
परराष्ट्रमन्त्री आरजु राना देउवासँग विपिन जोशीकी आमा र बहिनीले भेट गरेका छन् ।
विपिनका आमा पद्मा र बहिनी पुष्पा जोशी इजरायलबाट फर्केपछि आज सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री राणासँग भेट गरेका हुन् ।
'हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीकी आमा र बहिनीसँग आज परराष्ट्र मन्त्रालयमा भेटेर कुराकानी गरेँ । उहाँहरूले विपिनको रिहाइमा नेपाल सरकारले जारी राखेको पहलका लागि धन्यवाद दिँदै आगामी दिनमा थप प्रयत्न गर्न आग्रह पनि गर्नुभयो,' मन्त्री राणाले भनेकी छिन्, 'परराष्ट्र मन्त्रालयको पहल तथा नेपालस्थित इजरायली राजदूतावासको समन्वय एवं सहयोगमा विपिनकी आमा र बहिनी विपिनको अवस्था बुझ्न र इजरायल सरकारलाई अपिल गर्न इजरायल जानुभएको थियो । इजरायलबाट फर्केपछि आज उहाँहरूले मलाई भेटेर यस विषयमा जानकारी गराउनुभयो ।'
सरकारले विपिनको रिहाइमा गरेका र जारी राखेका कूटनीतिक प्रयत्नका बारेमा जानकारी उनीहरूलाई जानकारी गराएको मन्त्री राणाले जानकारी दिएकी छिन् ।
विपिनको रिहाइका लागि सरकारले आगामी दिनमा थप सशक्त पहल गर्ने उनको प्रतिबद्धता छ ।