१० साउन २०८३, आइतबार

क्षतिग्रस्त अरनिको राजमार्गको अवरोध हट्दै, भोलि साँझसम्म सञ्चालनमा आउने​

भदौ १६, २०८२
काठमाडौं
क्षतिग्रस्त अरनिको राजमार्गको अवरोध हट्दै, भोलि साँझसम्म सञ्चालनमा आउने​

लगातारको वर्षासँगै विभिन्न स्थानमा पहिरो खसेपछि अवरुद्ध बनेको अरनिको राजमार्ग खुलाउन सडक विभागले काम शुरू गरेको छ ।

सडक विभागको चरिकोट डिभिजनका प्राविधिक टोलीले अवरोध हटाउने कार्य गरेको हो ।

सडक विभागका अनुसार, कोदारी क्षेत्रलगायत राजमार्गको विभिन्न ठाउँमा खसेको पहिरोले सडकलाई क्षतिग्रस्त बनाएको छ ।

प्रभावित क्षेत्रमा सडक डिभिजन चरिकोटको टोली पुगेर पहिरो हटाउने र यातायात सहज बनाउन कार्य अगाडि बढाइरहेको विभागले जनाएको छ ।

विशेषगरी घट्टेखोला क्षेत्रमा खसेको पहिरो सफा गर्ने काम तीव्र गतिमा शुरू गरिएको विभागले जनाएको छ । सडक विभागका अधिकारीहरूका अनुसार, आवश्यक मशिन र जनशक्ति परिचालन गरेर अवरोध हटाउने प्रयास भइरहेको छ ।

प्रारम्भिक अनुमानअनुसार, मंगलबार (भोलि) साँझसम्म सडक सञ्चालनमा आउने छ ।

यात्रु तथा स्थानीय पहिरोका कारण सडक अवरुद्ध भएपछि लामो समयदेखि अलपत्र परेका छन् । सडक अवरुद्ध हुँदा सामान ढुवानी, आपतकालीन सेवामा समेत कठिनाइ देखिएको छ ।

सडक विभागले निरन्तर काम भइरहेको र अवरोध हटाउने प्रगतिबारे विभागीय सूचनामार्फत जानकारी अद्यावधिक गरिने जनाएको छ। विभागले यात्रुलाई अनावश्यक जोखिम मोलेर प्रभावित क्षेत्रमा नजाने आग्रह समेत गरेको छ ।

अरनिको राजमार्ग नेपाल–चीन व्यापारका लागि महत्त्वपूर्ण मार्ग हो ।

बारम्बार पहिरोका कारण प्रभावित हुँदै आएको यस मार्गको अवरुद्धले व्यापार, यातायात र स्थानीय जनजीवनमा ठूलो असर पार्ने गरेको छ । यसपटक पनि विभागले समयमै पहल थालेकाले राजमार्ग चाँडै सुचारु हुने अपेक्षा गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्