
सुनसरी, २६ मंसिर– मंसिर १० र २१ गते गरी दुई चरणमा गरी सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ ।
अब प्रतिनिधिसभातर्फ ५ ठाउँको मात्रै नतिजा आउन बाँकी छ । ५ ठाउँमध्ये सर्लाही क्षेत्र नम्बर ४ मा बाहेक अन्य क्षेत्रमा एमालेको अग्रता छ । सर्लाही ४ मा कांग्रेस उम्मेदवार अमरेश सिंह करिब १ हजार मतले राजपाका राजेश मिश्रभन्दा अगाडि छन् ।
तर सबैभन्दा रोचक प्रतिस्पर्धा सुनसरी ३ मा भइरहेको छ । २० हजार मत गन्न बाँकी हुँदा सोमबार बिहान स्थगित भएको मतगणना मंगलवार मध्याह्नदेखि शुरु भएको छ । र पछिल्लोपटक सार्वजनिक मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार विजय कुमार गच्छदार एमाले उम्मेदवार भगवती चौधरीभन्दा १ सय ६५ मतले पछाडि छन् ।
पछिल्लो मतपरिणामअनुसार एमालेकी चौधरीले ३० हजार ९ सय ९१ मत प्राप्त गरेकी छन् भने गच्छदारले ३० हजार ७ सय ५४ मत प्राप्त गरेका छन् ।