२१ जेठ २०८३, बिहीबार

देउसी–भैलोमा रमाए पोर्चुगलका नेपाली

कात्तिक ४, २०८२
काठमाडौं
देउसी–भैलोमा रमाए पोर्चुगलका नेपाली

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले यस वर्षको शुभ–दीपावली तथा छठ पर्वको अवसरमा राजधानी लिस्बनमा विविध सांस्कृतिक कार्यक्रमसहित भव्य शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायको उत्साहपूर्ण उपस्थिति रहेको थियो। संघका अध्यक्ष सुजन लामा मोक्तानको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपालीहरूले आफ्नो परम्परागत पहिरनमा सहभागिता जनाउँदै, तिहारको उल्लासमय माहोल साझा रूपमा मनाएका थिए।

कार्यक्रमको शुरूआत लक्ष्मी पूजासँगै गरिएको थियो। सहभागीहरूले दीप प्रज्ज्वलन गरी घर–परिवार तथा समुदायमा समृद्धि, शान्ति र उज्यालोको कामना गरे। त्यसपछि नेपाली परम्पराअनुसार देउसी–भैलो खेलिएको थियो, जसले कार्यक्रमको वातावरणलाई थप उल्लासमय बनायो।

देउसी–भैलोका क्रममा बालबालिकादेखि वृद्ध–वृद्धासम्म सबै उमेर समूहका नेपालीहरूले गीत, नाच र हास्यव्यङ्ग्य प्रस्तुत गरे। कार्यक्रम स्थलमा सेल रोटी, आँपको अचार, खीर, पकौडा लगायतका परिकारहरू पनि तयार गरिएको थियो, जसले नेपालप्रतिको भावनात्मक सम्झनालाई झल्काएको थियो।

कार्यक्रममा सहभागी बालबालिकालाई नेपाली कला, संस्कृति र तिहारको महत्त्वबारे जानकारी दिने विशेष सत्र पनि राखिएको थियो। उनीहरूलाई देउसी–भैलोको इतिहास, भाइटीकाको अर्थ र तिहारले भाइबहिनीबीचको माया र सम्बन्ध कसरी मजबुत बनाउँछ भन्ने विषयमा जानकारी दिइएको थियो।

null

त्यसक्रममा अध्यक्ष सुजन लामा मोक्तानले सम्बोधन समेत गरे ।

उनले भने, 'पोर्चुगलमा रहेका नेपालीबीचको एकता र सहकार्य हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो। हाम्रा संस्कृतिलाई विदेशमा जोगाउँदै भावी पुस्तामा हस्तान्तरण गर्नु हाम्रो साझा जिम्मेवारी हो,' उनले थपे, 'एनआरएनए पोर्चुगल केवल एक संस्था होइन, यो सम्पूर्ण नेपालीहरूको भावना, पहिचान र सहयोगको साझा केन्द्र हो। हामीले जहाँ भए पनि आफ्नो देश र संस्कृतिको सम्मान गर्दै अघि बढ्नुपर्छ।'

कार्यक्रममा सहभागी निराजन शर्माले भने, 'पोर्चुगलमा बसेर नेपालजस्तै माहोलमा तिहार मनाउन पाउनु गर्व र खुशीको कुरा हो। एनआरएनए पोर्चुगलले समुदायलाई जोड्ने काम प्रशंसनीय छ।'

त्यस्तै, रोशन थारूले 'देउसी–भैलो खेल्दा नेपालका गाउँ–घरको सम्झना आइरह्यो। यस्ता कार्यक्रमले परदेशमा बस्ने नेपालीबीच अपनत्व र सहकार्यको भावना अझ बलियो बनाउँछ।'

null

यस वर्ष संघले पहिलोपटक पर्यटन प्रवर्द्धन सहयोग पूजाको पनि आयोजना गरेको जनाएको छ।

संघका अनुसार यस कार्यक्रममार्फत नेपालका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरूको प्रचार–प्रसार गर्दै पोर्चुगलमा बसोबास गर्ने नेपालीहरूले नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्य राखिएको छ।

कार्यक्रममा स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधि, व्यवसायी, विद्यार्थी, महिला तथा युवा समूहहरूको उल्लेखनीय सहभागिता थियो।

अन्त्यमा उपस्थित सबैलाई संघको तर्फबाट दीपावली र छठ पर्वको हार्दिक शुभकामना दिइएको थियो।

नेपाल र विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको जीवनमा सुख, शान्ति, स्वास्थ्य र समृद्धि ल्याओस्।

नेपाली समुदायबीच सहकार्य र एकता सधैं बलियो रहोस् भनेर सामूहिक कामना समेत गरिएको थियो।

salt training

कमेन्ट गर्नुहोस्