२४ असार २०८३, बुधबार
परिवारै मादल बनाउने पेशामा

सेनाको जागिर छाडेर पाँच दशकदेखि मादल बनाइरहेका हर्कबहादुर आले

भदौ १४, २०८२
बुटवल
सेनाको जागिर छाडेर पाँच दशकदेखि मादल बनाइरहेका हर्कबहादुर आले

मादल बनाउने, खरी हाल्ने र बर्ता कस्ने काममा निखारिएका छन् बुटवलका हर्कबहादुर आले । बिहान उज्यालो भएदेखि रातिसम्म मादल बनाउनु र बिक्री गर्नु उनको दैनिकी हो । ६८ वर्षीया हर्क यो काममा लागेको पाँच दशक पुगिसक्यो ।

मादल बनाउने हर्कको पुर्ख्यौली पेशा होइन तर, उनले आफू मात्र होइन, आफ्ना चार जना छोराहरूलाई पनि मादल बनाउन र बर्ता कस्नमा लगाएका छन् । गोर्खा पालुङटार नगरपालिका–१४ महवेशी स्थायी घर भएका हर्कलाई ‘बाह्रै महिना’ मादल बनाउने चटारो हुन्छ । बुटवल पुलचोकस्थित एक पुरानो घरमा ‘बुढीकोटी मादल’मा मादल किन्नेदेखि मर्मत गर्नेको सधैं भीड लाग्छ ।

५० वर्षदेखि अहिलेसम्म उनमा मादल बनाउने मोह कमी भएको छैन । हर्क नेपाली सेना (शाही सेना)को सरकारी जागिर छोडेर मादल बनाउन लागेका हुन् । ‘म वि.स.२०३६ सालमा सेनामा जागिरे थिएँ,’ उनी भन्छन्, ‘शनिबार छुट्टीको दिन मादल बनाउने ठाउँमा गएर मादल बनाउन सिकें । त्यसपछि जागिर नै छाडें । त्यो बेला सेनामा मेरो तलब ३२२ रुपैयाँ मात्र थियो । त्यो पैसाले परिवार पाल्न पनि नसकिने भएपछि मादल बनाउने काम रोजेको हुँ ।’

जेठो छोरा रामकुमार चितवनमा र माइलो छोरा दीपक पोखरामा मादल बनाउने र बिक्री गर्ने गर्छन् । साइँलो छोरा सुजन र कान्छो प्रेमले बाबा हर्क बुटवलमा सघाएका छन् ।

‘मादल मात्र होइन हामी छाला भिरेका सबै चिज बनाउने र मर्मत गर्ने गर्छौं,’ हर्क भन्छन् । उनका अनुसार अहिले बुटवलमा मादल बनाउने उनी एक्ला हुन् । राम्रो बज्नेगरी तयार गरिएका मादल बिक्रीका लागि सधैं राखिएका हुन्छन् । साथै माग अनुसारको मादलसहित दमाहा, ढोलकी, खैजरी, नाल, टयाम्पो, झयाली, खैजरी, सारंगी र मजुरा पनि बाउछोराहरू मिलेर बनाउँछन् ।  

तीजमा उनले धेरै राम्रो मादलको व्यापार गरे । ‘तीज र तिहारमा अरू समयभन्दा बढी मादल बिक्छ,’ उनी भन्छन्, ‘एउटा मादल तयार गर्न तीन दिनजति लाग्छ । तर, मादल बनाउँदा एकदिन घार तयार पार्ने, अर्को दिने कस्ने र खरी लगाउने गरिन्छ । खरी लगाएको मादललाई सुकाएर ‘फिनिसिङ’ गर्नुपर्छ,’ उनी भन्छन् ।

null

मादल बनाउने काठ अभाव भएको उनको गुनासो छ । काठ धादिङबाट मगाउँछन्, वार्ता (कस्ने छाला) काठमाडौंबाट ल्याउँछन् । अनि खरी यतै कतैबाट किन्ने गरेका छन् । गोरूको छाला र खरीढुङ्गाबाट मादल उत्पादन गर्ने गरेको उनी बताउँछन् ।

मादल बिक्री र मर्मतमा उनले मासिक लाख बढी आम्दानी गर्छन् । उनले महिनामा ३०० थान मादल बिक्री गर्छन् । उति नै संख्यामा पुराना मादल मर्मत पनि गर्छन् । एउटा मादल तीन हजारदेखि १५ हजार रूपैयाँसम्ममा पर्ने गर्छ ।

स्थानीय सरकारको सहयोग पाए अझै मादल उत्पादन र बिक्री बढाउन सकिने उनी बताउँछन् । उनीसँगै चार जना काम गर्नेलाई पनि राखेका छन् । कामदारले प्रतिपिस मादल बनाएको पैसा दिने गर्छन् । उनीसँग काम गरेर मादल बनाउनेहरूले पनि मासिक ३५ हजारसम्म कमाउने गर्छन् ।

उनले अहिलेसम्म दर्जनौंलाई मादल बनाउन सिकाइसकेका छन् । बसेर गर्ने काम भए पनि झिनामसिना काम गर्दा कसैले झन्झट पनि मान्ने गर्छन् । तर, गर्न सक्नेलाई राम्रो फाइदा हुने हर्कको भनाइ छ ।

null

मादलमा उत्तीस र छतिउनको काठको प्रयोग बढी गरिन्छ । काठमा ढंग्रो पारेर दुवै पट्टी छालाले मोरेर खरी (मसला) लगाइएको हुन्छ । खरी बनाउँदा काँस र किटको धूलो मिसाइन्छ । यसको एकापट्टि केही सानो, अर्कातर्फ अलिक ठूलो पारेर बनाइएको हुन्छ । ठूलो भागलाई भाले र सानो भागलाई पोथी भनिन्छ । मादल दुई खाले हुन्छन् । पूर्वतिरको मादल आकारमा ठूलो र पश्चिमका मादल अलिक सानो हुने उनी बताउँछन् । उनी बुटवलमा आएको धेरै वर्ष भने, भएको छैन । शुरूमा उनले पालुङटारमै मादल बनाउँदै बिक्री गरे । त्यसपछि चितवनको मुग्लिन बजार झरे । ‘मुग्लिनपछि बुटवलमा राम्रो हुन्छ भन्ने लागेर यहाँ आएको हुँ,’ उनी भन्छन्, ‘बुटवलमा सबै ठाउँको माझ (मध्ये) पर्ने रहेछ । यहाँ बिक्री पनि हुने र होलसेल पनि अलि कट्ने भएर यहाँ आएको हुँ । यहाँको व्यापार धेरै राम्रो छ । यहाँबाट अर्घाखाँची, गुल्मी, पाल्पा दाङदेखि रुकुम रोल्पासम्मका मान्छे मादल किन्न आउँछन् ।’

null

छोराहरू पनि यहीँ पेशा गर्छौं भनेर लागेपछि हर्कलाई खुसी लागेको छ । ‘छोराहरू पनि स्वदेशमै मादल बनाएर काम गर्दा उनी खुसी पनि छु,’ उनी भन्छन्, ‘मगरका छोराहरू विदेश जान्छु भनेर पासपोर्ट पनि बनाए । तर, जान मानेनन् । हैन बा हामी पनि यहीँ गर्छु भने, मैले सिकाइदिएँ । अहिले बाद्यबादका सबै साधन हार्मोनियम, तमला, खैजरी, डमरु, सबै चिज छोराहरूले बनाउँछन् ।’

अहिले मादलको माग कम भए पनि राम्रो मादल खोज्नेहरू आउँछन् । मादल बनाउन कानूनले बन्देज गरेका कतिपय कच्चा सामग्रीसमेत आवश्यक गर्ने भएकाले मादल बनाउने पेशाकर्मीलाई कठिन भएको हर्क बताउँछन् । मादल नेपाली समाजको एक प्रसिद्ध ताल बाजा हो ।

salt training

कमेन्ट गर्नुहोस्