
अन्य समयमा भन्दा चाडपर्वका बेला अधिकांश मानिसहरूले हवाई भाडा दर फरक भएको गुनासो गर्ने गर्दछन् । नेपालको आन्तरिक हवाई भाडा दर तलमाथि भएको विषय बारम्बार उठ्दै आएको छ । तर, के वास्तवमै नेपालका एयरलाइन्सहरूले हवाई भाडा दर फरक गर्छन् ? हवाई भाडा दर फरक गर्न पाइन्छ ?
नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा दरको विषय हेर्ने गर्दछ । यहाँसम्म कि प्राधिकरणले कुनै पनि एयरलाइन्सले १ पैसा पनि बढी लिएको खण्डमा कारबाही गर्छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३, हवाई भाडा नियमन निर्देशिका २०७३ र नागरिक उड्डयन नियमावली २०५८ मा हवाई भाडा दरसम्बन्धी प्रस्ट व्यवस्था गरिदिएको छ । सोही बमोजिम भाडा दर तोकिएको हुन्छ ।
भाडा दर एक रुपैयाँ पनि घटबढ गर्नका लागि मन्त्रालयमार्फत गर्नुपर्ने हुन्छ । मन्त्रालयबाट स्वीकृति दिएपछि मात्रै भाडा दर घटबढ गर्न सकिन्छ । जुन पछिल्लो पाँच वर्षदेखि नेपालको आन्तरिक भाडा दरमा कुनै हेरफेर नगरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार, पाँच वर्षदेखि भाडा दर घटबढ गरिएको छैन ।
अब प्रश्न आउँछ प्राधिकरणले भाडा दर तलमाथि नगरी चाडपर्व अथवा अत्यधिक चाप भएको समयमा भाडा दर फरक किन र कसरी हुन्छ ?
यस विषयमा बुझ्दा एयरलाइन्सहरूले भाडाको सीमा पाएका हुन्छन् । अर्थात् भाडा दर तोकिँदा अत्यधिक र न्यूनतम उल्लेख गरिएको हुन्छ ।
हवाई भाडाका लागि ४ वटा शीर्षक इन्धन चार्ज, हवाई फेयर, यात्रु सेवा शुल्क तथा भ्याट समेटिएको हुन्छ । जहाँ हवाई भाडाको ३५ देखि ४० प्रतिशतसम्म इन्धन चार्ज जोडिएको हुन्छ ।
त्यस्तै, जहाजको पार्ट पुर्जा, विमानस्थललाई तिर्नुपर्ने शुल्क, कर्मचारी खर्च, विमान कम्पनीले गर्ने तालिमलगायतका शीर्षको खर्च यसमा जोडिएको हुन्छ ।
उदाहरणका लागि काठमाडौंदेखि धनगढीसम्मको भाडा दर ९ हजार ३७७ देखि १७ हजार ८७८ तोकिएको छ । यसमा एयरलाइन्सहरूले यो तोकिएको भाडा दरभन्दा बढी लिन मिल्दैन । यो बीचको रेन्जमा भाडा दर तलमाथि गर्न सकिन्छ ।
अन्य समयमा धनगढीका लागि ७ हजार ९०० पर्ने भाडा दर अत्यधिक चाप हुने समय जस्तै चाडपर्वमा केही बढेको देखिन्छ । त्यसको कारण हो- एकोहोरो उडान ।
चाडपर्वमा काठमाडौंबाट धनगढी जाने यात्रुहरू अत्यधिक हुन्छन् । तर, काठमाडौं फर्कने निकै कम हुन्छन् । त्यसैले भाडा दर दुवैतर्फको मिलाएर फरक गरिएको हुन्छ । तर यो भाडा दर फरक सरकारले तोकेको १७ हजार ८७८ भन्दा बढी गर्न मिल्दैन ।
त्यस्तो गरेमा प्राधिकरणले कारबाही गर्दछ ।