२३ जेठ २०८३, शनिबार
मन्त्रिपरिषद बैठक

मन्त्रिपरिषदमा मलका कुरा: आजैबाट कारखाना बनाउने प्रक्रियामा लागौं – प्रधानमन्त्री ओली

साउन २६, २०८२
काठमाडौं
मन्त्रिपरिषदमा मलका कुरा: आजैबाट कारखाना बनाउने प्रक्रियामा लागौं – प्रधानमन्त्री ओली

सोमवार बसेको मन्त्रिपरिषद् बैठकमा कृषकहरूले सहजै मल नपाएको विषयले प्रवेश पाएको छ । करिब ४५ मिनेट जति मलकै विषयमा कुराकानी भएको तर स्पष्ट निर्णय नभएको बैठकमा सहभागी एक मन्त्रीले लोकान्तरलाई बताए ।

साँझ ८ बजेदेखि बसेको मन्त्रिपरिषद बैठक पौने ११ बजेसम्म चलेको थियो । मन्त्रालयहरूले ल्याएको कतिपय एजेण्डामा छलफल भएपनि कुनै महत्त्वपूर्ण विषयमा भने निर्णय भएन ।

'बरू एजेण्डामै नभएको मलको विषयमा ४५ मिनेटजति छलफल भयो,' ती मन्त्रीले लोकान्तरलाई भने, 'प्रधानमन्त्रीले आजदेखि नै नेपालमा उत्पादन गर्ने प्रक्रिया शुरू गर्न कृषिमन्त्रीलाई निर्देशन दिनुभयो ।'

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मल समयमै नपाउँदा किसानहरूलाई सास्ती भएको कुराबाट छलफल शुरू गरेका थिए ।

'रोपाईं सकियो तर मलको संकट यथावत छ । पछिल्लो समय त बोर्डरबाट साइकलमा अलिअलि ल्याउनेमाथि पनि कडाइ गर्न थालिएको छ । यसले तराई मधेशका किसानहरू झन् पीडित बनेका छन्,' मन्त्री अधिकारीले भनेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री अधिकारीको गुनासो निकै चाख मानेर सुने । मन्त्रीले थपे, 'प्रत्येक वर्ष यही समस्या दोहोरिने गरेको छ । अहिले पनि हामीले कृषकको कुरालाई गम्भीरतापूर्वक लिएर हल गर्न सकेनौं ।'

जवाफमा प्रधानमन्त्री ओलीले अनाधिकृत रूपमा ट्रकमा ल्याएपनि तस्करी नै हुने र साइकलमा ल्याए पनि तस्करी नै हुने भएकाले, त्यतातिर ध्यान नदिन आग्रह गरे ।

'सधैंको समस्या देखिएको छ, तर समाधान गर्न भन्दै तस्करीलाई बढावा दिन उपयुक्त हुँदैन । यसका लागि दीर्घकालीन रूपमा सोच्नुपर्छ,' प्रधानमन्त्री ओलीले भने ।

कसरी गर्ने त ? भन्ने मन्त्री अधिकारीको प्रश्नमा प्रधानमन्त्री ओलीले थपे, 'ल, आजैदेखि तपाईंले काम शुरू गर्नुहोस् । हामीसँग बिजुली छ, कारखानाका लागि अधिकांश कच्चा स्रोत पनि छ भन्ने सुनेको छु । आजैबाट काम शुरू भए एक वर्षभित्र त कारखाना नै बन्छ । त्यसले हुन्छ दीर्घकालीन समाधान ।'

salt training

कमेन्ट गर्नुहोस्