
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दिनमै ठगीका दर्जनौं उजुरीमाथि अनुसन्धान गर्छ ।
तर, आफ्नै प्रहरी सहायक निरीक्षक (असई) विनोद पौडेलले प्रहरी नायब निरीक्षक (सई)सहित दर्जनौं कर्मचारीको करोडौं रुपैयाँ ठगेर फरार हुँदा समेत पक्राउ गर्न सकेको छैन ।
गत वैशाखदेखि फरार असई पौडेलले घर बनाउने, आमाको उपचार गर्ने र जग्गा खरिद गर्ने नाममा आफ्नै साथी र उपल्लो दर्जाका प्रहरी अधिकृतसँग रकम मागेका थिए ।
अनुसन्धान कार्यालय स्रोतका अनुसार त्रिपुरेश्वर दंगा नियन्त्रणमा दरबन्दी रहेका हवल्दार भोलाकाजी भण्डारीको तीन लाख, अनुसन्धान कार्यालयको सञ्चारमा कार्यरत सहायक हवल्दार दिवाकर फुँयालको ६ लाख, अनुसन्धान कार्यालयकै लेखा शाखाका तत्कालीन सहायक हवल्दार गंगालाल श्रेष्ठको २१ लाख र सहायक हवल्दार मनिराज उप्रेतीको ३० लाख रुपैयाँ लिएर उनी फरार भएका छन् ।
त्यस्तै, पौडेलले सुन्धारा कारागारमा कार्यरत सई हस्तबहादुर शाहीको ८ लाख रुपैयाँ ठगी गरेका छन् । यसरी ठगिनेमा अन्य प्रहरी अधिकृत तथा जवानहरू समेत छन् ।
असई पौडेलले विभिन्न नाममा पैसा सापटी लिए पनि अनलाइन जुवा (बेटिङ) खेल्दै आएका थिए । उनले अधिकांशलाई २० देखि २५ प्रतिशत ब्याज दिने भन्दै पैसा सापटी लिएका थिए ।
अहिले पौडेल फरार भएपछि अधिकांश बहालवाला प्रहरी कर्मचारी पछुतो मानिरहेका छन् ।
पीडितमध्येका एक जनाले लोकान्तरसँग भने, ‘साथी त हो नि, दिइहाल्छ भनेर पैसा दिइयो, एकाएक फरार भयो । पौडेललाई पक्राउ गरी गुमेको रकम फिर्ता दिलाई पाऊँ भनेर हामी केही साथी मिली मातहतमा रिपोर्ट पनि गर्यौं, तर अहिलेसम्म केही उपलब्धि भएन ।’
उनका अनुसार पौडेलले अनुसन्धान कार्यालयका प्रहरी कर्मचारीबाटै डेढ करोड रुपैयाँभन्दा बढी ठगी गरेका छन् ।
अर्का पीडितका अनुसार ब्याज भन्दै पौडेलले केही रकम दिँदै पनि आएका थिए । तर, शंका लागेर सावाँ माग्न खोज्दा उनी फरार भइसकेको उनले बताए ।
त्यसबाहेक उनले सर्वसाधारणबाट समेत पौडेलले करोडौं रुपैयाँ ऋण लिएर सम्पर्कविहीन भएको उजुरी जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरमा समेत परेको छ ।
उजुरीकै आधारमा पौडेलविरुद्ध तीनवटै जिल्लाबाट पक्राउ पुर्जी समेत जारी भएको स्रोतले बतायो । पौडेल भारत हुँदै दुबई गएको आशंका प्रहरीको छ ।
अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यका अनुसार फरार असई पौडेललाई हाजिरी गयलमा बर्खास्तीका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालयमा पत्र पठाइएको छ ।
‘हाम्रो स्टाफकै पैसा सापटी लिएर फरार भएपछि पौडेलको खोजीनीति पनि भयो, तर उनी भेटिएनन्,’ एसपी आचार्यले लोकान्तरसँग भने, ‘वैशाखदेखि हाजिरी गयल देखिएपछि विभागीय कारबाहीस्वरूप उनलाई बर्खास्त गर्न उपत्यका प्रहरी कार्यालयमा पत्राचार गरेका छौं ।’
पौडेलले सापटी लिएको रकम अनलाइन जुवामा हारे वा जिते भन्ने सम्बन्धमा अनुसन्धान कार्यालय अनभिज्ञ छ ।