
काठमाडौं, १ पुस– प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वाम गठवन्धनको बहुमत आएपछि एमाले अध्यक्ष ओलीलाई विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाले बधाइ दिइरहेका छन् ।
कतिपयले बधाइ ज्ञापन गर्न औपचारिक कार्यक्रम नै आयोजना गर्ने गरेका छन् भने कतिपय ओलीको निजी निवासमै पुगेर उनलाई बधाइ दिन भ्याउँछन् ।
चलचित्रबाट राजनीतिमा सक्रिय हुने भनेर पटक–पटक चर्चामा आइसकेका महानायक राजेश हमाल पनि शनिवार एमाले अध्यक्ष ओलीलाई बधाइ दिन उनको निजी निवास बालकोट पुगे ।
वाम गठवन्धनले निर्वाचनमा स्पष्ट बहुमत ल्याएको भन्दै अभिनेता हमालले ओलीलाई बधाइ दिए । साथै राष्ट्रवादी अडानका कारण जनतामा उत्साह छाएको पनि बताए ।
‘वेटिङ प्राइमिनिस्टर’ ओलीलाई भेटेर हमालले आगामी सरकारले देश र जनाको पक्षमा काम गर्नुपर्ने पनि सुझाव दिए ।
त्यसपछि ओली बोल्न थाले ।
‘देश र जनताले जुन दिम्मेवारी दिएका छन् म त्यसलाई कुशलतापूर्वक निर्वाह गर्छु,’ ओलीले भने, ‘देश र जनताका पक्षमा मैले गर्ने कामबाट कसैलाई पनि पछुतो हुने छैन ।’
ओली यत्तिमा रोकिएनन् । ‘चलचित्रका हिरोले पनि अभिनयमा मात्र सीमित हुनु हुँदैन,’ ओलीले भने, ‘देश बनाउन पनि भूमिका निर्वाह गर्नु पर्छ ।’
ओलीको बोली सुनेर फिस्स हाँस्दै हमालले जवाफ फर्काए, ‘देशले हामीबाट गरेको अपेक्षा पूरा गर्न कुनै कसर बाँकी राख्दैनौं ।’