२८ जेठ २०८३, बिहीबार
पुस्तान्तरणको बहस

कांग्रेसभित्र सामन्तवादको छटपटी र गगन पुस्ताको अग्निपरीक्षा

असोज २७, २०८२
काठमाडौं
कांग्रेसभित्र सामन्तवादको छटपटी र गगन पुस्ताको अग्निपरीक्षा

नेकपा (माओवादी केन्द्र)को अध्यक्षबाट संयोजक बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार (असोज २४) गते ललितपुरमा मूलधारका मिडियाका सम्पादकहरूसँग अन्तरक्रिया राखेका थिए– जेनजी आन्दोलनपछिको अवस्थाबारे समीक्षा र सुझाव माग्नका लागि ।

आफू कसरी कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा फरक रहेको भन्ने बुझाउन उनले केही दृष्टान्त पेश गरे । आफू नेतृत्वको सरकारले सुशासनको पक्षमा काम गरेको दलिल पेश गरे ।

त्यसक्रममा उनले गत वर्ष भदौ १२ गते संसदमा सम्बोधन गर्दा मुलुक बंगलादेशको बाटोमा जान्छ भनेर भनेको, अहिले आएर त्यस्तै घटना हुँदा ज्योतिषी जस्तै भएछु कि भनेर सम्झेको टिप्पणी गरे ।

प्रचण्डले आफूलाई ओली र देउवाभन्दा भिन्न देखाउन गरेका तर्कलाई सम्पादकहरूले पत्याइदिएनन्, शिवाय २ जना । उपस्थित २ दर्जनमध्ये २ जनाले मात्र प्रचण्डलगायत अहिलेका शीर्ष नेताले नेतृत्व छाड्न नपर्ने तर्क राखे । बहुसंख्यकले प्रचण्डले नेतृत्व छाड्न ढिला भइसकेको र कुनै पनि तर्क र बहानाबाजी स्वीकार्य नरहेको कुरा हाकाहाकी राखे । नेतृत्व हस्तान्तरण होइन, अक्षमताप्रति आत्मालोचित हुँदै बिदा हुनुपर्ने धारणा राखे ।

तेस्रो दलले सरकारको अस्वाभाविक दाबी गर्ने र डेढ वर्षमा ३ पटक सरकार फेर्ने कामको अगुवाइ गरेका कारण बंगलादेशको घटनालाई निम्तो दिएको भनेर सम्पादकले जवाफ फर्काएपछि प्रचण्ड अवाक् बने ।

कांग्रेसजनले बुझेका छन्/छैनन्, जमाना फेरिए । हजुरबुवाले भनेको ठाउँमा नातिले भाट हाल्दैन, बरु विदेशमा नरहेको नाति/पनातिले हजुरबुवाको भोट प्रभावित गर्ने समय आयो ।

४७ वर्षदेखि पत्रकारिता गरिरहेका एक जना अग्रज सम्पादकले दलका नेतालाई नेतृत्व छाड भन्ने हक तततत् दलका कार्यकर्ताको मात्र भएकाले मिडिया या सम्पादकले नेतृत्व छाड भन्न नमिल्ने तर्क गरे ।

उनको केवल एक तर्कले मात्र प्रचण्डलाई सान्त्वना दियो र भने– ‘उहाँले कस्तो मेरै मनको कुरा गर्नुभयो ।’

प्रचण्डको मनभित्रको कुरा त्यही थियो कि– अध्यक्ष छाडे पनि नेतृत्व नछाड्ने । रुसमा भ्लादिमिर पुटिन कहिले राष्ट्रपति र कहिले प्रधानमन्त्री बनेजस्तै माओवादीको पदमा रहिरहने– महामन्त्री, अध्यक्ष होस् या संयोजक ।

कुनै बेला कांग्रेस–एमाले जोड्दा पनि नभेट्टाउने माओवादी जनमोर्चाको साइजमा झर्दा पनि उनले माओवादीको नेतृत्व छाड्दैनन्, बरु अध्यक्ष, संयोजकबाट महासचिवको रूपमा किन नहोस् ।

जतिसुकै बठ्याइँ गरे पनि कुनै न कुनै दिन प्रचण्डले पद छाड्न बाध्य हुनेछन्, ढिलो–चाँडो मात्र हो ।

स्मरणीय छ, नेतृत्व परिवर्तनको बहसले एमाले समेत अर्ली–महाधिवेशनमा जान बाध्य भइसकेको छ ।

कांग्रेसभित्र सामन्तवादको छटपटी

राजनीतिक दलको नेतृत्व फेर्ने कुरा तततत् दलका कार्यकर्ताले मात्र गर्न पाउँछन् भन्ने कुरा गलत हो । राजनीतिक दल कुनै कम्पनी होइनन्, जसको नेतृत्वबारे प्रश्न गर्न नसकियोस् ।

राजनीतिक दल परोक्षरूपमा जनताको कर (लेबी)बाट चलेका सार्वजनिक निकाय हुन् । देश हाँक्ने भनेर चुनावमा गएका दलको पारदर्शिताबारे प्रश्न गर्न सो दलको सदस्य हुन जरुरी छैन । राजनीतिक दल सार्वजनिक निकाय हुन्, उनीहरूबारे गरिने प्रश्नले मात्र पारदर्शी र जवाफदेही बनाउँछ ।

null

जनताको चासो राख्ने सार्वजनिक निकाय भएकैले उसले सूचना अधिकारी तोकेको छ, जनताले माग्ने सूचना दिन कांग्रेस बाध्यकारी छ । कांग्रेसको आर्थिक पारदर्शिताबारे पंक्तिकारले पनि सूचनाको हक प्रयोग गरेर सूचना माग गरेको छ ।

त्यस अर्थ कांग्रेसजस्तो देशको अग्रणी लोकतान्त्रिक दलले अहिलेका समस्या समाधान गर्न समयानुकूल नेतृत्व चयन गरोस्, पार्टीमा आन्तरिक लोकतन्त्र बहाल गरोस् भनेर लेख्नुपर्छ । अन्यथा यस्ता दल नाम मात्रका हुनेछन् ।

कुनै राजनीतिक दलको नेताको अक्षमता या अदूरदृष्टिको भागीदार दलका कार्यकर्ता मात्र होइन, देश बन्दोरहेछ भन्न अब अन्त कतैको उदाहरण दिनु परेन । भदौ २३–२४ मा भएको आन्दोलनले कयौं विषयको उदाहरण पेश गरेको छ ।

देउवाको विकल्प किन ?

देउवा, ओली र प्रचण्डले अब नेतृत्व छाड्नुपर्छ भनेर मिडियाले सम्पादकीय लेखेका छन्, स्तम्भ लेखिएको छ र नागरिक अगुवाले संयुक्त अपिल गरिरहेका छन् । तर, हुटिट्याउँले आकाश थामेको जस्तो शीर्ष ३ लाई आफूहरूले नै मुलुक धानेको भन्ने भ्रम छ ।

देश राजतन्त्रबाट गणतन्त्रमा प्रवेश गरेको र नयाँ व्यवस्था परिपक्व नभएका बेला गिरिजाप्रसाद कोइरालाको निधन भयो ।

कोइरालाजस्तो देश/विदेशले पत्याएको ‘टावरिङ पर्सनालिटी’को अभावमा पनि लोकतन्त्र बचिराखेको यिनै तीन नेताले देखेका हुन् ।

व्यक्ति विशेष होइन, जेनजी आन्दोलन/विद्रोहले दशकौंदेखि सत्ता राजनीतिको नेतृत्वमा रहेर आलोपालो सरकारको नेतृत्व गरेको पंक्तिलाई अस्वीकार गरेको हो ।

आलोपालो र साझेदारीप्रतिको उकुसमुकुस विस्फोट भएको हो । देउवा २०५१ सालमा पहिलोपटक प्रधानमन्त्री बन्दा प्रहरीको जागिरमा छिरेकाहरू अवकाशमा गइसके । तर, ३० वर्षअघि र बीचमा पटक–पटक सरकारको नेतृत्व गरिसकेका देउवा फेरि प्रधानमन्त्री बन्ने कुरा मानिसहरूलाई स्वाभाविक लागेको छैन । सबै हिसाबले देउवाले छाड्नुपर्ने समय आएको छ । देउवाले छाड्दा कांग्रेसलाई घाटा हुन्न, बरु फाइदै हुन्छ ।

देशलाई बर्बादीको रसातलमा पुर्‍याउन साझेदारी गरेका उनै देउवालाई सभापति नै राख्नुपर्छ भनेर कांग्रेसभित्र फेरि रोइलो शुरू भएको छ । मानौं, देउवा नेपाल बनाउने महाथीर मोहम्मद हुन्, र उनको विगत स्वर्ण अक्षरले लेखिएको छ ।

रूपान्तरण र नेतृत्व परिवर्तनको बेग चलिरहेका बेला कांग्रेसभित्रको सामन्तवादले फेरि टाउको उठाउन खोज्दैछ, जसले नेतृत्वको चाकडी गरेर सधैँ सत्ता र शक्तिमा रजाइँ गरिरहेको छ ।

उनीहरू अहिले पनि देउवा (८० वर्ष) को विकल्प खोज्ने बेला भइसकेको छैन भनिरहेका छन् । देउवाले छाड्नुहुँदैन, छाडे कांग्रेस बर्बाद हुन्छ भनेर अहिले पनि कांग्रेसभित्र देउवाको आरती उतार्ने काम भइरहेको छ ।

गगन पुस्ताको अग्निपरीक्षा

यथास्थितिमा बस्ने कि रूपान्तरण भन्ने चरम द्विविधामा कांग्रेस फसिरहेको छ । नयाँ पुस्ताका नेताहरू जेनजी आन्दोलन तथा नयाँ भोटरलाई आकर्षित गर्न उनीहरूको भावना बुझ्ने व्यक्ति नेतृत्वमा आउनुपर्छ भनेर लडिरहेका छन् । पुरानो पुस्ताले यो आवाजलाई दबाउन खोजेको छ ।

गोपालमान–विजयकुमार गच्छदार ग्याङका केही नेताहरूले देउवाले छाड्नुहुँदैन भनेर उक्साइरहेका छन् ।

अदृश्य लाभ लिइरहेको एउटा तप्का (जसलाई कांग्रेसभित्रको सामन्तवाद भन्न सकिन्छ) देउवालाई उक्साउने काममा क्रियाशील छ । नाममा प्रसाद जोडिएका नेताहरू– देउवाले छाड्ने समय अझै नआएको जिकिर गरिरहेका छन् ।

कांग्रेसभित्रकै प्रगतिशील सोच राख्ने गगन थापाले नेतृत्व गरेको ‘गगन पुस्ता’ रूपान्तरणका लागि बल गरिरहेको छ । विश्वप्रकाश शर्माले उनलाई साथ दिइरहेका छन् । तर, कांग्रेसभित्रको सामन्तवादले सजिलै पार्टी सत्ता हस्तान्तरण गर्ने छाँट छैन । उमेरले पाको भएपनि केही नेताले गगनको विचारलाई साथ दिएका छन्, केही युवा पुरानैबाट भाग पाइने आशमा प्रार्थना गरिरहेका छन् ।

null

हेक्का राख्नु पर्ने कुरा, युवा हुँदैमा उनीहरूले प्रगतिशील सोच राख्छन् र उनीहरू पारदर्शी छन् भन्ने होइन ।

बागमतीमा अर्थमन्त्री बनेका कांग्रेसका कान्छा केन्द्रीय सदस्यले आफू अनुकूल बजेट ल्याउन सचिवलाई थुनेको घटना धेरै पुरानो भएको छैन ।

जेनजी आन्दोलन र त्योभन्दा पहिल्यैदेखि गगन–विश्वप्रकाशहरूले चलाएको नेतृत्व परिवर्तनको बहसले एमाले र माओवादीलाई एउटा निर्णय गर्न बाध्य बनायो । दुवै दल मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णयमा पुगे, तर कांग्रेस अनिर्णयको बन्दी छ ।

लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दल सक्षम हुनु जरुरी छ । ती दल पारदर्शी भए मात्र लोकतन्त्र मजबुत हुनेछ । पारदर्शिता र जवाफदेहिता नभएका दलले लोकतन्त्रलाई बलियो बनाउन सक्दैनन् ।

कांग्रेसमा देउवाको विकल्पमा शेखर या गगन थापा आउँदैमा मुलुकका यावत समस्याको समाधान हुने छैन, त्यो भ्रम राख्नु मूर्खता हुनेछ । तर, सुधारको शुरूआत हुनेछ । नयाँ आउने नेतृत्वले यी देउवाले भन्दा फरक केही गर्नेछ, जो आफ्नो पत्नीले गरेका कृत्य ढाकछोप गर्न रातारात सिद्धान्तहीन गठबन्धन बनाउन राजी भएका थिए ।

आफू सत्तामा जानका लागि जस्तोसुकै सम्झौता र सौदाबाजी गर्ने छुट देउवापछिको नेतृत्वलाई हुने छैन । सत्ता, सत्ता र केवल सत्तामा पुग्नका लागि जस्तोसुकै सम्झौता गर्ने तथा आफ्नो सत्तायात्रा सुनिश्चित गर्नका लागि जे कुरामा पनि मौन बस्ने छैन ।

चरम निराशा र अन्योलग्रस्त मुलुकलाई सही निकासका लागि पनि कांग्रेसले सक्षम र योग्य नेतृत्व चयन गर्नु अत्यावश्यक भइसकेको छ । अन्तर्राष्ट्रिय समुदायले समेत विश्वास गर्ने नेपाली कांग्रेसले सही नीति अवलम्बन गर्‍यो भने मात्र देशमा लगानीकर्ताले भरोसा गर्नेछन् ।

ओरालो लागेको कांग्रेसलाई मात्र होइन, अनिश्चयको भुमरीमा परेको मुलुकलाई आजको दिनमा कसैले पार लगाउन सक्छ भने त्यो गगन थापा हो । कमजोरीबाट मुक्त होइनन्, किन्तु आजको दिनमा राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति बुझेको यत्तिको उम्मेदवार अर्को देखिएको छैन ।

सरकारमा भए पनि/नभए पनि लगानीकर्ताले कांग्रेसको मुख हेरेका हुन्छन्, जो नेपालमा खुला र उदार अर्थनीतिको हिमायती दल हो । त्यो लिगेसी नेपाली कांग्रेसले राख्दै आएको छ । ठूला राजनीतिक आन्दोलनको नेतृत्व र संविधान जारी गर्ने कामको नेतृत्व पनि कांग्रेसकै अगुवाइमा भइरहेको छ ।

यस्तो बेला ओरालो लागेको कांग्रेसलाई मात्र होइन, अनिश्चयको भुमरीमा परेको मुलुकलाई आजको दिनमा कसैले पार लगाउन सक्छ भने त्यो गगन थापा हो । कमजोरीबाट मुक्त होइनन्, किन्तु आजको दिनमा राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति बुझेको यत्तिको उम्मेदवार अर्को देखिएको छैन ।

लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि खेलेको भूमिका होस् या अहिले दलभित्र आन्तरिक लोकतन्त्रका लागि खेलेको भूमिका होस्, गगनले जहिले पनि प्रगतिशील धारको नेतृत्व गरेका छन् । तेस्रो पुस्तामा जम्प हान्न कठिन भए डा. शेखर कोइराला पनि कांग्रेस नेतृत्व सम्हाल्न योग्य पात्र हुन् ।

कांग्रेसकै कतिपय युवा नेताहरू सत्तासँग लहसिएका बेला थापाले जेनजी आन्दोलन हुनुभन्दा केही दिन पहिले (भदौ ५ गते) संसद्बाट तत्कालीन प्रधानमन्त्री ओलीलाई भनेका थिए– ‘बाहिर ठीक छैन, जनता सन्तुष्ट छैनन् ।’

गगन एक्लैले केही गर्न सक्ने छैनन्, गगन पुस्ताका नेताहरू जुर्मुराउँदा कांग्रेसमा परिवर्तन अवश्यम्भावी छ । कांग्रेसजनले बुझेका छन्/छैनन्, जमाना फेरिए । हजुरबुवाले भनेको ठाउँमा नातिले भाट हाल्दैन, बरु विदेशमा नरहेको नाति/पनातिले हजुरबुवाको भोट प्रभावित गर्ने समय आयो ।

संसद् पुन:स्थापना भएर नयाँ सरकार बन्ने अवस्था या चुनावमा जाँदा नयाँ अनुहार देखाउन पनि कांग्रेसलाई सक्षम नेतृत्व आवश्यक पर्नेछ । यति वर्ष पुरानो क्रियाशील सदस्य या यति वर्ष जेल बसेको भन्ने अनुभवले अब देश हाँक्न सक्ने छैन ।

भइरहेको परिवर्तन र युवाहरूको भावनालाई बुझ्न सकेन भने कांग्रेसको ओरालो यात्रा रोकिने छैन । अब ०७९ सालको भोटको हिसाब–किताब बासी भइसकेको छ । नेपालको राजनीतिमा अंकगणितीय होइन, ज्यामितीय परिवर्तन भइरहेको छ ।

पढ्नुहोस् यो पनि:

देउवाको ‘फोर्स एक्जिट’ले खोल्नेछ सम्भावनाको नयाँ ढोका

संकटको भुमरीमा ठूला दल– सक्किने बाटोमा छन् कि सच्चिने ?

भ्रष्टाचारको पक्षमा हुंकार, गगनहरूको लाचारी र कांग्रेस सच्चिने फर्जी वाचा !

salt training

कमेन्ट गर्नुहोस्