
साविक विजेता भारतले जितका साथ एसिया कपको यात्रा शुरू गरेको छ । एसिया कपको आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ५७ रनमै अलआउट भारतले ९ विकेटको जीत निकाल्यो ।
यूएईले २ विकेटको नोक्सानीमा ४७ रन जोडेर राम्रो शुरूआत गरे पनि ५ ओभरमै बाँकी ८ विकेट गुमाएर ५७ रनमै समेटिएको हो ।
भारतका कुलदीप यादवले २.१ ओभरमा ७ रन दिँदै ४ विकेट लिए । यूएईका अलिशान शराफु (२२) र कप्तान मुहम्मद वसीम (१९)बाहेकले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारत विरुद्धको कुनै पनि टोलीको सबैभन्दा कम टी २० रनको योगफल हो
जवाफी ब्याटिङमा भारतले ४.३ ओभरमै लक्ष्य भेट्टायो । ओपनर अभिषेक शर्माले १६ बलमा ३ छक्का र २ चौकासहित ३० र बनाए भने शुभमन गिल ९ बलमा २० रनमा नटआउट रहे । कप्तान सूर्यकुमार यादव ७ रनमा नटआउट रहे ।
भारतले टी–२० खेलमा बल बाँकी रहँदाको हिसाबले आफ्नो सबैभन्दा ठूलो जितको रेकर्ड बनाएको हो । यसबाहेक, यूएईको ५७ रनको स्कोर यस ढाँचामा भारतविरुद्ध कुनै पनि टोलीको सबैभन्दा कम योगफल हो । यो यूएईको अहिलेसम्मको सबैभन्दा कम स्कोर पनि हो ।
भारतको अघिल्लो रेकर्ड ८१ बल बाँकी रहँदै खेल जित्ने थियो । टोलीले २०२१ मा दुबईमा स्कटल्याण्डविरुद्ध यो उपलब्धि हासिल गरेको थियो।
भारतले अब आइतवार पाकिस्तानसँग दोस्रो खेल खेल्नेछ । यो समूहमा ओमान पनि छ । अर्को समूहमा अफगानिस्तान, श्रीलंका, बंगलादेश र हङकङ छन् । समूहका शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् ।