१० साउन २०८३, आइतबार
किड्नी तस्करी

‘किड्नी तस्कर’ श्यामकृष्ण : सिन्धुपाल्चोकबाट दिल्ली पुगेर सोझासाझाको मिर्गौला बेच्ने धन्दा

भदौ १५, २०८२
काठमाडौं
‘किड्नी तस्कर’ श्यामकृष्ण : सिन्धुपाल्चोकबाट दिल्ली पुगेर सोझासाझाको मिर्गौला बेच्ने धन्दा

नेपालीलाई भारतको नयाँ दिल्ली पुर्‍याएर अवैध रूपमा मिर्गौला झिकी बिक्री गर्दै आएको आरोपमा प्रहरीले फेरि दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका– ७ का श्यामकृष्ण भण्डारी र सिन्धुपाल्चोककै इन्द्रावती गाउँपालिका– २ का सुजन भारती छन् ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले यसअघि गत साउन २० गते पक्राउ गरेका राकेश नेपाली, समिर नेपाली र कुमार भन्ने राजकुमार नेपालीको बयान र पीडितले दिएको जाहेरीका आधारमा भण्डारी र भारती समातिएका हुन् ।

काठमाडौं, नुवाकोट, काभ्रेपलाञ्चोक, धादिङ लगायतका जिल्लाका सर्वसाधारणलाई दिल्लीमा कामका लागि भन्दै लग्ने र उता पुगेपछि पैसाको प्रलोभन देखाएर मिर्गौला झिक्ने गरेको आरोप भण्डारी लगायतमाथि छ ।

पक्राउ परेका मध्येका मुख्य आरोपी भण्डारीले भारतको दिल्लीस्थित लाजपतनगरमा बसी मिर्गौलाको अवैध व्यापारको साम्राज्य नै खडा गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले भण्डारीलाई कञ्चनपुर र भारतीलाई पर्साको वीरगञ्जबाट नियन्त्रणमा लिएको बताए पनि ब्यूरोको टोलीले दिल्लीस्थित गुणगाउँ पुगेर पक्राउ गरी ल्याएको स्रोतले बतायो ।

भण्डारीले बयानमा खुलाएअनुसार ‘एउटा किड्नी दिँदैमा मान्छे मर्दैन र स्वास्थ्यमा कुनै असर गर्दैन’ भन्दै ६ लाख रुपैयाँ दिने आश्वासनमा सर्वसाधारणको मिर्गौला झिक्ने गरिन्थ्यो ।

भण्डारीको बयान उद्धृत गर्दै प्रहरीले भन्यो, ‘किड्नी दिन तयार भएका नेपालीलाई काठमाडौंदेखि नै गाडी रिजर्भ गरेर दिल्ली लैजान्थ्यौं, होटलको बस्ने र खाइखर्च पनि हामीले नै ब्यहोर्थ्यौं, रगत परीक्षण पछि मात्रै क्लिनिकमा लगेर अपरेशन गरिन्थ्यो ।’

अपरेसन गरेर मिर्गौला झिकेपछि सम्बन्धित नेपालीलाई दिल्लीबाट काठमाडौं आउने भाडा दिएर पठाउने गरेको खुलेको छ । मिर्गौला बेच्न तयार हुने व्यक्ति खोज्नेलाई प्रतिव्यक्ति ५० हजारसम्म दिने गरेको भण्डारीले बयानमा खुलाएका छन् ।

भण्डारीको समूहले दिल्लीको लाजपतनगरस्थित कस्तुरवा निकेतनको एउटा होटलमा नेपालीलाई राख्दै आएको थियो । ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण पंगेनीका अनुसार भण्डारीले मिर्गौला तस्करी गर्न संगठित गिरोह नै सञ्चालन गर्दै आएको अनुसन्धानबाट खुलेको छ ।

भण्डारीले दिल्लीस्थित विभिन्न अस्पताल, क्लिनिकमा कार्यरत एजेन्ट, अस्पतालका कर्मचारी र डाक्टरहरूको मिलेमतोमा मिर्गौला झिक्दै आएका थिए ।

‘नेपालीलाई शुरूमा दिल्लीमा लगेर होटलमा राख्ने, त्यसपछि क्लिनिकबाट डाक्टर आएर होटलमै रगतको नमूना लगेर जाने र स्वास्थ्यको हिसाबले सबै ठीक देखिएपछि मात्रै उसको अपरेसन गर्ने गरेको देखिन्छ,’ पंगेनीले भने, ‘कतिपय नेपालीहरू विभिन्न रोग देखिएपछि फर्किएको समेत पाइयो ।’

ब्यूरोका अनुसार भण्डारीको गिरोहले मिर्गौला दिन तयार भएका व्यक्तिलाई होटेलबाट निकाली आँखामा पट्टी लगाई गाडीमा राखी अज्ञातस्थलमा गरेर इन्जेक्सनबाट बेहोश बनाई मिर्गौला झिक्दै आएका थिए । यो गिरोहले मिर्गौला झिकेपछि तीन/चार दिन अस्पतालमा राखेर मात्रै पैसा दिएर नेपाल फर्काउने गरेका थिए ।

भण्डारी आफैंले मिर्गौला लिने व्यक्तिको खोजी गर्थे । उनले मिर्गौला खरिद गर्नेबाट ६ लाख भारतीय रुपैयाँ लिन्थे र मिर्गौला बिक्री गर्ने नेपालीलाई आफूखुसी पैसा दिँदै आएको प्रहरीले जनाएको छ ।

हाल ब्यूरोमा उजुरी दिएका पाँचमध्ये एक जनाले पाँच हजार मात्र पाएको र अरूले एक पैसा नपाएपछि उजुरी दिएका थिए । भण्डारीले प्रारम्भिक सोधपुछका क्रममा आफूले भारतको ग्रेटर नोयडास्थित यथार्थ हस्पिटल र नाम थाहा नभएका विभिन्न क्लिनिकका कर्मचारी तथा एजेन्टसँग समन्वय गरी २५ जना व्यक्तिको मिर्गौला झिकेर बिक्री गरेको बताएका छन् ।

तर, उनले सयभन्दा बढी नेपालीको मिर्गौला झिकेर बेचिसकेको दाबी प्रहरीको छ ।

आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएकामध्येका भारती भने भण्डारीका सहयोगी हुन् । उनी आफैंले पनि मिर्गौला बेचेका थिए । नेपालबाट मिर्गौला बेच्न जानेलाई होटलमा राखी रेखदेख र खानपिनको व्यवस्थापन गर्ने जिम्मेवारी भारतीको थियो ।

उनी आफैं पनि मिर्गौला बिक्री गर्ने नेपाली खोज्न नुवाकोट, सिन्धुपाल्चोक र काभ्रेसम्म आएका थिए ।

भण्डारीले मिर्गौला झिकेर बेचिसकेपछि प्रतिव्यक्ति नेपाली ४० हजार रुपैयाँ भारतीलाई दिँदै आएका थिए ।

को हुन् श्यामकृष्ण भण्डारी ?

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– ७ का श्यामकृष्ण भण्डारी कामकै सिलसिलामा ६ वर्षअघि दिल्ली पुगेका थिए । त्यहाँ उनको सम्पर्क मिर्गौला बिक्री गर्ने गिरोहका एक नेपालीसँग भयो ।

ती व्यक्तिले मिर्गौला बिक्री गर्न खोज्ने नेपालीलाई दिल्ली लगिदिएबापत भण्डारीलाई कमिसनस्वरूप मासिक ५० हजार रुपैयाँ दिने आश्वासन दिए । त्यसपछि उनी नेपाली खोज्न थाले ।

विवाहित भण्डारी परिवार सिन्धुपाल्चोकमै छाडेर दिल्लीको लाजपतनगरमा बसेर विगत ६ वर्षदेखि यो धन्दामा संलग्न थिए । भण्डारीलाई गिरोहमा सामेल गराउने अर्का नेपालीको मृत्यु भएपछि उनले उक्त धन्दा आफैं सम्हाले । संगठित गिरोहका भण्डारी एकाएक ‘किड्नी तस्कर’को नाइकेका रूपमा परिचित भए ।

गत साउन २० गते तीनजना नेपाली पक्राउ परेको थाहा पाएपछि उनी लाजपतनगरबाट गुणगाउँ सरी फ्ल्याट लिएर बस्न थालेका थिए ।

‘हामीले भण्डारीलाई किन यो पेशामा लागेको भनेर सोध्दा उसले यो काममा धेरै पैसा भएकाले लागेको भनेर जवाफ दिएको छ,’ एक प्रहरी अधिकृतले लोकान्तरसँग भने, ‘शुरूमा भण्डारी यो धन्दाका सामान्य हिस्सेदार मात्रै थिए, अहिले आफैं नाइके बनेका रहेछन् ।’

के हुन्छ कारबाही ?

ब्यूरोले भण्डारी लगायत ७ जनालाई शुरूमै संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतमा म्याद थप गरेको छ ।

योसँगै उनीहरूविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ को परिच्छेद– ४, दण्ड सजाय तथा क्षतिपूर्तिसम्बन्धी व्यवस्थाको, दफा – १५ दण्ड सजायको उपदफा (ग) अनुसार समेत कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

उक्त उपदफामा उल्लेख भएअनुसार मानिसको कुनै अंग झिक्नेलाई १० वर्ष कैद र दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । संगठित अपराधमा भने सम्बद्ध कसुरमा तोकिएको सजायमा डेढी बढाई सजाय हुन सक्ने कानूनी व्यवस्था रहेको छ ।

‘हामीले यो अपराधलाई सीमापार अपराधको रूपमा समेत लिएका छौं । संगठित भएरै अपराध गरेपछि संगठितमा शुरूमै अदालतबाट म्याद लिएका हौं,’ ब्यूरोका प्रमुख पंगेनीले भने, ‘मिर्गौला तस्करी गर्ने गिरोहमध्येको एउटा ठूलो नेक्सस तोड्न हामी सफल भयौं भन्ने लाग्छ ।’

२०७६ यता ब्यूरोले मात्रै अवैध अंग प्रत्यारोपण शीर्षकमा ९ वटा, काठमाडौं परिसर, जिल्ला प्रहरी कार्यालय पर्सा, रुपन्देही, सप्तरी र बालाजु वृत्तले पाँचवटा मुद्दा दर्ता गरेको अभिलेख छ ।

मिर्गौला बेचबिखनमा मात्रै २०७६ यता ६ वटा मुद्दा दर्ता भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्