
फागुनको चुनावबाट नयाँ आउने वा पुनःस्थापित हुने संसदको बैठक बस्नका लागि सिंहदरबारस्थित निर्माणाधीन नयाँ भवन तयार हुने भएको छ ।
भवन निर्माण तथा इन्टेरियरको काम गरिरहेका ठेकेदार कम्पनीले २०८२ पुस दोस्रो सातासम्ममा काम सकेर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् ।
सोही कारण प्रतिनिधिसभाको बैठक नयाँ भवनमै बस्ने गरी तयारी भएको हो ।
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा सञ्चालित संसद् भवन जेनजीको प्रदर्शनका क्रममा आगजनीबाट पूर्णरूपमा ध्वस्त भएको छ ।

सोही कारण निर्माणाधीन नयाँ भवन समयभित्रै तयार गर्ने काम भइरहेको हो ।
शहरी विकास मन्त्रालयअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक सुनिलकुमार ठाकुर २०८२ पुस १६ गतेसम्म भवन हस्तान्तरण भइसक्ने बताउँछन् ।
'अहिलेसम्म भवन निर्माणको काम ८६ प्रतिशत सम्पन्न भइसकेको छ,' आयोजना निर्देशक ठाकुरले लोकान्तरसँग भने, 'इन्टेरियरतर्फ २१ प्रतिशत मात्र भौतिक प्रगति देखिएको भए पनि सबै सामानहरू आइसकेकाले त्यो काम पनि पुस १६ गतेसम्ममा पूर्णरूपमा सम्पन्न हुन्छ ।'

१५३ रोपनी क्षेत्रफलमा सिंहदरबारमा १२ वटा ब्लकसहित कुल १ हजार ३५१ वटा कोठा रहेको भवन निर्माण गरिएको हो । भवन निर्माण अर्थात् सिभिलतर्फको ठेक्का तुँदी-सेक जेभीले पाएको थियो ।
२०७६ असोज १६ गते ५ अर्ब ६७ करोड २७ लाख रूपैयाँ भ्याटसहितको लागतमा निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि भेरिएसनसहित लागत बढेर ६ अर्ब २९ करोड रूपैयाँ पुगिसकेको छ ।
शुरूमा ३ वर्षको ठेक्का सम्झौता गरिएको भएपनि पटक–पटक गरी पाँचौंपटक २०८२ पुस १६ गतेसम्मका लागि म्याद थप गरिएको छ ।
आयोजना निर्देशक ठाकुरका अनुसार हालसम्म उक्त जेभीलाई ४ अर्ब ८७ करोड रूपैयाँ अर्थात् ठेक्का सम्झौता रकमको ७७.२६ प्रतिशत भुक्तानी भइसकेको छ ।
त्यसैगरी, भवनको इन्टेरियर गर्ने कामका लागि केसी-श्याम सुन्दर-बानिया जेभीसँग अर्को छुट्टै ठेक्का सम्झौता भएको छ । उक्त ठेक्काको सम्झौता रकम २ अर्ब ३४ करोड ५४ लाख रूपैयाँ भ्याटसहित हो ।

२०८० असार १७ गते सम्झौता भएको उक्त ठेक्काको म्याद १ वर्ष मात्र थियो ।
२०८१ असार १६ गते ठेक्काको म्याद सकिएपछि दोस्रोपटक २०८२ पुस १६ गतेसम्मका लागि म्याद थप भएको हो । इन्टेरियरतर्फ भौतिक प्रगति २१ प्रतिशत भएकोमा पेश्की समेत गरेर १९.५१ प्रतिशत भुक्तानी भएको आयोजना निर्देशक ठाकुरले बताए ।
भवनतर्फ केन्द्रीय लबी, राष्ट्रिय सभा, प्रतिनिधि सभा, अति विशिष्ट कक्ष भवन, संसद् सचिवालय भवन, संसदीय समिति भवन, पुस्तकालय, पार्किङ, पार्टी कार्यालय, सेक्युरिटीको भवनसहित कुल १२ वटा भवनहरू निर्माण भएका छन् ।
अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयको बीचबाट निर्माण गरिएको प्रवेशद्वार हुँदै सेन्ट्रल लबीमा पुगिन्छ । आयोजना निर्देशक ठाकुरका अनुसार उक्त प्रवेशद्वार सम्माननीयहरूका लागि मात्र हो ।
सेन्ट्रल लबीको देब्रेपट्टि प्रतिनिधि सभा भवन र दाहिनेतर्फ राष्ट्रिय सभा भवन बनेको छ । सेन्ट्रल लबीको हलबाहेक प्रतिनिधि सभामा १०८ वटा कोठाहरू बनेका छन् भने राष्ट्रिय सभामा हलबाहेक ८९ वटा कोठाहरू बनेको उनले बताए ।
'प्रतिनिधि सभाको भुइँतलामा सांसदहरू बस्नका लागि ३५८ सीट र माथि बालकोनीमा ३१६ वटा सीट निर्माण गरिएको छ,' ठाकुरले लोकान्तरसँग भने, 'त्यसैगरी राष्ट्रिय सभामा सांसदहरू बस्नका लागि ९६ सीट बनाइएको छ भने माथि बालकोनीमा १८७ सीट बनाइएको छ ।'

त्यसबाहेक प्रतिनिधिसभामा २ सय जना बस्न सक्ने क्षमताको बहुउद्देश्यीय सभा हल र राष्ट्रिय सभामा ३ सय ७७ जना बस्न सक्ने अर्को बहुउद्देश्यीय सभा हल निर्माण गरिएको उनले बताए ।
प्रतिनिधि सभा र राष्ट्रिय सभा भवनमा पत्रकार सम्मेलन गर्ने हल, सुझाव समिति हल, प्रत्यक्ष प्रसारण, साउन्ड कन्ट्रोल, रेकर्ड कोठा, चेन्जिङ रूम, मेन्टिनेन्स रूम पनि बनेको छ ।
केन्द्रीय लबीको भुइँतल्लामा दर्ता कोठा, प्रतीक्षालय, सुरक्षा लकरसहित अन्य सुविधाहरू छन् भने पहिलो तल्लामा पनि ती सुविधाहरू राखिएका छन् ।
अति विशिष्ट कक्षको भुइँतल्लामा संसद् सचिवालयका महासचिवको कार्यकक्ष, सचिवालयका सचिवहरूको कार्यकक्ष, पीए कक्ष, वासरूमसहितका कोठाहरू छन् ।
त्यसको पहिलो तल्लामा प्रतिनिधि सभा सचिवको कार्यकक्ष, सभामुखको कार्यकक्ष, उपसभामुखको कार्यकक्ष, बैठक कक्षहरू, पीएको कोठा, शौचालयसहितका संरचनाहरू बनेका छन् ।

त्यसैगरी, अति विशिष्ट कक्षको दोस्रो तल्लामा राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष र सचिवको छुट्टाछुट्टै कार्यकक्ष, बैठक कक्षसहित अन्य संरचना बनेका छन् ।
तेस्रो तल्लामा, प्रधानमन्त्रीको कार्यकक्ष, कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको कार्यकक्ष, प्रतिनिधि सभा र राष्ट्रिय सभाका प्रतिपक्षी दलका नेताको कार्यकक्ष, सत्तापक्षको दलका नेताको कार्यकक्षसहित बैठक हलहरू निर्माण भएका छन् ।
संसद सचिवालयको २ वटा छुट्टाछुट्टै भवन बनेको छ । ती दुई भवनमा कुल १९२ वटा कोठाहरू छन् । त्यसैगरी संसदका विभिन्न समितिहरूका लागि पनि छुट्टै भवन बनेको छ । उक्त भवनमा कुल २९३ वटा कोठाहरू छन् ।
त्यसैगरी, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्षसहित अति विशिष्ट कार्यालय भवनमा १२२ वटा कोठाहरू छन् । विभिन्न राजनीतिक दलका संसदीय दलको कार्यालयका लागि पनि छुट्टै भवन बनेको छ । उक्त भवनमा २५४ वटा कोठाहरू छन् ।

पुस्तकालय भवनमा २५४ वटा, प्रेस तथा छपाई भवनमा १६ वटा, चमेना गृहमा ९० वटा र सवारी साधन पार्किङ भवन तथा सुरक्षाकर्मीको आवास भवनमा कुल १३० वटा कोठाहरू छन् ।
'दुई तल्ले बेसमेन्टसहित सवारी साधन पार्किङ भवनमा २०८ वटा कार पार्किङ र ८ सय वटा बाइक पार्किङ गर्न सकिने छ,' आयोजना प्रमुख ठाकुरले लोकान्तरसँग भने, 'त्यसैगरी विभिन्न ठाउँमा सर्फेस पार्किङको पनि सुविधा छ । २६८ थान चारपाङ्ग्रे सवारी साधन सर्फेस पार्किङमा पार्क गर्न सकिन्छ ।'
यसरी हेर्ने हो भने समग्रमा सिभिल कन्स्ट्रक्सनको कामअन्तर्गत सबै भवनको निर्माण कार्य लगभग सम्पन्न भइसकेको उनले बताए ।
'केन्द्रीय लबीको बुद्धको गुम्बा भ्यु आकारको छानो निर्माण गर्ने काम मात्र बाँकी छ,' ठाकुरले लोकान्तरसँग भने, 'त्यसबाहेक भवन निर्माणको काम लगभग सकिएको छ । अब सडकहरू निर्माणको काम पनि शुरू भइसकेको छ ।'

इन्टेरियरतर्फ पनि रङरोगनको काम शुरू भइसकेको उनले बताए । अन्य सबै इन्टेरियरको काम पुस १६ गतेसम्म सम्पन्न भइसक्ने उनको विश्वास छ ।
संसद भवनभित्र अटोमेटिक फायर फाइटर प्रणाली जडान गरिएको छ । आगो लागेपछि स्वचालित रूपमा निभाउने प्रणाली जडान गरिएको उनले बताए ।








