
प्रतिनिधि सभाअन्तर्गतका दुई संसदीय समितिहरूले मंगलबार आ–आफ्ना बैठक बस्दै छन्। दुवै समितिले दुई–दुई कार्यसूची तय गरेका छन्।
संघीय संसद सचिवालयद्वारा प्रकाशित सूचनाअनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको सतहत्तरौं बैठक मंगलबार दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सम्बन्धी दफावार छलफल गर्ने तथा विविध विषयमा छलफल गर्ने एजेण्डा राखिएको छ।
यस्तै, अर्थ समितिको बैठक पनि मंगलबार दिउँसो ३ बजे संघीय संसद सचिवालयको भवन नं. १ मा बस्नेछ। उक्त बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने र विविध विषयमा छलफल गर्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।