![एससीओ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली चीन प्रस्थान [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/pm_china_visit_3_Nne5D0ESv3.jpg)
प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन् । चिनियाँ राष्ट्रपति सी चिनपिङको निमन्त्रणमा चीन जान लागेका प्रधानमन्त्री ओलीलाई शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकलगायतले बिदाइ गरे ।
सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन चीन प्रस्थान गरेका प्रधानमन्त्री ओली बुधबारसम्म चीनमा रहेछन् ।

एससीओ सम्मेलन १५ र १६ भदौमा उत्तरी चीनको तियान्जिनमा आयोजना हुँदैछ । त्यसको उद्घाटन चिनियाँ राष्ट्रपति सीले गर्दैछन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य मुलुकका सरकार तथा राष्ट्रप्रमुख समेत त्यहाँ उपस्थित हुनेछन् ।

भ्रमणका क्रममा ओलीले विभिन्न मुलुकका नेताहरूसँग समेत भेटवार्ता गर्ने कार्यक्रम छ । ओलीले चीनका राष्ट्रपति सी जिनपिङलाई भेट्ने छन् ।

त्यस्तै, रूसी महासङ्घका राष्ट्रपति भ्लादिमिर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता तय भइसकेको ओलीले प्रतिनिधिसभामा जानकारी गराएका छन् ।

त्यसक्रममा प्रधानमन्त्री ओली जापानी आक्रमणविरुद्ध चीनको प्रतिरोध युद्ध र विश्वव्यापी फासिवादविरोधी युद्धमा विजय प्राप्तिको ८०औं वार्षिकोत्सव कार्यक्रममा समेत सहभागी हुने भनिएको छ ।


