२४ असार २०८३, बुधबार

३० रुपैयाँको विवादले उग्ररूप लिँदा क्षणभरमै दुई दाजुभाइको निर्मम हत्या

भदौ ११, २०८२
काठमाडौं
३० रुपैयाँको विवादले उग्ररूप लिँदा क्षणभरमै दुई दाजुभाइको निर्मम हत्या

सामान्य विवादका कारण दुई दाजुभाइको निर्मम हत्या भएको छ । घटना २१ अगस्टको हो । पाकिस्तानको लाहौर नजिकैको रायविन्द शहरमा सामान्य विवादले डरलाग्दो मोड लिँदा दुई दाजुभाइको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ ।

रशिद र वाजिद नाम गरेका दुवै दाजुभाइको हत्या कुनै पारिवारिक झगडा वा लामो समयदेखिको विवादको परिणाम थिएनन् । स्थानीय फलफूल व्यापारीसँग ३० रुपैयाँका लागि विवाद हुँदा दुई दाजुभाइको ज्यान गएको समाचारमा उल्लेख छ । एक जनाको घटनास्थलमै मृत्यु भएको र अर्कोको उपचारको क्रममा ज्यान गएको हो । 

घटना कसरी भयो ?

२१ अगस्टको दिन दूधको व्यवसाय गर्ने राशिद र वाजिद नामका दाजुभाइ आफ्नो पसलमा दूध पुर्‍याएर घर फर्कँदै थिए। बाटोमा उनीहरू फलफूल किन्न रोकिए । त्यही बेला उनीहरूको भेट फलफूल बिक्रेता ओवैस र उसका भाइ तैमूरसँग भयो।

ओवैसले एक दर्जन केलाको मूल्य १३० रुपैयाँ बताए । तर, राशिदले आफ्नो हातमा १०० रुपैयाँ मात्र भएको बताए । उनीसँग बाँकी हजारका नोट थिए । फलफूल बिक्रेताले खुला ३० रुपैयाँ दिनुपर्ने अडान लिए । जुन कुरा राशिद दाजुभाइले मानेनन् । अनि ओवैसले ३० रुपैयाँको कुरा फिर्ता गर्न भने । 

शुरूमा सामान्य देखिएको विवाद छिट्टै भनाभनमा परिणत भयो । त्यसपछि तैमूरले गालीगलौज शुरू गरेको समाचारमा उल्लेख छ । 

यसपछि विवाद बढ्दै हिंसात्मक रूप लियो। आरोपअनुसार ओवैस र तैमूरसहित उनका केही साथीहरूले दुवै दाजुभाइमाथि लाठी र क्रिकेट ब्याट प्रयोग गरेर हमला गरे ।

घटनास्थलमा करिब २५० मानिस उपस्थित रहे पनि कसैले झगडा रोक्ने प्रयास नगरेको, बरू मोबाइलमा भिडियो खिचिरहेको देखिएको परिवारको गुनासो छ ।

मामलामा दर्ता भएको उजुरीका आधारमा प्रहरीले मुख्य आरोपी ओवैस र तैमूरलाई पक्राउ गरिसकेको छ । उनीहरूलाई अनुसन्धान अपराध नियन्त्रण विभाग (सीसीडी)लाई जिम्मा दिइएको छ । 

प्रहरी र परिवारले दुई दाजुभाइको हत्याको कारण केही मिनेटको झगडा र ३० रुपैयाँ भएको बताएको छ।

पीडितका पिता सईद इकबालले आफ्ना दुई छोराको ज्यान जम्मा ३० रुपैयाँमा गएको बताएका छन् । 'मेरो एउटा छोरा १५ रुपैयाँमा मर्‍यो, दुइटा ३० रुपैयाँमा मारिए । कसैले पनि मेरो छोरालाई जसरी मार्‍यो त्यसरी जनावरहरूलाई पनि मार्दैन । एक जना मान्छेले बारम्बार उनीहरूलाई क्रिकेट ब्याटले हिर्काइरह्यो र नजिकै उभिएका मानिसहरूले आफ्नो मोबाइल फोनबाट भिडियो बनाइरहे । यो कस्तो समाज हो ? कसैले पनि यसलाई रोक्ने प्रयास गरेनन् ।'

समाचार अनुसार पहिले दुवै दाजुभाइले मिलेर फलफूल बेच्नेलाई कुटेका थिए । त्यसपछि नजिकैका फलफूल मालिकहरूले फलफूल बेच्नेका भाइहरूलाई बोलाएका थिए । उनीहरू पनि आए र नजिकैका मालिकहरू पनि यसमा सामेल भए, त्यसपछि उनीहरूले दुवै दाजुभाइलाई कुटपिट गरे।

पछि आएका मानिसहरूले दुवै दाजुभाइलाई लाठीले कुटे, जसका कारण उनीहरूको टाउकोमा गम्भीर चोट लाग्यो र दुवैको मृत्यु भयो ।

salt training

कमेन्ट गर्नुहोस्