविरुद्ध हुने कार्यमा जोड दिँदै मानव बेचबिखन रोक्ने एवं न्यून गर्ने र सजाय दिने विषयमा ध्यान आकर्षित गरेको छ। मानव (बेचबिखन) ओसारपसार नियन्त्रण ऐन २०६४ लागू गरी नियन्त्रणका लागि प्रयास भएका छन्। खुला सिमाना र बढ्दो विदेश मोहका कारण बेचबिखनका जोखिमहरू बढ्दै छन्।

मानव ओसारपसारका घटनाहरूमा भुटानी शरणार्थी प्रकरण, उपसभामुख र कोशी प्रदेशका पूर्वमन्त्रीको मानव ओसारपसार घटनामा जोडिएको विषय, भिजिट भिसामा मानव तस्करी भएको भन्ने प्रसंग, हालै उच्च स्तरको युरोप भ्रमणमा समेत मानव ओसारपसारको आरोप लगायतका मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी चर्चा भएका विषय हुन्। देशभित्र र बाहिर यी घटनाले हाम्रो अन्तर्राष्ट्रिय छवि धमिलिएको छ। कतिपय आरोपको न्यायिक निरूपण हुन बाँकी छ भने कतिपय घटनाको छानबिन र सत्य–तथ्यको पहिचान गर्न संसद् र जिम्मेवार निकायको ध्यान आकर्षित भएको छ।

विदेशमा सबैथोक छ, स्वदेशमा केही छैन भन्ने भाष्यको सोच बदल्न राज्यले नै समग्र पक्षमा सुधार गर्न जरुरी छ। विदेश गए सुखद जीवन हुने र स्वदेशमा रहे दुःख पाइने युवापुस्ताको सोच बदल्न युवामैत्री शासकीय अवधारणा बनाउन आवश्यक छ।

नेपालको खुल्ला सिमाना, सबल र सक्षमता हुन नसकेको सार्वजनिक एवं अध्यागमन प्रशासन, जसरी पनि विदेशिने मोह, आन्तरिक अवसरहरूको अप्रयाप्तता, विदेश गएका व्यक्तिको सुन्दर आर्थिक अवस्थाको अनुसरण तथा सुखद जीवनको कल्पना, आन्तरिक शासकीय प्रणालीमा निराशा, युवा पुस्तामा स्वदेशप्रतिको उत्साहमा क्षयीकरण, मानव ओसारपसारका लागि सहजता, आर्थिक क्रियाशीलताको घट्दो दर लगायतका कारण बढ्दो विदेशिने मोहले मानव बेचबिखनलाई मलजल गरेको छ।

नेपाल मानव बेचबिखन गर्ने जोखिममा रहेको र विदेशको अवसरको प्रलोभन देखाई मानव तस्करी गर्ने क्रम बढ्दो छ। मानव बेचबिखनमा राज्यका उच्च ओहदाको संलग्नता देखिनु, विदेशमा गएपछि बेचिएको अनुभूति हुनु, जोखिम र खतराका काम गर्दा श्रमिक अधिकारको हनन्, विदेशिएका महिलाहरूका समस्याहरू दिनानुदिन बढ्दै जानु, वैदेशिक रोजगारका नाममा ठगी गर्ने र निर्दोष मानिसहरू बेपत्ता र मृत्युवरणमा पुग्नु, प्रेषणको वृद्धिमा उत्साह हुनु तर वैदेशिक रोजगार तथा अवसरका नाममा भएका बदमासीको आकार बढ्दै जानु र अन्तर्राष्ट्रिय स्तरमा नेपाल र नेपालीको प्रतिष्ठामा आँच आउनु मानव बेचबिखनका खतराका संकेत हुन्। राज्यका जिम्मेवार पदाधिकारीको नैतिकता र असल आचरणमा ख्याल नराख्दा मानव बेचबिखनको जघन्य आरोपमा नेपाल जोडिन पुग्यो। वैदेशिक अवसर र रोजगारीको नाममा हुने मानव बेचबिखनको अपराध बढ्दो अवस्थामा छ ।

विश्व समुदायले नै गम्भीर अपराधको रूपमा लिएको मानव बेचबिखनको विषयमा शासकीय नेतृत्व र पदाधिकारीको संलग्नताबारे चर्चा परिचर्चा हुनु दुःख लाग्दो विषय हो। राज्यको उच्च तहको संलग्नताको परिचर्चाले नेपाल र नेपालीको शिर निहुरिएको छ। केही अफ्रिकी मुलुकका द्वन्द्वग्रस्त देशबाट लुकेर मानव ओसारपसार भएका घटनाहरू समाचारमा देख्न र सुन्न पाइन्थ्यो भने केही अल्पविकसित र अन्य देशबाट पनि मानव तस्करी हुने घटनाहरू हुने गर्थे। कतिपय देशले यसरी मानव तस्करी भएका व्यक्तिहरूलाई फिर्ता गर्ने गरेका पनि छन् भने कतिपय देशले शरणार्थीको रूपमा स्वीकारेको र पछि स्थायी बसोबास अनुमति दिएको पाइन्छ।

वैदेशिक अवसर र रोजगारमा लालायित भई ठगिनु वा मानव बेचबिखनमा पर्नुमा राज्यको शासकीय व्यवस्थामाथि नै प्रश्नचिन्ह हो । स्वदेशमा आर्थिक अवसर बढाउने, रमाउने र जन्मभूमिप्रतिको कर्तव्यबोध हुने वातावरण बनाउनु पर्छ। शासकीय शैली नवीनतम् सोचसहित सुखद् जीवन जिउने आधारका लागि प्रतिबद्ध र कटिबद्ध हुनै पर्छ। सरकारी नीति र संयन्त्र नागरिकमैत्री तथा प्रतिबद्ध भई सेवा प्रवाहको जटिलता न्यूनीकरण सहित प्रभावकारिता देखाउन सके उद्यम र व्यवसाय गर्न सहजताले व्यावसायिक र जीविकाको आर्जनमा उत्साह भई स्वदेशमै रमाउने वातावरण हुन्थ्यो। हाम्रो शिक्षा र सीप विकासका लागि नवीनतम् सोचसहितको प्रभावकारिता बढाउन सके स्वदेशमै उद्यम कर्म र जीविकोपार्जन गर्ने उत्साहले जबरजस्ती विदेशिने रहर साँघुरो भई मानव बेचबिखनको जोखिम न्यून गर्न सकिन्थ्यो।

हाम्रो स्रोत साधन उपयोग गर्ने शिक्षा प्रणाली, वैदेशिक प्रविधि हस्तान्तरण र लगानीको आकर्षण, रोजगारी वृद्धि, निजीक्षेत्रको सक्रियता एवं प्रभावकारी उद्यम तथा व्यावसायिक वातावरणबाट अवसर वृद्धि गरी स्वदेशको मोह बढाउन सकिन्छ। रिर्टनीहरूको सीपको स्वदेशमा उपयोगमा प्राथमिकता दिई उपयोग गर्न सके उद्यम र व्यावसायिकतामा उत्साहले रोजगारी वृद्धि एवं आर्थिक क्रियाकलाप बढाउन मद्दत पुग्ने देखिन्छ।

विदेशमा सबै थोक छ, स्वदेशमा केही छैन भन्ने भाष्यको सोच बदल्न राज्यले नै समग्र पक्षमा सुधार गर्न जरुरी छ। विदेश गए सुखद जीवन हुने र स्वदेशमा रहे दुःख पाइने युवापुस्ताको सोच बदल्न युवामैत्री शासकीय अवधारणा बनाउन आवश्यक छ।

बाध्यतावश वैदेशिक रोजगारीको प्रलोभनमा लोभिनु, विदेशका कठिनाइबारे जानकार नहुनु, कामका लागि सीप क्षमताको कमजोर अवस्थाले हुने समस्या, भाषा, रहनसहन र कानूनी सचेतताजस्ता विषयमा युवापिँडीलाई सचेत बनाउनु पर्छ। खुला सिमानाको दुरुपयोग रोक्न आवतजावतको कारणसहित व्यक्तिगत सूचना दर्ता प्रणाली, आवतजावतको स्पष्ट स्थान र चुस्त अध्यागमन प्रशासन तथा सीमा सुरक्षा प्रबन्ध एवं नियन्त्रण गर्न सम्बद्ध देशसँगको बैठक र वार्ताको निरन्तरता मानव बेचबिखनमा नियन्त्रण गर्ने रणनीति हुन्। वैदेशिक रोजगारी र अन्य अवसरमा सरल प्रक्रिया बनाई बिचौलियाको सहारा लिनुनपर्ने र सही सूचना प्रवाह गर्ने परिपाटीले पनि ठगिने र छलिने अवस्था कम भई बेचबिखन रोक्न सकिन्छ। नीतिमा सुधार, प्रभावकारी संरचना र सक्षम र नैतिक नेतृत्वसहित जिम्मेवार जनशक्ति एवं जागरुक नागरिक भए मात्र यस्ता विकृति न्यूनीकरण गर्न सकिन्छ।

salt training

कमेन्ट गर्नुहोस्