२४ असार २०८३, बुधबार

ध्रुवबहादुर प्रधानको संयोजकत्वमा नेपाल ओलम्पिक कमिटी तदर्थ समिति गठन !

साउन २७, २०८२
काठमाडौं
ध्रुवबहादुर प्रधानको संयोजकत्वमा नेपाल ओलम्पिक कमिटी तदर्थ समिति गठन !

ध्रुव बहादुर प्रधानको संयोजकत्वमा नेपाल ओलम्पिक कमिटी (एनओसी) को नौ सदस्यीय तदर्थ समिति गठन गरिएको दाबीसहित मंगलबार एक प्रेस विज्ञप्ति जारी गरिएको छ । 

ओलम्पिक कमिटीमा आबद्ध २३ वटा खेल संघका अध्यक्ष, महासचिव र पदाधिकारीहरूको भेलाले उक्त तदर्थ समिति गठन गरेको दाबी प्रेस विज्ञप्तिमा गरिएको छ । 

ध्रुवबहादुर प्रधान नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्ष हुन् । उनी एनओसीका मानार्थ अध्यक्षसमेत हुन् । मंगलबार जारी उक्त विज्ञप्तिमा तदर्थ समितिले तत्कालै आफ्नो काम सुरु गरेको दाबी पनि गरिएको छ ।

विज्ञप्ति जारी गर्न प्रयोग गरिएको लेटरप्याडमा नेपाल ओलम्पिक कमिटीको लोगोसमेत प्रयोग गरिएको छ । यसका अतिरिक्त लेटरप्याडमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र एसियाली ओलम्पिक कमिटी (ओसीए) को लोगोसमेत प्रयोग गरिएको छ । 

सोमबारमात्र २३ वटा खेल संघका पदाधिकारीहरुले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसँग भेट गरेका थिए । भेटका क्रममा ओलम्पिक कमिटीको तदर्थ समिति गठन गर्ने विषयमा छलफल गरेका थिए । 

केही दिनअघि मन्त्री चौधरी आफैले पनि सार्वजनिक रूपमै ओलम्पिक कमिटीको तदर्थ समिति गठन गर्ने तयारी भइरहेको बताएका थिए । उनले नेपाल एथलेटिक्स संघको चुनावी साधारणसभाको उद्घाटन समारोहमा यस्तो दाबी गरेका थिए । 

खेलकुद मन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अनुसार नै ओलम्पिक कमिटीको तदर्थ समिति गठन गर्न लागिएको दाबी गरेका थिए । यसै महिना खेलकुदमन्त्री, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पदाधिकारी र खेल संघका पदाधिकारीहरुले प्रधानमन्त्रीसँग छलफल गरेका थिए ।

छलफलका क्रममा ओलम्पिक कमिटीको विषयमा पनि चर्चा भएको दाबी त्यतिबेला खेल संघका पदाधिकारीहरुले गरेका थिए । त्यसलगत्तै खेलकुदमन्त्रीले प्रधानमन्त्रीकै निर्देशनमा ओलम्पिक कमिटीको तदर्थ समिति गठन गर्ने तयारी भइरहेको सार्वजनिक घोषणा गरेका थिए । 

जीवनराम श्रेष्ठको अध्यक्षतामा रहेको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भनिएको ओलम्पिक कमिटीलाई भने सरकारले मान्यता दिएको छैन । श्रेष्ठ नेतृत्वका एनओसीलाई सरकारले अवैधानिक एनओसी भन्दै आएको छ । 

अदालतको आदेश, युवा तथा खेलकुद मन्त्रालय र राखेपको निर्देशन विपरित संस्थाको विधान संशोधन गर्दै श्रेष्ठ नेतृत्वको एनओसीले निर्वाचन सम्पन्न गराएको थियो । उक्त निर्वाचनले श्रेष्ठकै अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो ।

त्यतिबेला अदालतको अपहेलना गरिएको भन्दै सरकारले प्रहरी परिचालन गरी निर्वाचन रोक्ने प्रयास गरेको थियो । त्यसपछि एनओसीले अनलाइनमार्फत नै आफ्नो निर्वाचन सम्पन्न भएको दाबी गरेको थियो । 

यस्तो स्थितिमा ओलम्पिक कमिटीको नयाँ तदर्थ समिति गठन गरिएको समाचार बाहिरिएपछि नेपाली खेलकुदमा अर्को तरङ्ग थपिएको छ । तदर्थ समितिद्वारा जारी गरिएको विज्ञप्तिमा प्रवक्ताका रूपमा समिम मियाँ अन्सारीले हस्ताक्षर गरेका छन् । 

ओलम्पिक कमिटीमा आबद्ध २३ वटै संघका पदाधिकारीहरूको उपस्थितिमा तदर्थ समिति गठन गरिएको बताइएको छ । तदर्थ समितिमा सुनिल श्रेष्ठ र निलेन्द्रराज श्रेष्ठ पनि रहेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्