
भिजिट भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न रहेको आरोपमा तीन इन्डोनेसियाली महिलालाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ ।
उनीहरूमाथि मुस्लिम धर्मको प्रचार गरेको आरोप छ । पक्राउ पर्नेमा मघफिरह फजिरा जाफ्नी अब्लिजेर, मेनेङ सिटी मास्पुह र तरिस्या आनन्दा तौफिक रहेका छन् ।
विभागका अनुसार पक्राउ परेका मध्येकी एक जना सन् २०२४ मा नेपाल प्रवेश गरेको देखिन्छ । उनले ललितपुरको धोबिघाटमा मुस्लिम धर्म प्रचारसँग सम्बन्धित संस्था हिमालय शिक्षा तथा हितेशी समाजमा गर्ल्स होस्टेल राखेर टर्किस र कुरान भाषा सिकाउँदै आएको विभागले जनाएको छ ।
‘तीन जना इन्डोनेसियाका महिलाहरूलाई शिक्षकको रूपमा राखी टर्किस र कुरान भाषा सिकाउने र मुस्लिम धर्मको प्रचारप्रसार गर्ने गरेको पाइयो,’ विभागका एक अधिकृतले भने,‘धर्म प्रचारका लागि प्रत्येक वर्ष टर्किबाट दुई करोड ५० लाख रूपैयाँ उनीहरूलाई प्राप्त हुँदै आएको देखियो ।’
इन्डोनेसियाका ती महिलामध्ये एकले पर्यटक भिसा र अन्य दुईले अध्ययन भिसा लिएका छन् । उक्त होस्टेलमा करिब ५० जना छात्रालाई कुरान पढाइराखेका बखत अध्यागमन विभागका निर्देशकसमेतको टोलीले नियन्त्रणमा लिएको हो ।
छात्राहरू अन्य शैक्षिक संस्थामा अध्ययन गरेको देखिएको छैन । विभागका अनुसार उनीहरूले ललितपुरकै ज्वागलमा समेत ब्वाइज होस्टेलसमेत राखी विभिन्न जिल्लाका व्यक्तिलाई कुरान पढाउने एवं धर्मको प्रचारप्रसार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नेपालमा पर्यटक भिसामा बसेको विदेशी नागरिकले काम गर्ने भए वर्किङ भिसा लिएको हुनुपर्छ ।
अध्यागमन ऐन, २०४९ को दफा ६ मा विदेशीको प्रवेश, उपस्थिति र प्रस्थानसँग सम्बन्धित लिखत अध्यागमन अधिकृत वा महानिर्देशकले तोकेको कर्मचारीले जुनसुकै स्थान र समयमा जाँच गर्न सक्ने र कब्जामा लिन सक्ने व्यवस्था छ ।
अध्यागमन नियमावली, २०५१ मा पर्यटक भिसामा बसेको विदेशी नागरिक र परिवारको सदस्यले कुनै उद्योग, व्यापार, व्यवसाय वा संस्था काम गर्न नपाउने व्यवस्था छ ।
यसैगरी विदेशीले जुन उद्देश्यका लागि भिसा प्राप्त गरेको हो सो बाहेक अन्य काम गर्न पाइने छैन भन्ने व्यवस्था छ । यसरी गैरकानूनी रूपले बसेका विदेशीलाई अनुसन्धानपश्चात् महानिर्देशकले ५० हजार रूपैयाँसम्म जरिवाना गर्ने र अवधि तोकी वा नतोकी नेपाल पुन: प्रवेश गर्न नपाउने गरी निष्काशन गर्ने कानूनी व्यवस्था छ ।
नेपालमा भिसाको उद्देश्य विपरीत बसेका वा शंकास्पद गतिविधिमा संलग्न विदेशी नागरिकलाई नियन्त्रणमा लिई अध्यागमन कानून बमोजिम कारबाही गरिने विभागले जनाएको छ ।
विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार विभागले गएको चार/पाँच दिनदेखि अनुगमन गरेको थियो । सूक्ष्म निगरानीका क्रममा विदेशी नगारिकले नेपालमा स्वीकृति नै नलिई धमाधम धर्म प्रचार गरिएको भेटिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जानकारी तिवारीले दिए ।
‘विदेशीहरूले नेपालमा स्वीकृति नै नलिई धमाधम अवैध काम गरिरहेको सूचना आएपछि हामीले निगरानीपश्चात नियन्त्रणमा लिएका हौं’, तिवारीले भने ।