
काठमाडौं, ६ पुस– विशेष सूचना पाएपछि लागूऔषध नियन्त्र ब्युरोका अधिकारीहरु गत सोमबार कलंकी चोमा बसे । करिब एक घण्टा लामो कुराइपछि उनीहरुले थानकोट हुँदै काठमाडौं भित्रिन लागेको सेतो रंगको भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी रोके ।
त्यो त्यही गाडी थियो, जसको पछाडिको सिटमा नियन्त्रित लागूऔषध ब्रुप्रिनर्फिन १२ सय एम्पुल, डाइजेपाम १२ सय एम्पुल र फेनारगन ११ सय एम्पुल लुकाइएको थियो । दुखाइ कम गर्न र सुत्केरी महिलाको उपचारका क्रममा सुईबाट प्रयोग गरिने ब्रुप्रिनर्फिन, डाइजेपाम र फेनारगनलाई लागूऔषध प्रयोगकर्ताले मिसाएर सुईमार्फत प्रयोग गछन् । यी औषधीहरु लागूऔषधका संगठित कारोबारीहरुले खुला सिमानाको फाइदा उठाउँदै भारतबाट राजधानी ल्याएर बेच्छन् ।
प्रहरीले भारतीय नागरिक रमेश कुमारलाई पनि पक्राउ गरेको छ । असारयताको पाँच महिनामा मात्रै ब्युरोले ब्रुप्रिनर्फिन, डाइजेपाम र फेनारगन कारोबारीका विभिन्न १५ घटना सार्वजनिक गरिसकेको छ ।
जसमा एक महिलासहित २४ जना पक्राउ परेका छन् । ब्युरोका अनुसार अधिकांश कारोबारीले खुला सिमानाको फाइदा उठाउँदै काठमाडौंसम्म लागूऔषध ल्याएकाछन्, कान्तिपुरमा खबर छ ।