
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सरकारले उखु किसानलाई प्रोत्साहन अनुदान वापतको रकम निकासा गरेको छ । अर्थ मन्त्रालयले यसका लागि ७५ करोड ४९ लाख ३८ हजार २४० निकासा गरेको हो ।
निकासा गरिएको रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत् किसानको बैंक खातामा भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
चार दिनदेखि उखु किसान राजधानीमा आन्दोलनरत छन् ।
००००
यातायात क्षेत्रमा क्रियाशील मजदुर सङ्गठनहरूले पूर्ण तयारी गरेर मात्र ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य गर्न माग गरेका छन् ।
नेपाल यातायात मजदुर सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन र अखिल नेपाल यातायात मजदुर सङ्घले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी पूर्ण तयारी गरेर मात्रै सहुलियत शुल्कमा प्रिन्ट गर्न सकिने वातावरणको विकास गर्दै ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य गर्न माग गरेका हुन् ।
यसैबीच चौतर्फी विरोध भएपछि यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने विषयमा सर्वसाधारणमा रहेको अन्योललाई सम्बोधन गर्दै स्पष्टीकरण दिएको छ ।
विभागले आगामी असोज १ गतेभित्रै इम्बोस्ड प्लेट जडान नगर्ने सवारीलाई तत्काल कुनै किसिमको दण्ड, जरिवाना वा कारबाही नगरिने स्पष्ट पारेको हो ।
तर यातायात व्यवसायीदेखि सर्वसाधारणसम्म यसको विरोध छ ।
००००
त्रिभुवन विश्वविद्यालय (त्रिवि) मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गतका चारवटा केन्द्रीय विभागमा शुल्क समायोजनको माग गर्दै ३४ दिनदेखि जारी विद्यार्थी आन्दोलन शुक्रबार सहमति भएसँगै फिर्ता भएको छ ।
शुल्क शोषणविरुद्ध अनेरास्ववियू क्रान्तिकारी अन्तर्राष्ट्रिय (क्याम्पस) त्रिवि जिल्ला समिति नेतृत्वको आन्दोलनरत पक्ष र विश्वविद्यालय प्रशासनबीच शुक्रबार कीर्तिपुरमा भएको वार्तापछि ४ बुँदे सहमति भएको हो।
००००
धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले बुधबार कार्यपालिका बैठक बोलाएका छन् । दिउँसो २ बजे बस्ने उक्त बैठकमा २७ वटा एजेन्डामाथि छलफल हुने भएको छ ।
००००
विराटनगरमा एक शोकाकुल परिवारमाथि मध्यरातमा साङ्घातिक आक्रमण भएको छ । जसमा आमाको काजकिरियामा बसेका छोरासहित ४ जना घाइते भएका छन् ।
विराटनगर महानगरपालिका–११ पिचरास्थित दुर्गा मन्दिर अगाडि बस्ने ७१ वर्षीय हरिनारायण कामतको परिवारमाथि सोमबार मध्यरातमा आक्रमण भएको हो । केही दिनअघि मात्र जीवनसँगिनी गुमाएका हरिनारायणको परिवार शोकमा डुबेको थियो ।
००००
नेकपा एमालेले भदौ २० देखि २२ गतेसम्म गर्न लागेको विधान महाधिवेशनमा खर्च कटौती गर्न २३९२ प्रतिनिधिलाई दिनको एकपटक मात्रै खाना खुवाउने भएको छ ।
न्यूनतम् खर्चमा महाधिवेशन सम्पन्न गर्न एमालेले एक छाक मात्रै खाना खुवाउने र प्रतिनिधि आफैंले बस्ने प्रबन्ध गर्नुपर्ने व्यवस्था गरेको हो ।
‘हामी सकभर कम खर्चमा विधान महाधिवेशन सम्पन्न गर्ने पक्षमा छौं । यसैले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई बिहानको खाना (एक छाक) मात्र खुवाउने र बस्ने व्यवस्था आफैं गर्नुपर्ने व्यवस्था गरेका छौं,’ एमाले सचिव डा भीष्म अधिकारीले लोकान्तरसँग भने, ‘तीन दिनमा कहिलेकाहीँ बिहानका सेसन चल्दा खाजा खुवाउनेसम्मको व्यवस्था हुन सक्छ । तर, हामी यसपटक खर्च कम गर्ने पक्षमा छौं ।’
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि दुई दिन मात्रै खुवाउँदा धेरै खर्च नलाग्ने बताए ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई आग्रह गरेका छन् ।
राष्ट्रपति पौडेलले जोर्डनका राजालाई मङ्गलबार एक पत्र पठाउँदै जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीका लागि यथाशक्य पहल गरिदिन सो आग्रह गरेका हुन् ।
००००
प्रहरीले सन्तोष राजावादी भनिने सन्तोष कुमार सिलवाललाई पक्राउ गरेको छ ।
काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गर्ने क्रममा धादिङको सिद्धलेख गाउँपालिका(४ घर भई हाल काठमाडौंको कलंकी बस्ने ३५ वर्षीय सिलवाल पक्राउ परेका हुन् ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेको छ ।
मंगलबार नेप्से परिसूचक ४.८३ अंकले बढेर २७६६०९ को विन्दुमा कायम भएको हो ।
००००
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपाने उम्मेदवारी दर्ता गराएकी छिन् ।
पूर्वसभापति रामहरि खतिवडाको प्रस्ताव तथा एमाले सांसद कृष्णगोपाल श्रेष्ठको समर्थनमा न्यौपानेले मंगलबार सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् । एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी छन् ।
००००
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य उपकरण खरिदका लागि बजेटमै नीतिगत भ्रष्टाचार भएको पाइएको छ । निश्चित कम्पनीको उपकरण खरिद गर्न भनी नामै किटेर बजेट छुट्ट्याएको पाइएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, स्वास्थ्य सचिव डा। विकास देवकोटा, बजेट निर्माण गर्ने नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेल तथा सम्बन्धित प्रतिष्ठानका पदाधिकारीहरूको मिलेमतोमा बजेटमा नै निश्चित ब्रान्ड तोकेर नीतिगत भ्रष्टाचार गरेको पाइएको हो ।