२१ जेठ २०८३, बिहीबार

लिस्बनमा नेपाल चिनाइरहेको 'कटेरो'

भदौ १, २०८२
काठमाडौं
लिस्बनमा नेपाल चिनाइरहेको 'कटेरो'

पोर्चुगल भनेपछि हामी नेपालीहरूलाई फुटबल र रोनाल्डोको याद आउँछ। तर नेपालीका लागि पोर्चुगलमा सम्झनुपर्ने अरू धेरै कुराहरू छन् । यो देशमा आइपुगेर लाखौँ नेपालीहरूले आफ्नो युरोपियन युनियन भित्रको बसाइ सहज बनाएका छन्।

कोही सडकमा भौतारिएर हिँडिरहेका छन्, कोही सपनाको खोजीमा लम्किरहेका छन्। कतिले आफ्नो जन्मभूमिलाई विदेशमा चिनाउनका निम्ति अथक प्रयास गरिरहेका छन्।

त्यस्तै प्रयासहरूमध्ये एउटा हो, कटेरो होमस्टे, जसले अहिलेसम्म हजारौँ पाहुनालाई बास दिएर नेपालका परिकारको स्वाद चखाएको मात्र छैन, नेपाललाई संसारभर चिनाएको पनि छ।

अफ्रिकादेखि अरबसम्मका विवाहित जोडीहरू, रसियादेखि अमेरिका सम्मका विद्यार्थीहरू, नर्वेदेखि बेलायतसम्मका रिटायर्ड प्रोफेसरहरू, अनि जापानदेखि चीनसम्मका प्रेमिल जोडीहरू पोर्चुगलमा रहेको कटेरो होमस्टे खोज्दै आइपुग्छन्। नेपालकै परिकार खान खोज्छन्, दुई–चार दिनको बसाइ भए पनि नेपाली शैलीकै जीवनयापन बिताउन चाहन्छन्। चम्चाले खानेहरू हातले खान्छन्, सोफामा बस्नेहरू कुन्द्रीमा बस्छन्। पिरोको स्वाद थाहा नपाएकाहरूले डल्ले खुर्सानी टोकेर रातोपिरो हुन्छन्। दाल–भात तरकारी त भयो नै, म:म: र खसीको सेकुवा खान बिर्सँदैनन्।

कटेरो होमस्टेको शुरूआत निकै रोचक छ। कोरोनाकालमा पोर्चुगलको पर्यटन व्यवसाय निकै धरासायी भयो, जसले नेपाली समुदायका व्यापारी र कामदारहरूलाई पनि निकै प्रभावित पार्‍यो। कोरोनाको कहरले पर्वतमा जन्मिएर डेनमार्क हुँदै पोर्चुगल आइपुगेका पत्रकार रमेशराज बास्तोलालाई पनि नराम्ररी खिलबन्दीमा पार्‍यो। घुमघाम पोर्चुगल नामक फेसबुक पेजमार्फत सूचना दिएर नेपाली तथा विदेशी पर्यटकलाई पोर्चुगलका रमाइला गाउँ र शहर घुमाउने गाइडको काम गरिरहेका बास्तोलालाई एकदिन नर्वेबाट आएकी प्रोफेसरले भनिन्,  'म पनि तपाईंको घरमा गएर बस्छु, होटलमा बस्न मनै छैन।'

null

श्रीमती र एक नवजात छोरासँग लिस्बनमा दुखसुख बसिरहेका बास्तोलालाई ती पर्यटकको आग्रहले अक्क न बक्क पार्‍यो। हुन्छ भन्न पनि सकेनन्, हुँदैन भन्न पनि सकेनन्। अनि श्रीमतीलाई फोन गरेर सोधे, 'एकजना पर्यटकले हामीसँगै घरमा दुई–चार दिन बस्छु भन्छिन्, के गरौँ?' उनको प्रस्ताव सुन्नासाथ श्रीमती बिन्द्रालाई नेपालको धेरै ठाउँमा सञ्चालित होमस्टेहरूको याद आयो। पुनहिल, सिरुबारी लगायतका होमस्टेको बारेमा उनलाई जानकारी थियो। उनले भनिन्, 'हुन्छ, होमस्टे जस्तो हुन्छ, पर्यटकलाई ल्याउनुहोस्। अब हाम्रो निवास कटेरो होमस्टे हुन्छ।'

त्यस दिनदेखि कटेरो होमस्टेले पछाडि फर्केर हेर्नु परेको छैन। पोर्चुगलका मुख्य शहरहरू लिस्बन, फारो, पोर्तो लगायतका पर्यटकिय क्षेत्रमा बास्तोलाले करिब ९ करोड नेपाली रुपैयाँ बराबरको लगानीमा एक दर्जनभन्दा बढी कटेरो होमस्टे सञ्चालन गर्दै आएका छन्। कटेरो होमस्टेलाई नेपालमा पनि विस्तार गर्न हालसालै सुदूरपश्चिमका रमणीय स्थानहरूमा २२ रोपनीभन्दा बढी जग्गा खरिद गरेका छन्। आफ्नै जन्मस्थान पर्वतमा पनि कटेरो होमस्टेको शाखा खोल्ने योजना बनाएका छन्।

बास्तोला भन्छन्, 'पोर्चुगल घुम्न आएर हाम्रोमा बास बस्ने पर्यटकमध्ये हाम्रो सिफारिस र अनुरोधमा सयौँ पर्यटक नेपाल भ्रमणमा गैसके, तर होटलहरूले पैसा लुट्नेबाहेक अरू काम गरेनन्। धेरै पर्यटकले चित्त दुखाउँछन्।' बास्तोला थप्छन्,'सबै पर्यटकसँग पैसा हुँदैन, खैरे भनेसँगै डलरको भारी बोकेर हिँड्दैनन्। अब हामी कटेरो होमस्टे नेपालमा पनि खोल्छौँ।'

null

अमेरिकाको कोलोराडोबाट चौथोपटक लिस्बन आइपुगेका प्रोफेसर रिचार्ड ब्रोन हरेक पटक कटेरो होमस्टेमै बस्छन्। यसपालिको समरको बिदामा पनि उनी कटेरोमै आइपुगेका छन्। उनी भन्छन्, 'कलेज पढ्ने बेलामा नेपाल घुम्न गएको थिएँ, बन्दिपुरमा बसेको थिएँ, आज लिस्बनमा पनि बन्दिपुरको झल्को दिने गरी बस्न पाएको छु, नेपाली खाना दाल–भात खान पाएको छु, ब्रोन थप्छन्, 'नेपालीहरू धेरै मेहनती हुन्छन्। अमेरिकामा पनि बेलाबेलामा खसीको भुटुवा खान नेपाली रेस्टुरेन्ट जान्छु। तर यहाँ जस्तो नेपाली शैलीको होमस्टे सायद छैन होला।'

शुरूमा होमस्टेको प्रचार गर्न बास्तोलालाई सजिलो थिएन। स्थानीय मिडियाले कभरेज गरे पनि त्यो पर्याप्त थिएन। बास्तोला भन्छन्, 'यो होमस्टे भनेको मान्छेले मान्छे तान्ने कुरा रहेछ। आजभोलि जो–जो आउँछन्, तिनीहरू पुरानो पाहुनाको सिफारिसमा आउँछन्। कतिसम्म भने आफ्नै घरझैँ ठानेर ढोका ढकढक गर्न आउँछन्।' केही महिना अघि रसियाकी एक पत्रकार पनि त्यसैगरी आएको उनको भनाइ छ।

null

प्रायः युरोप, अमेरिका, युकेलगायत देशबाट होमस्टेमा बस्न आउनेलाई भ्याएसम्म बास्तोला आफैं स्वागत गर्छन्। नेपाली परिकारको बारेमा बताउँछन्। मात्र होइन, नेपाल घुम्न जान पनि प्रेरित गर्छन्। हालसम्म उनको सिफारिस मानेर दुई सयभन्दा बढी युरोपियन र अमेरिकन नेपाल भ्रमणमा गैसकेका छन्। नेपालको होमस्टेको चाँजोपाँजो पनि बास्तोलाले आफैं मिलाइदिन्छन्।

null

केही महिनाअघि दक्षिण भारतबाट एक विद्यार्थी पोर्चुगल भ्रमणमा आएकी थिइन्। उनले भारतमा हुँदा नेपालको बारेमा धेरै कुरा सुनेकी थिइन् तर यस्तै छ भन्ने अनुभव भने पाएकी थिइनन्। फारो क्षेत्रको कटेरो होमस्टेमा बसेपछि उनले नेपालको कला, संस्कृति, खाना, हिमाल, पर्यटकिय क्षेत्र लगायत धेरै कुरा थाहा पाइन्।कटेरो होमस्टेका एक सहयोगी भन्छन्, 'ती विद्यार्थी अहिलेसम्म पाँचचोटि नेपाल गइसकेकी छिन्।'

नेपाली कटेरो होमस्टेमा खासगरी रिटायर्ड कर्मचारी, विद्यार्थी र प्रेम जोडीहरू आउने गर्छन्। पाहुनाको उमेर, जागिर र व्यवहार हेरेर मूल्य छुट पनि हुने गर्दछ। गत हप्ता डेनमार्कबाट आएको ९ जनाको विद्यार्थी टोलीलाई होमस्टेमा दुई दिनको खाना फ्री उपलब्ध भयो। 'होमस्टेको बारेमा खासै थाहा थिएन, तर यो नौलो लाग्यो। आफ्नै घरझैँ लागिरहेको छ। निशुल्क नेपाली खानेकुरा पनि पाइयो। अब म डेनमार्क फर्केर नेपाली रेस्टुरेन्टमा खसीको मासु र भात खान जान्छु,' तिनैमध्येका एक विद्यार्थीले भने । 

null

यहाँ जोड्न खोजिएको के हो भने, विदेशमा नेपाललाई झल्काउने नाम भएका होटल वा होस्टेल त भेटिन्छन्, तर नेपाली शैलीको होमस्टे भने निकै कम छन्। कटेरो होमस्टेमा पाहुनाका लागि ग्यासमा खाना पक्दैन, दाउराको आगोमा पाक्छ। विदेशी खाना पक्दैनन्, विदेशी धुन बज्दैनन्।

विदेशीहरू रमाएर नेपाली दाल–भात तरकारी खान्छन्, खसीको भुटुवा खान्छन्, नेपाली सबै परिकारको स्वाद लिन्छन्। त्यसपछि मादल बजाउँछन्, सारंगी रेट्छन्, सनई बजाउँछन्। पर्यटकहरू नेपाली खाना खान्छन् र नेपाली धुनमा नाच्छन्। पुरै नेपाली शैली र झल्को दिने गरी। यो निकै ठूलो मेहनतबाट मात्र सम्भव छ।

null

लिस्बनमा सञ्चालित घुमघाम पोर्चुगल को होमस्टेमा पाहुनाले आफैं नेपाली परिकार पकाएर खान सक्छन्, नेपाली भान्साको सुवास अनुभव गर्न सक्छन्, र साँझमा नेपाली बाजा बजाउँदै रमाइलो गर्न सक्छन्। बास्तोलाले कटेरो होमस्टेसँगै घुमघाम पोर्चुगल टुर–ट्राभल्स पनि सञ्चालन गरेका छन्। कटेरो होमस्टे र घुमघाम पोर्चुगलको सफलतामा रमेशराज बास्तोलाकी श्रीमती बिन्द्रा बास्तोलाको भूमिकालाई बिर्सन सकिँदैन। दुई सन्तानकी आमा भएर पनि उनले पर्यटन र होमस्टेको हरेक तयारीमा निरन्तर साथ दिएकी छन्। पाहुनाको स्वागतदेखि खानपानको व्यवस्था, सांस्कृतिक कार्यक्रमको तालमेलदेखि सजावटसम्म सबैमा उनको चाँजोपाँजोले यो परियोजना अझ आत्मीय र व्यवस्थित बनेको छ।

null

पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायले विगत केही वर्षयता सांस्कृतिक र सामाजिक गतिविधिमा सक्रिय भूमिका खेलेको छ। तीमध्ये विशेष उल्लेखनीय पहल हो घुमघाम पोर्चुगल, जुन फेसबुक पेजमार्फत सुरु भए पनि अहिले नेपाली समुदायमा पर्यटकीय अभियानको प्रतीक बनेको छ। शुरुआतमा यो अभियान केवल फेसबुक पेजको रूपमा थियो। बास्तोलाले पोर्चुगलका सुन्दर ग्रामीण क्षेत्रका तस्बिर र जानकारी पोस्ट गर्न थाले। नेपाली समुदायको चासो र सहभागिताले गर्दा यो पेज छिट्टै लोकप्रिय भयो, र यसले प्रत्यक्ष भ्रमणको कार्यक्रम शुरू गर्‍यो।

घुमघाम पोर्चुगल का यात्राहरू केवल शहर वा प्रसिद्ध समुद्रकिनारामा सीमित छैनन्। यसले ग्रामीण भेगको प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा र स्थानीय संस्कृतिलाई प्राथमिकता दिन्छ। यसले नेपाली समुदायलाई पोर्चुगलको वास्तविक रूप चिन्न मद्दत पुर्‍याएको छ। यस अभियानको विशेषता भनेको नियमितता हो। हरेक हप्ता नयाँ गन्तव्य रोजेर नेपाली यात्रुहरूको समूह विभिन्न ठाउँमा लैजाने परम्परा बनिसकेको छ। यसले समुदायमा भेटघाट र आपसी सम्बन्ध मजबुत बनाउन मद्दत गरेको छ।

null

नेपालबाट आएका ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता दिइन्छ। घुमघाम पोर्चुगल ले उनीहरूलाई निःशुल्क भ्रमणको सुविधा दिँदै आएको छ, जसले वृद्धावस्थामा नयाँ अनुभव र आनन्दको अवसर दिएको छ। यो अभियानले केवल पर्यटन मात्र होइन, सामुदायिक एकताको उदाहरण पनि प्रस्तुत गरेको छ। भ्रमणका क्रममा मानिसबीच आपसी सहयोग, सांस्कृतिक आदान–प्रदान र आत्मीयता बढेको छ। पोर्चुगलका ग्रामीण क्षेत्रका होटेल, रेस्टुरेन्ट, साना पसल र हस्तकला व्यवसायलाई पनि यस अभियानले प्रत्यक्ष फाइदा पुर्‍याएको छ। विदेशी मात्र नभई नेपालीहरू पनि पोर्चुगलका ग्रामीण गाउँहरूमा पर्यटक बनेर घुमघाम गर्न थालेका छन्।

salt training

कमेन्ट गर्नुहोस्