२९ असार २०८३, सोमबार

सीमा विवादका विषयमा कुनै पनि हालतमा सम्झौता गर्नु हुँदैन- राजन भट्टराई

भदौ १६, २०८२
काठमाडौं
सीमा विवादका विषयमा कुनै पनि हालतमा सम्झौता गर्नु हुँदैन- राजन भट्टराई

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा वैदेशिक मामिलाका जानकार डा. राजन भट्टराईले सीमा विवादका विषयमा कुनै पनि हालतमा सम्झौता गर्न नहुने बताएका छन् । 

प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको ‘प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे परराष्ट्रविद्सँग अन्तसंवाद’ कार्यक्रममा बोल्दै उनले अघिल्लो पुस्ताले ज्यान दिएर जोगाएको भूमि आजका पुस्ताले अडानका साथ सुरक्षित राख्नुपर्ने बताए ।

‘अघिल्लो पुस्ताले ज्यान दिएर जोगाए, आज त अडान लिँदा पुग्छ, हामीले एकताबद्ध प्रयास गरेनौं भने देश जोगाउन सकिँदैन, त्यसैले यो कुनै व्यक्ति विशेषको मात्र प्रसङ्ग होइन, यो देशभक्त नागरिकको साझा जिम्मेवारी हो’, उनले भने । 

डा. भट्टराईले लिपुलेक लगायतका भूभागमा नेपालको दाबी कदापि छाड्न नहुने उल्लेख गरे । ‘देशभक्त नागरिकका हिसाबले त्यो भूभागको दाबी हामीले छाड्नु हुँदैन, सीमा विवाद टुङ्गिन समय लाग्न सक्छ तर अडान छाड्न हुँदैन, अन्य राष्ट्रिय कतिपय विषयमा विवाद हुन सक्छ, तर यस्ता मुद्दामा भने सबैले एकमत हुनु जरुरी छ’, भट्टराईले थपे ।

भारत–चीनबीच भएको सहमतिमा लिपुलेकलाई व्यापारिक नाका बनाउन गरिएको निर्णय नेपाललाई अस्वीकार्य भएको प्रस्ट पार्दै उनले चीनले नेपालका चासोलाई बेवास्ता गर्न नहुने टिप्पणी गरे ।

‘सो भूमि भारत र नेपालको मामला हो भनेर चीन पनि उम्किन मिल्दैन, यसमा चीनले पनि नेपाललाई सहयोग गर्नुपर्छ’, उनले भने । भट्टराईले सबैखालका समस्याको समाधान संवादबाट नै हुने स्पष्ट पारे । ‘अबको बाटो फेरि पनि संवाद नै हो, संवादबाटै समस्या समाधान गर्नुपर्छ’, उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्