
हरितालिका तिजको दिन मंगलबार पशुपतिनाथ मन्दिर परिसरमा लाग्ने मेलाको सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपालले करिब ७ सय जनशक्ति परिचालन गर्ने भएको छ।
सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार मेलामा स्वास्थ्यकर्मी र एम्बुलेन्ससहितको टोली पनि खटाइनेछ। खटाइनेमध्ये १ सय ५० जना महिला सशस्त्र प्रहरीसमेत रहनेछन्।
पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थी र महिला दिदीबहिनीहरूको सहजताका लागि नं. २० विपद् उद्धार गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीको कमाण्डमा मंगलबार राति २ बजेदेखि ड्युटी सुरु हुनेछ।
त्यसैगरी, पशुपति परिसरमा नायव उपरीक्षकको कमाण्डमा कमाण्ड पोष्ट स्थापना गरिएको छ भने मेलाको सम्पूर्ण कमाण्ड नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालयले गर्नेछ।
थापाका अनुसार उपत्यकास्थित विभिन्न कार्यालयबाट एक सिफ्टमा ३ सयभन्दा बढी सशस्त्र प्रहरी परिचालन हुनेछन्। आवश्यकता अनुसार नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौं, नं. १८ निलबराही गण किर्तिपुर, नं. २० विपद् उद्धार गण सिनामंगल, नं. २१ दक्षिणकाली गण खुमलटार ललितपुर, नं. २२ गुहेश्वरी गण दुवाकोट भक्तपुर र नं. २४ बाघभैरव गुल्म काठमाडौं तयारी अवस्थामा राखिएका छन्।
यसबाहेक, नेपाल एपीएफ अस्पतालको महिला चिकित्सकसहितको टोलीले मेला अवधिभर निःशुल्क स्वास्थ्य सेवा दिनेछ। साथै, नं. २० विपद् उद्धार गण सिनामंगलबाट गोताखोर र विपद् उद्धारकसहितको वाटर रेस्क्यु टोलीलाई राम मन्दिर नजिकै बागमती नदी किनारमा खटाइने व्यवस्था गरिएको छ।