
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको पूरै ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको बताएका छन् ।
नेकपा एमाले मधेश प्रदेशले विधान संशोधनका लागि महोत्तरीको बर्दिबासमा आयोजना गरेको सुझाव संकलन बैठकमा बोल्दै महासचिव पोखरेलले विधान महाधिवेशनमा विधान संशोधनका लागि केन्द्रको प्रस्ताव तलसम्म पठाइसकिएकोले त्यसमा आवश्यक सुझाव दिन आग्रह गरे ।
पार्टीमा उमेरहद, कार्यकाल र पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्कने कि नफर्कने भन्ने विषय पार्टीले टुङ्ग्याइसकेकोले अब त्यसमा बहस आवश्यक नरहेको उनको भनाइ छ ।
अब नेकपा एमालेको राष्ट्रिय गन्तव्य समृद्ध नेपाल सुखी नेपाली भएको पोखरेलले बताए । अब यो पार्टीका आकांक्षा मात्र होइन लक्ष्य बन्नु पर्नेमा उनले जोड दिए ।
मुख्य नेतृत्वको वरिपरि सबै केन्द्रित रहनु पर्ने बताउँदै उनले बहुपदीयको अर्थ बहुगुट हुनु नभएको सुनाए । पार्टीको नीति र कार्यक्रमप्रति सबैको प्रतिबद्धता तथा नेतृत्वप्रतिको अधीनस्थताले पार्टीलाई बलियो बनाउने उनको भनाइ छ ।
पार्टीलाई बहुसंख्यक जनताको माझमा पुर्याउन पार्टीमा दुई खालका सदस्यताको प्रस्ताव ल्याइएको पोखरेलले बताए । ‘चुनावका बेलामा काम नलाग्ने, नेता कार्यकर्ताको कुनै अर्थ छैन, अघिपछि एमाले हुने, चुनावको बेलामा कता भोट हाल्छ भन्ने ठेगान नहुने नेता कार्यकर्ताको के अर्थ ?’, उनले भने ।
अहिले पार्टी र नेतृत्वविरुद्ध चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको पोखरेल बताउँछन् । पार्टीभित्रबाट नभएर पार्टी बाहिरकाले पार्टीको विरोध गरिरहेको उनको जिकिर छ ।
‘एमालेको सबैभन्दा चर्को विरोध नेकपा एमाले देशभक्त भएको मन नपराउनेले गरिरहेका छन्’, उनले भने ।
मधेश बनाउनको लागि मधेश प्रदेश र मधेशका स्थानीय तहमा एमाले नेतृत्वको सरकार आवश्यक रहेको उनको भनाइ छ । ‘केन्द्र सरकार र प्रदेश सरकारले मात्र पुग्दैन, तपाईंहरू सबै नेता जुटे चुनाव जितिन्छ, जुटे जितिन्छ, फुटे हारिन्छ’, पोखरेलले भने ।
मिसन २०८४ लाई केन्द्रित गरी पार्टीको अभियान अघि बढ्ने महासचिव पोखरेलले स्पष्ट पारे ।
लोकप्रिय हुनुको अर्थ राजनीतिमा सफल हुनु नभएको उनको भनाइ छ । राजनीति लोकप्रियताले मात्र चल्ने नभई विचार, सिद्धान्त र आदर्शबाट चल्ने पोखरेल बताउँछन् ।
लोकप्रियताका माध्यमबाट चर्चामा आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति ठगीमा संलग्न भएकै कारण जेलमा पुगेको पोखरेलको दाबी छ ।