१६ असार २०८३, मंगलबार
खेलकुदको नेतृत्वदायी निकायको दुर्दशा

वार्षिक उत्सव मनाउन प्रायोजक खोज्दै राखेप, खेलाडी सम्मानका लागि समेत छैन पैसा

भदौ ५, २०८२
काठमाडौं
वार्षिक उत्सव मनाउन प्रायोजक खोज्दै राखेप, खेलाडी सम्मानका लागि समेत छैन पैसा

नेपाली खेलकुदको नेतृत्वदायी निकाय हो, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ।

राखेपले हरेक वर्ष भदौ १३ गते आफ्नो वार्षिकोत्सव मनाउँदै आएको छ । यो वर्ष पनि राखेपले आफ्नो ६२औं वार्षिकोत्सव मनाउने तयारी गरिरहेको छ । यसका लागि राखेपले तयारी पनि अगाडि बढाइसकेको छ ।

राखेपले खेलकुद विकास विभागका प्रमुख सरोज पोखरेलको संयोजकत्वमा मूल तयारी समिति गठन गरेको छ । वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो समेत दिइसकेको छ । प्रधानमन्त्री राखेपको संरक्षक पनि हुन् ।

तर, यसपटक राखेपका लागि वार्षिकोत्सव मनाउनु ‘फलामको चिउरा चपाउनु’सरह बनेको छ । सुन्दा अचम्म लाग्न सक्छ, निकै पुरानो र सशक्त सरकारी निकाय भएर पनि राखेप आफ्नो वार्षिकोत्सव मनाउन प्रायोजकको खोजीमा भौंतारिइरहेको छ ।

आर्थिक समस्याका कारण राखेप आफ्नो वार्षिकोत्सव मनाउन प्रायोजकको खोजीमा जुटेको राखेपका एक अधिकारीले बताए । उनका अनुसार, दुईवटा कारणले राखेप आफ्नै वार्षिकोत्सव मनाउन पनि प्रायोजकको शरणमा पर्नुपर्ने अवस्था सिर्जना भएको हो ।

खासमा, राखेपले २०७९ सालदेखि आफ्नो वार्षिकोत्सवमा वर्षभरि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्दै आएको छ । यसका अतिरिक्त, उत्कृष्ट नतिजा दिने खेल संघ र सञ्चारकर्मीलाई पनि नगदसहित सम्मान गर्ने गरेको छ । वार्षिकोत्सवमा राखेपले उत्कृष्ट काम गर्ने कर्मचारीलाई पनि नगदसहित सम्मान गर्ने गरेको छ ।

तर, यसपटक सर्वोत्कृष्ट खेलाडी, खेल संघ र सञ्चारकर्मीलाई नगद पुरस्कारसहित सम्मानित गर्न पनि राखेपलाई आर्थिक समस्या परेको छ । यसको पहिलो कारण, बजेटमा गरिएको भारी कटौती हो । यसअघि राखेपलाई वार्षिकोत्सवका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन हुने गरेको थियो ।

तर, यसपटक त्यो बजेटमा भारी कटौती गरेर केवल नौ लाख रुपैयाँमा झारिएको जानकारी ती खेल अधिकारीले लोकान्तरलाई दिए । ‘हामीले बजेट बनाउँदा वार्षिकोत्सवका लागि पनि रकम उल्लेख गरेर पठाएका थियौँ । यसअघि ३० लाख रुपैयाँ प्राप्त हुँदै आएको थियो । तर, यसपटक केवल नौ लाख रुपैयाँ बजेट विनियोजन भएर आएको छ,’ ती अधिकारीले भने ।

राखेपले आफ्नो वार्षिकोत्सवमा खेलकुद क्षेत्रमा उत्कृष्ट काम गर्ने एक स्थानीय तह र विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्न सहयोग पुर्‍याउने एक प्रायोजकलाई पनि सम्मान गर्दै आएको छ । तर, स्थानीय तह र प्रायोजकलाई भने नगद पुरस्कार प्रदान गरिँदैन ।

राखेपले उत्कृष्ट प्रदर्शन गर्ने एक पुरुष र एक महिला खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने गरेको छ । तीन जना जुनियर खेलाडीलाई जनही ५० हजार रुपैयाँ प्रदान गर्ने गरेको छ । खेल संघलाई पनि एक लाख रुपैयाँबाट सम्मान गर्दै आएको छ ।

यसैगरी, दुईजना सञ्चारकर्मीलाई जनही २० हजार रुपैयाँ तथा आठ उत्कृष्ट कर्मचारीलाई विभिन्न विधामा क्रमश: २५ हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने गरेको छ । तर, यसपटक नगद पुरस्कारका लागि बजेट अभाव भएको ती अधिकारी बताउँछन् ।

राखेपले वार्षिकोत्सव मनाउन प्रायोजक गुहार्नुको अर्को कारण हो, लेखा परीक्षणका क्रममा आएको बेरुजू । अघिल्लो वर्ष खेलाडी, खेल संघ र सञ्चारकर्मीलाई प्रदान गरिएको नगद पुरस्कार राशिलाई लेखा परीक्षकले ‘बेरुजू’ शीर्षकमा राखेका छन् ।

नेपाली खेलकुदलाई निर्देशन गर्ने कुनै पनि ऐन–कानूनमा राखेपले खेलाडी, खेल संघ र सञ्चारकर्मीलाई नगद पुरस्कारले सम्मान गर्ने प्रावधान समेटिएको छैन । राखेप कर्मचारी सेवा–शर्त नियमावलीले भने कर्मचारीलाई नगदसहित सम्मानित गर्ने प्रावधानलाई समेटेको छ । त्यसैले कर्मचारीलाई प्रदान गरिएको नगद पुरस्कार ‘बेरुजू’ शीर्षकमा परेको छैन ।  

‘समग्र नेपाली खेलकुद सञ्चालन गर्ने कार्यकारी निकाय भएर पनि राखेप आफैंले खेलाडी र खेल संघलाई नगदसहित सम्मान गर्न नपाउनु विडम्बना हो । यस्ता पुरस्कारले खेलाडीको मनोबल बढाउन मद्दत गर्छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ,’ राखेप कर्मचारी संघका महासचिव कुमार बस्नेतले भने । अन्य वैकल्पिक स्रोत खोजेर भए पनि राखेपले वार्षिकोत्सवमा खेलाडी र खेल संघलाई पुरस्कृत गर्नुपर्ने उनी बताउँछन् ।

यिनै समस्याका कारण राखेप आफ्नो ६२औं वार्षिकोत्सव मनाउन प्रायोजकको खोजीमा जुटेको बताइएको छ । राखेप स्रोतका अनुसार, वार्षिकोत्सव कार्यक्रमका लागि आर्थिक सहयोग माग गर्दै राखेपले कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई पत्र पठाएको छ ।

‘कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकमा पत्र पठाइसकिएको छ । सकारात्मक जवाफ पनि आएको छ । तर, अहिलेसम्म अन्तिम टुंगो लागिसकेको छैन,’ राखेप स्रोतले भन्यो ।

salt training

कमेन्ट गर्नुहोस्