
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मोहनबहादुर थापा अमेरिकाबाट निष्कासनमा परेका छन्। अमेरिकामा विभिन्न गैरकानुनी गतिविधि गरेको आरोपमा अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले उनीमाथि अनुसन्धान गरी ग्रीनकार्ड रद्द गरेको स्रोतको दाबी छ।
अध्यागमन स्रोतका अनुसार यससँगै ५६ वर्षीय थापालाई अमेरिकाबाट भारत हुँदै एयर इन्डियाको उडान नम्बर एआई २११ मार्फत साउन २२ गते काठमाडौं ल्याइएको हो। विमानस्थलमा ओर्लिएलगत्तै अध्यागमनले कागज गराएर उनलाई मानव बेचविखन अनुसन्धान ब्युरोको जिम्मा लगाएको थियो। ब्युरोले पनि आवश्यक प्रक्रिया पूरा गरी छोडेको बताइएको छ।
थापामाथि अमेरिकामा बसोबास गर्दै विभिन्न कसुरमा संलग्न भएको आरोप छ। केही समयअघि आइसले उनलाई नियन्त्रणमा लिएर अध्यागमन तथा अन्य कानुन उल्लंघन सम्बन्धी अनुसन्धान अघि बढाएको थियो।