
पर्साको वीरगञ्ज कारागारका एक कैदीको मृत्यु भएको घटनाको छानबिनका लागि समिति गठन भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) बाबुलाल रेग्मीको अध्यक्षतामा पाँच सदस्यीय छानबिन समिति बनाइएको हो ।
समितिमा जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी किशोर लम्साल, २५ नम्बर वडाका वडा सदस्य जगदीश तुराहास लगायतका सदस्य छन् । उक्त समितिलाई १५ दिनभित्र छानबिन सकेर प्रतिवेदन बुझाउन निर्देश गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।
मंगलबार नारायणी अस्पतालमा उपचारका क्रममा वीरगञ्ज महानगरपालिका–२५ घर भएका कैदी राहुल साहको मृत्यु भएको थियो । उपचारमा लापरबाही भएको आरोप लगाउँदै मृतकका आफन्तले वीरगञ्जमा दिनभरजसो टायर बालेर प्रदर्शन गरेका थिए ।
मृतक साह कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई ३ वर्षदेखि वीरगञ्ज कारागारमा सजाय काट्दै आएका थिए । अदालतले उनलाई २५ वर्ष कैद सजाय सुनाएको थियो ।