
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका कतिपय नेताहरू दलाल पुँजीवाद, बिचौलिया र चन्दा प्रवृत्तिमा फसिरहेको बताएका छन् । सोही कारणले जनतामा पार्टीप्रतिको भरोसा कमजोर बनेको उल्लेख गर्दै उनले त्यसलाई तत्काल सच्याउनुपर्ने बताए ।
उनले भने, 'हाम्रो पार्टीका कतिपय नेताहरू शान्ति प्रकृयामा आइसकेपछि समाजवादी बन्नुपर्नेमा बिचौलिया टाइपका, दलाल टाइपका बनेका कारण त्यस्तो प्रवृत्तिले पार्टीलाई कमजोर बनाइरहेको छ। अब पार्टीका हरेक सदस्यले सोच र शैली दुवैमा आमूल परिवर्तन गर्नैपर्छ।'
आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न आर्थिक उत्पादन विभागको पहिलो बैठक लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई समाजवादतर्फ रुपान्तरण गर्ने आधार उत्पादन संघर्ष हुने बताएका छन् ।
उनले भने, 'हामी समाजवादको यात्रातर्फ जाँदैछौं भने यसको मूल आधार उत्पादन हो । उत्पादन संघर्षमा सिंगो पार्टी केन्द्रित नभइ समाजवाद सम्भव हुँदैन |'
प्रचण्डले पार्टीलाई समाजवादतर्फ रुपान्तरण गर्ने आधार उत्पादन नै हुने भएकाले पार्टीले उत्पादनको नीति अगाडि बढाएको स्पष्ट गरे ।
उनले हेटौंडा महाधिवेशनले लिएको 'युद्ध होइन, उत्पादन संघर्ष' भन्ने निर्णय कार्यान्वयनमा ल्याउन नसकिएको स्वीकार गर्दै अब पार्टीले जनतासँग प्रत्यक्ष जोडिन, समुदायमा फर्किन र उत्पादनलाई प्राथमिकतामा राख्न अभियान चलाउने बताए ।
अध्यक्ष प्रचण्डले कृषि, उद्योग, जडीबुटी, पर्यटनजस्ता स्थानीय सम्भावनामा आधारित आत्मनिर्भर अर्थतन्त्र समाजवादको भ्रूण हुने बताउँदै सहकारी आन्दोलनलाई पनि जनमुखी र समाजवादी मार्गमा अघि बढाउनुपर्नेमा जोड दिए ।