१६ असार २०८३, मंगलबार

जनयुद्धमा मारिएका रोल्पालीको सम्झनामा शान्ति स्मारक

पुस ७, २०७४
जनयुद्धमा मारिएका रोल्पालीको सम्झनामा शान्ति स्मारक

रोल्पा, ७ पुस– दश वर्ष लामो सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका र बेपत्ता भएका रोल्पालीको सम्झनामा निर्माण गरिने शान्ति स्मारकको लिवाङमा शिलान्यास गरिएको छ । द्वन्द्वमा श्रीमान गुमाएकी तुला वली, जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढा र रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले संयुक्तरुपमा स्मारकको शिलान्यास गरे ।

रोल्पा नगरपालिकाको रु एक लाख ५० हजार र मानव अधिकार तथा कानूनी सेवा केन्द्र, रोल्पाको चार लाख गरी कुल ५ लाख ५० हजारको लागतमा बन्ने सो शान्ति स्मारक सदरमुकामस्थित टुँडिखेलको दक्षिणतर्फ रहेको छ । शिलान्यासपछि आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बुढाले बृहत शान्ति सझौताको मर्म अनुरुप सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगले पनि जिम्मेवारी पूरा गर्नेमा आफू आशावादी रहेको बताए । 

जनयुद्धमा ज्यान गुमाएका तथा बेपत्ता भएकाहरुको परिवारलाई राज्यले केही राहत दिएको भए पनि त्यो अपुग रहेको उनको भनाइ थियो । जनयुद्धका क्रममा ज्यान गुमाएका र बेपत्ता भएका रोल्पालीको शान्ति स्मारकमा नाम नामेसी राखिने मानव अधिकार तथा कानुनी सेवा केन्द्र, रोल्पाका खेम बुढाले जानकारी दिए । 
शान्ति स्मारकमा २०५२ साल फागुन १ देखि २०६३ साल मंसिर ५ गतेसम्म ज्यान गुमाएका र बेपत्ता भएका व्यक्तिको नाम र ठेगाना राखिने उनले बताए । माओवादी सशस्त्र युद्धमा देशमै सबैभन्दा धेरै धनजनको क्षति भएको रोल्पामा राज्य र विद्रोही पक्षबाट ९७० जनाले ज्यान गुमाएका थिए भने ३३ जना बेपत्ता भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्