
गृहमन्त्री रमेश लेखकले देशभरका केही कारागारमा सात गुणासम्म कैदीबन्दी रहेको बताएका छन् ।
संसद्को कानून न्याय तथा मानव अधिकार समितिमा बुधबार गृहमन्त्री लेखकले कारागारमा कुल २८ हजार सात सय १८ जना कैदीबन्दी रहेका जानकारी दिँदै यस्तो बताएका हुन् ।
उनका अनुसार हाल ६५ वर्ष माथिका ६०१ र आश्रित बालबालिका ६४ जना कैदीबन्दी छन् । त्यस्तै कुल विदेशी बन्दी कैदीहरू १ हजार ४ सय २७ जना छन् ।
मुद्दागत अवस्था हेर्दा जबर्जस्ती करणीतर्फ २५.५४, लागुऔषध २४.३७, कर्तव्य ज्यानतर्फ १६.१२, सवारी अंगभंगतर्फ ४.१६, चोरी १३.८२ प्रतिशत कैदीबन्दी छन् । ‘कारागारमा पुरुषतर्फ कुल क्षमता १६ हजार ६२५ रहेको छ,’ लेखकले भने, ‘तर अहिले पुरुष बन्दीनै २७ हजार १६८ जना छन्, यो तथ्यांकले कारागारको कुल क्षमताभन्दा बन्दीको संख्या ६७ बढी रहेको देखाउँछ ।’
उनका अनुसार, औसतमा एक सय जना क्षमता भएको कारागारमा १६७ जना कैदीबन्दी राख्नुपरेको अवस्था छ ।
महिलातर्फ देशभर सञ्चालनमा रहेका ५० वटा कारागारको क्षमता दुई हजार पाँच सय एक जना रहेकोमा हाल १५ सय ५० जना मात्रै छन् ।
देशभरका ७५ वटा कारागारको कैदीबन्दी राख्ने कुल क्षमता १८ हजार मात्रै रहेको उनले जानकारी दिए ।
लेखकका अनुसार कैलाली कारागारको लगभग दुई सय क्षमता भएकोमा झण्डै सात सय राखिएको छ । नौवस्ता र नुवाकोटमा कारागारमा क्षमता बढाइएको छ। सर्लाही र मोरङ पनि थप गरिएको छ। तर, यो न्यून संख्या हो ।
रुकुम पश्चिममा क्षमताभन्दा सात गुणा कैदीबन्दी
गृहमन्त्री लेखकका अनुसार रुकुम पश्चिममा क्षमताभन्दा सात गुणा कैदीबन्दी छन् ।
त्यस्तै सल्यान, ताप्लेजुङ, ओखलढुंगा र उदयपुरमा क्षमता भन्दा ६ गुणा, सुर्खेत, बैतडी, कैलाली र गुल्मीमा पाँच गुणा, धनकुटा, दाङ, रोल्पा गोरखा, काभ्रे, सिरहा, कञ्चनपुर र सिन्धुलीमा चार गुणा, म्याग्दी तेह्रथुम, प्युठान, सप्तरी पर्वत, दोलखा, सिन्धुपाल्चोक, बर्दिया, दार्चुला बाजुरा, नवलपरासी, महोत्तरी, इलाम, बझाङ, तनहुँ, डोटी, संखुवासभा र रुपन्देहीमा तीन गुणा कैदीबन्दी राखिएका छन् ।
त्यस्तै सुन्धारास्थित जगन्नाथदेवल, झापा, स्याङ्जा, भोजपुर, जाजरकोट, मोरङ, कास्की, दैलेख, बाग्लुङ, नेपालगञ्ज, बाँके, ललितपुरको नख्खु, रौतहट, धादिङ, काठमाडौंको डिल्लीबजारमा र चितवनमा दुई गुणा बढी कैदीबन्दी रहेका लेखकले जानकारी दिए ।
कैदीबन्दीलाई सात सय ग्राम चामल र दैनिक ८० रुपैयाँ
गृहमन्त्री लेखकका अनुसार हाल कैदीबन्दीलाई दैनिक सात सय ग्राम चामल र दैनिक ८० रुपैयाँ दिइने गरिएको छ ।
त्यस्तै प्रतिबन्दी वर्षको दुई जोर कपडा खरिद गर्न २५ सय, सिरक डस्ना किन्न प्रतिबन्दी तीन हजार वितरण गर्ने गरिएको छ । ‘बिरामीलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गरिँदै आइएको छ,' लेखकले भने ।
उनका अनुसार पेरोलमा कैदीबन्दी छाड्ने नियमानुसार हालसम्म २ हजार ७५ जनालाई छाडिएको छ ।