२२ असार २०८३, सोमबार

हिन्दुस्तान टाइम्सको सम्पादकीय : नेपालमा चीनको प्रभाव घटाउन भारतले ओलीसँग मिलेर काम गर्नुपर्छ

मंसिर २६, २०७४
हिन्दुस्तान टाइम्सको सम्पादकीय : नेपालमा चीनको प्रभाव घटाउन भारतले ओलीसँग मिलेर काम गर्नुपर्छ

काठमाडौं, २६ मंसिर — भारतको प्रभावशाली अंग्रेजी पत्रिका हिन्दुस्तान टाइम्सको मंगलवार प्रकाशित सम्पादकीयमा नेपालको वाम गठबन्धनले सरकार बनाउने सुनिश्चित भएपछि देशमा अब स्थिर सरकार बन्ने टिप्पणी गरिएको छ । 

सम्पादकीयमा लेखिएको छ :

महाभूकम्पपछि भ्रष्टाचार, आर्थिक वृद्धिको अभाव र विनाशको सामना गरेको नेपालका लागि यो राम्रो खबर हो । तर यसले भारतलाई धेरै असहज बनाएको छ । 

नयाँ दिल्लीसँग राम्रो सम्बन्ध नभएका र चीननिकट मानिने केपी ओली प्रधानमन्त्री बन्ने सम्भावना रहँदा नेपालको भूरणनीतिक नीतिमा परिवर्तन आउनसक्ने देखिन्छ । 

नेपाल अहिले भारत र चीनबीच मध्यवर्ती इलाकाका रूपमा रहेको छ तर खुला सिमानाका कारण उसको झुकाव जहिले पनि भारततर्फ छ । वास्तवमा महाभूकम्पपछि भारतले २४ घन्टाभित्र मानवीय तथा बन्दोबस्ती सहयोग उपलब्ध गराएको थियो । 

नेपाल मात्र त्यस्तो देश हो जसका नागरिकले भारतीय सेनामा भर्ती हुन पाउँछन् । 

तर भूकम्पपछि कमाएको सुभावना भारतले नाकाबन्दी लगाएर गुमायो । नेपालको नयाँ संविधानमा मधेशी लगायतका निश्चित समुदायको पर्याप्त प्रतिनिधित्व नभएको भन्दै भारतले असन्तुष्टि व्यक्त गर्दै नाकाबन्दी लगायो । 

अहिले वाम गठबन्धनले जीत हासिल गर्दा भारतले संकेतहरू राम्ररी पढ्न नसकेको देखाउँछ । अब भारतले चाहे पनि नचाहे पनि नेपाली राजनीतिमा बेइजिङले ठूलो भूमिका खेल्छ । 

चीनले नेपाललाई आफ्ना बन्दरगाहहरूमा पहुँच दिइसकेको छ र उसले संयुक्त रेल सेवा निर्माणको कुरा चलाइरहेको छ । 

तर सबभन्दा महत्त्वपूर्ण कदम भनेको चीनले नेपाललाई तेल आपूर्ति गर्नु हो । अहिलेसम्म नेपालमा तेल भारतबाट मात्र आउने गरेको थियो । 

नेपालसँग कूटनीतिक सम्बन्ध थप जटिल हुने यसले देखाउँछ । त्यसैले भारतले अब नयाँ सरकारसँग विकास निर्माणमा काम गर्न इच्छाशक्ति देखाउनुपर्छ र उसको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको देखाउनुहुँदैन । 

भारतमा काम गर्ने लाखौं नेपालीहरूका लागि नेपालले नयाँ दिल्लीसँग सुसम्बन्ध बनाउनु जरूरी हुन्छ । त्यसैले यो कुशल कूटनीतिक कदम चाल्ने समय हो । दिल्लीले नेपालको नयाँ सरकारका चिन्ताहरूलाई सम्बोधन गर्ने इच्छा देखाउनुपर्छ । 

काठमाडौं बेइजिङसँग नजिकिएमा त्यसले भारतमा नकारात्मक परिणामहरू आउँछन् । तिनलाई तत्कालै 'डील' गर्नु जरूरी छ ।

salt training

कमेन्ट गर्नुहोस्